८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

बादलजस्तै सपना

बा भन्नुहुन्थ्यो— 'डाक्टर बन्नुपर्छ।'
आमा भन्नुहुन्थ्यो— 'इन्जिनियर बन्नुपर्छ।'
मामा भन्नुहुन्थ्यो— 'पण्डित बन्नुपर्छ।'
म भन्थेँ— 'पाइलट।'
तर मेरो मन के भन्थ्यो— ...?
मलाई नै थाहा थिएन।
मभित्र के छ— ...?
त्यो पनि थाहा थिएन।

एक रात सपनामा एउटा जोगीले मलाई भनेको थियो— 'तँ कस्तूरी होस्। तँलाई आफ्नो जीवनको सुगन्ध थाहा छैन!'

भित्तामा झुन्ड्याइएको ठूलो ऐनाअगाडि उभिएँ र मुखभरिको सासले दुई–तीन पटक हा... हा... गरेँ। मनतातो बाफको ऐनामा पातलो पर्दा लाग्यो। त्यसमाथि दाहिने हातको चोरऔंलाले लेखेँ— 'डाक्टर, इन्जिनियर, पण्डित र पाइलट।'

अक्षरका बाटाहरूमा अनुहार टुक्राटुक्रा भएर देखियो। पूरै अनुहार हेर्न बाफका अक्षरलाई रुमालले पुछेँ र आफूलाई हेरेँ। मलाई भने आफ्नै जीवनमा शिलालेखझैं कहिल्यै नमेटिने गरी यी चारैथोक लेख्न मन थियो। एक दिन कक्षामा भरतराज भट्टराई सरलाई सोधेँ— 'सर! एउटै मान्छे डाक्टर, इन्जिनियर, पण्डित, पाइलट यी चारैथोक बन्न सक्छ कि सक्तैन?'

सरले सहजै हाँसेर भने— 'सक्छ, किन नसक्नु!'

म खुसीले दंग परेँ र मनमनै भनेँ— अब म चारैथोक बन्छु। उत्साहित हुँदै सोधें— 'कसरी सर?'

उनले मलाई अझ जिज्ञासु बनाइदिए— 'यसबाहेक अरू पनि थुप्रैथोक बन्न सकिन्छ, त्यो पनि अझ नपढीकनै!'

नपढीकन भनेपछि खुसीले मेरा कान ठाडाठाडा भए र आँखा ठूलाठूला। मनमा खुसीको सङ्लो पानी छचल्कियो। सँगसँगै खुल्दुली पनि बर्खे भेलझैं उर्लियो। झर्न लागेको सिँगानलाई सुइँक्क माथि तानेँ। नतानिएको सिँगानलाई हर्थुङ्गोले पुछेर फेरि सोधेँ— 'कसरी सर?'

उनले भने— 'नाटकमा र फिलिममा!'

सबै गलल्ल हाँसे। तर म हाँसिनँ। सरले भन्दै गए— 'नाटक र फिलिमको कलाकार हुनुपर्छ, सप्पैथोक हुन पाइन्छ— डाक्टर, बिरामी, पुलिस, चोर, राजा, प्रजा, नेता, जनता, शिक्षक, विद्यार्थी, पण्डित, पाइलट, ड्राइभर, खलासी... सप्पैथोक! बुझिस्?'

यति सरल कुरा मैले नबु‰ने कुरै थिएन। यति धेरै दंग त म कहिल्यै परेको थिइनँ। मैले खुसीले चिच्याएर भनेँ— 'सर! उसो भए म कलाकार बन्छु र नपढीकनै सप्पैथोक बन्छु!'

