३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

मल्ल राजासँग

गृष्म ऋतुको आगमनलाई सहरवासीहरूले पटक्कै रुचाएका थिएनन्। सहर बेस्सरी पिल्सिएको थियो प्रचण्ड सूर्यको रापमा। साँझपख हुन्डरीसँग फाट्टफुट्ट आउने मसिनो बर्सात पनि हराएको कैयौं दिन भइसकेको थियो। भूकम्पले भत्किएका मन र तिनका सपनाहरू रुँदै थिए आफ्नै चिहानमाथि। यस्तो प्रतीत हुन्थ्यो— मानौं एउटा गिद्ध कविता लेख्दै छ, सिनोको आवरणलाई पुस्तिका बनाएर।म मंगहिटीको डिलमा उभिएर दरबार चोकको विरूप आवरण नियालिरहेको थिएँ। आफ्नो बासस्थानको रक्षा गर्न नसक्ने देवताहरूको अतुलनीय शक्तिलाई भूकम्पीय दानवको अकूत तागतसँग तुलना गर्दै थिएँ। आकाशमा बेरंगी साँझ पोतिँदै थियो। टेको लगाएर जेनतेन अड्याइएका टुँडालहरू सूर्यको मलिन प्रकाशमा फिक्का हाँसो हाँस्दै थिए। तल, सुकेको ढुंगेधारोसँग न त जलको अटुट प्रवाह थियो न त बोल्नलाई केही आवज नै। त्यो निःशब्द र निश्चल थियो। शोक मनाएजस्तै। जम्मामा भन्दा दरबार चोक पुरानो अनि जीर्ण एउटा किताबझैं देखिन्थ्यो जसको गाता र पानाहरू धमिराले खाएर प्वालैप्वाल बनाएको छ। धुलोले ढाकेको छ।
परबटै देखेँ, मलिन मुहार लगाएर राजा आउँदै छन्। तिनै बूढा राजा योगनरेन्द्र मल्ल जो आफ्नो सहरवासीको मनमा एक अदृश्य जीवन बिताउँदै थिए, शताब्दियौंदेखि। झन्डै वर्ष दिन भइसकेको थियो उनलाइै पछिल्लोपटक भेटेको। सहरका साँघुरा गल्लीहरूमा निरुद्देश्य बरालिँदै बात मार्ने परम मित्र थिए, ती मेरा। उति म नजिकै आएर उभिए। म केही बोलिनँ। उनी पनि मौन। बोल्नलाई केही विषय थिएन। जे थियो शब्दहीनतामै स्पष्ट थियो। जे थिए भत्किएर निराकार भएका आकारहरूमा थिए। केही हप्ताअघिसम्म अलिपर अडिएको उनको सालिक ढलेको थियो। अनि सालिकको टाउकाको त्यो निष्प्राण चरो पनि ढलेको थियो, जसले राजालाई यत्तिका वर्षसम्म जिउँदै राखेको थियो। 
हामी हिँड्दैहिँड्दै त्यो सालिक ढलेको ठाउँसम्म पुग्यौं। दरबारको छानोभन्दा पनि माथि उभिएको मन्दिरको छानो कोल्टिएकोे थियो, अहिले नै ढलिहाल्लाझैं गरेर। साँझको शीतल ताप्न सहरवासीहरू घरबाहिर निस्किएका थिए। यद्यपि, तिनको मुहारमा त्रासका रेखाहरू नागबेली पर्दै बगिरहेका देखिन्थे। ती त्रासद धर्साहरूले तिनको मनोभावना चिरा पारेका थिए।
‘सहरवासीहरूमा भयंकर भय पलाएको छ। अब एउटा ठूलो यज्ञ गर्नुपर्छ। त्रासमोचन महायज्ञ,' शान्त भावमा राजा बोले। 
साइकोसोसल काउन्सिलिङ भनेर मान्छेको मनमा गाडिएको भयको भग्नावशेष हटाउने कार्य त गरी नै रहेका थिए, परामर्शदाता नामक पण्डितहरूले। सयाद राजाले भने महायज्ञ पनि त्यस्तै प्रकृतिको होला।
हामी नजिकै बडेमानको घन्ट अर्धचेत अवस्थामा तुर्लुंङ्ग झुन्डिएको थियो। भूकम्पको झट्काले बिथोलेको त्यसको मनस्थिति फेरि कहिले ब्युँझेला र गुन्जेला घन्टको आवाज— म त्यस्तै सोच्दै थिएँ। किसान आइपुग्यो। त्यही राजकीय खेतमा अन्न उमार्ने किसान। अघिल्लो भेटमा ऊ साह्रै निराश र त्रु्कद्ध थियो— मान्छेहरूले खेतमा घरैघर बनाए अब अन्न कहाँ उमार्ने भनेर। तर त्यस दिन किसान त्यति दुःखी देखिएको थिएन, जति मैले कल्पना गरेको थिएँ। बरु उसको मुहारमा उल्लास पो भरिएको थियो। रुँदै गरेको बालक अचानक केही पाउँदा फुरुङ्ग भएजस्तो।