कक्षा नै गलल्ल हाँस्यो। भरत सर पनि हाँसे। मेरो हाँसो पनि हाँसोको हुरीमा मिसियो र हुरी नै भयो।

स्कुल छुट्टी भएर घर फर्कनासाथ मैले किताबलाई आफूभन्दा सात हात पर फ्याँकेँ र कलाकार बन्ने सपना बुन्न थालेँ। त्यसमा पनि अझ हिरो कलाकार। हिरो भएपछि त हिरोइनसँग नाच्न पाइन्छ। कहिले बगैंचामा डुल्दै, कहिले मरुभूमिमा कुद्दै, कहिले वर्षादमा रु‰दै, कहिले हिउँमा खेल्दै...। केके हो केके।

हिरोहिरोइनले एकअर्कालाई प्रेम गर्दै नाच्दा त मरुभूमि पनि बगैंचाजस्तै हुँदो हो। सायद तिनका प्रेम र पाइलाले चमत्कार गर्दो हो। हिरो भएपछि त हिरोइनको जिउलाई पनि फूलको थुँगा उचालेझैं सजिलै उचालेर नाच्न सक्नुपर्छ। अबको चार–पाँच वर्षपछि त म पनि त्यसो गर्न सक्छु होला भन्ने कल्पना गर्दै फुरुङ्ग भएँ। पाठ घोक्नुभन्दा त हिरोइन बोक्नु कत्ति आनन्दको कुरा। चंगाजस्तो हलुंगो मन बनाएर आमासँग भनेँ— 'आमा! म कलाकार हुन्छु अनि जम्मैथोक बन्छु। कलाकारमा पनि फिलिमको हिरो कलाकार।'

आमाले झर्केर भन्नुभयो— 'बन्नुपर्याक छैन फिलिमको तेस्तो हिरोसिरो। हिरो भएर तेतिका थोक हुनु भनेको नक्कली काम हो। मान्छे भएर सक्कली काम पो गर्नू, नक्कली काम पनि के गर्नू? तेहाँ नराम्रा मान्छेसँग नराम्रा नाच नाच्नुपर्छ। तेस्तो जाबो गन्दे हुनुहुँदैन!'

चंगाझैं उडेको मेरो मनलाई एक्कासि परेको पानीले रुझाइदियो र चंगा लफ्रक्कै गलेर भुइँमा खस्यो। मैले दुःखी भएर आमाको अनुहार हेरेँ। आमाले ती सबै कुरा मनको भित्री कुनाबाट भन्नुभएजस्तो लाग्योे। मैले पत्याएँ। मलाई भने चिन्ता पर्योस— के हुने त अब म?

आमाले मायालु पाराले सम्झाउनुभयो तर मैले आलु पाराले सम्भि्कएँ। भन्नुभयो— 'धेरै पढ्नुपर्छ, पढेपछि ज्ञानी भइन्छ, ठूलो मान्छे भइन्छ, सबैले मान्छन्। पढेर आकाश छुनुपर्छ। यसरी किताबलाई सात हात पर फ्याँक्नुहुँदैन, पाप लाग्छ।'

बाले पनि बेलाबेलामा भन्नुहुन्थ्यो— 'महाकवि देवकोटाले भनेको कुरा सधैं मनन गरेस् केटा, 'उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक...!' यो नै ठूलो मान्छे बन्ने सूत्र हो।'

सोचेँ, पढेर आकाश छुनलाई पक्कै पनि पाइलट विषय पढ्नुपर्छ, अनि जहाज उडाउनुपर्छ। सबैभन्दा ठिक त मैले नै सोचेको रहेछु, पाइलट हुने। खुसी हुँदै भनेँ— 'आमा! म डाक्टर हुने विषय पढ्दिनँ, इन्जिनियर र पण्डित हुने विषय पनि पढ्दिनँ। म त पाइलट हुने विषय पढ्छु! है?'

आमा यसै खिस्स हाँस्नुभयो। आमाको हाँसोमा सन्तुष्टि र स्वीकृति दुवै थियो। यस्तो लाग्यो, म उतिखेरै पाइलट भएँ। बा भएको भए डाक्टर नै हुनुपर्छ भनेर गर्जनुहुन्थ्यो होला।

जे परे पर्ला पाइलटै हुन्छु भन्ने सोचेर सात हात पर फ्याँकेको किताबलाई सात हात वर ल्याएँ र पढ्न बसेँ। मनमनै पाइलट भएको, जहाज उडाएको र आकाश छोएको कल्पना गर्न थालेँ। जे भए पनि बालाई खुसी बनाउनुभन्दा आमालाई खुसी बनाउनु ठूलो कुरा हो जस्तो लाग्यो। त्यसैले, म डाक्टर बन्ने कल्पना त्यागेर पाइलट बन्ने कल्पनामा लागेँ।

एउटै मात्र किताब पल्टाएर घोरिँदै पढ्न मन लागेन। प्रत्येक किताब फरर्र बेनियम पल्टाउन थालेँ। जहाँ चित्र छन् त्यहाँ आँखा एकछिन टक्क रोकिए। खुब खोजेँ, तर किताबमा कतै जहाज चलाउने तरिका सिकाइएको थिएन। मलाई सोझै जहाज चलाउन सिकाइएको किताब पढ्न मन भयो। त्यस्तो अन्टसन्ट किताब पढ्नै मन लागेन। कोठाबाट बाहिर निस्किएर आमालाई भनेँ— 'आमा यी किताबमा त कतै जहाज चलाउन सिकाएकै छैन। म त पढ्दिनँ यस्ता किताब। म त जहाज चलाउन सिकाउने किताब मात्र पढ्छु।'

आमाले फेरि सम्झाउँदै भन्नुभयो— 'यस्तै किताब त पढ्नुपर्छ नि सुरुसुरुमा। जहाज चलाउन सिकाउने किताब त एसएलसी पास भएपछि मात्र पढ्न पाइन्छ। त्यो पनि धेरै नम्बर ल्याएर पास गर्नुपर्छ। पहिले जग बलियो बनाउनुपर्योा नि अनि बल्ल घर बन्छ लाटा।'

साँच्चै, आमाले मायालु पाराले सम्झाउनुभएको कुरा मैले आलु पाराले नै बुझेको रहेछु। फेरि पढ्न बसेँ तर मन त उडिहाल्यो। आकाश पनि छोयो, तर के गर्नु? मनले आकाश छोएर पाइलट नभइने रहेछ। मलाई पढ्न मन थिएन तर आकाश छुन मन थियो।

फेरि किताब पल्टाएँ अनि त्यहाँका चित्र र तस्बिरहरू मात्र हेरेर टोलाएँ। अक्षर भनेपछि पटक्कै हेर्न मन लागेन। टाउको दुखेर आयो। ज्वरो आउलाजस्तो, वाकवाकी लाग्लाजस्तो, सु लाग्लाजस्तो पनि हुन थाल्यो। दिक्क मान्दै कापी पल्टाएँ र यसै लेखेँ— 'मलाई पढ्नपर्छ भन्ने थाहा छ तर पढ्न मन लाग्दैन! के गर्ने होला?'

त्यसपछि किताबकापी एकातिर मिल्काएर ‰यालबाहिर हेर्न थालेँ। रूखका हाँगालाई खेलमैदान बनाएर चराहरू खेलिरहेका रहेछन्। खेल्दाखेल्दै ती चराहरू भुर्र... उडे र आकाश छोए। सोचेँ, यी चराहरूले अवश्य पनि पढेर आकाश छोएका होइनन्। नपढेका चराहरूले कसरी आकाश छुन सकेका होलान्? मलाई पनि चराहरूले झैं नपढी आकाश छुन मन लाग्यो।

नपढीकन आकाश छुने तरिका कि चरालाई थाहा छ कि चंगालाई।

नपढीकन ठूलो हुने तरिका कि रूखलाई थाहा छ कि हात्तीलाई।

(न्यौपानेको उपन्यास 'करोडौं कस्तूरी'को अंश। फाइनप्रिन्टद्वारा प्रकाशित पुस्तक यही असार २२ गते सार्वजनिक हुँदै छ।)

प्रकाशित: १८ असार २०७२ २०:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App