‘महाराज, मेरो खेतमा बनेका सबै अग्ला घरहरू ढलेछन्। इँटा र बालुवाको थुप्रो मात्र छ अहिले। अब मलाई त्यहाँ अन्न उमार्ने अनुमति दिनुपर्योम। महाराजले नगरपालिकालाई एउटा सिफारिस पत्र लेखिदिनुपर्ला। मेरो खेत भवन निर्माणको लागि होइन, कृषिको लागि योग्य छ भनेर,' किसानले राजासमक्ष विन्ती राख्यो, आफ्नो गुमेको खेत फिर्ता पाउने आशामा। 
राजा केही बोलेनन्। उनीसँग नगरपालिकालाई सिफारिस पत्र लेख्ने शक्ति नै कहाँ थियो र? नगरपालिका त कुत्सित मनसाय बोकेका भ्रष्ट कर्मचारीहरूको सञ्जालमा अल्भि्कएको थियो।
हामी तिनै जना पश्चिमतिरको एउटा गल्लीमा छिर्यौंो। साँझको रङ बाक्लै बिछिइसकेको थियो गल्लीमा। हाम्रो गन्तव्य थियो, त्यही पहिलेदेखिको नेवारी खाजा पसल; जहाँ किसान छोयलासँग ऐला घुट्क्याउँथ्यो। राजा विदेशी ब्रान्डीमा मस्त हुन्थे।
‘यसपाला मच्छिन्द्रनाथले पनि बढो दुःख पाए। बिचरा गुरुको रथ ढल्यो यसपाला पनि। बुङ्मतीबाट जाउलखेल ल्याइपुर्यानउन कत्रो सास्ती परेको छैन। अब भोटो देखाउने जात्रा पनि अनिश्चित भयो। अरू कैयन जात्रामा पनि अब चमक हराउनेछ,' चिन्तित स्वरमा राजा बोले। 
‘ह्या महाराज, कस्तो कुरा नबुझ्या। बुङ्मतीमा विधि नै नपुर्याचईकन रथ तानेछन्। अनि कहाँ हुन्छ? गुरु खुब रिसाएका छन्। अस्ति क्षमापूजा गरेर मनाउन खेाजेका थिए, बूढा माने पो! आजकालमा मान्छे खत्तमै भइसके महाराज। न प्रकृतिको नियम मान्छन् न देवताको,' किसानले हतारहतार बेलीविस्तार लगायो।
‘हो ठिक भन्यौ। मान्छेले कि पूर्ण नास्तिक हुन सक्नुपर्छ कि पूर्ण धार्मिक,' राजाले भने।
नेवारी खाजा पसल बन्द रहेछ। पसल भएको घरको माथिल्लो तल्ला खस्नै आँटेकोले टेको लगाएर अड्याइएको थियो। राजा र किसानले सुरापान गर्न पाएनन्। हामी त्यसपछि छुट्टियौं।
म अघिकै गल्ली हुँदै दरबारचोकतिर लागेँ। त्यस साँझ लोडसेडिङ थिएन। कुनैकुनै घरका झ्यालमा मधुरो उज्यालो देखिन्थ्यो। गल्लीमा मान्छेहरू एउटै थिएनन्। सायद ती कुनै खुला ठाउँमा पालमुनि लुक्न गएका थिए। कैयन टेका लगाएका घर मानवविहीन थिए। रित्तारित्ता। 
सायद सहरको युगले काँचुली फेर्दै थियो। प्राचीनताका अवशेषहरू विलिन हुने तर्खरमा थिए। हुन सक्छ— भूकम्प त एउटा निहुँ थियो। जमिनभन्दा पनि समय हल्लनै पर्ने बेला आएको थियो क्यारे।
म चोकमा आइपुगेँ। त्यहाँ पहिले–पहिलेझैं रौनकता थिएन। अँध्यारोको पर्दामा लुक्दै मन्दिर पेटीमा टासिँएर बस्ने जोडीहरू थिएनन्। दरबारको भित्तोमा बत्ती बलेको थिएन। नजिकै कुनै रेस्टुरेन्टमा धिमेमिश्रित संगीतमा कन्सर्ट भइरहेको थिएन। पर्यटकका पाइलाहरू थिएनन्। बिचरा त्रसित परेवाहरू एउटै थिएनन्। पर कतैबाट पोखिएर आउने मोटो बाँसुरीको आवाज पनि थिएन। थियो त केवल एक चौटा अन्धकार। घाइते मन्दिर र देवलहरूको सुस्केरा थियो। नजिकै पूर्णरूपमा ध्वस्त भएको एउटा ठूलो मन्दिरको भग्नावशेष थियो। अनि थियो एउटा गह्रौं विरक्ति।
पात्रहरू प्रेमका परम्परागत मान्यतालाई सकार्ने खालका छैनन्। न गीत, न जंगल, न पानी। बादल पनि चाहिँदैन तिनलाई। भेट्नेबित्तिकै प्रेम भइहाल्छ। रिस उठे त्यो टुटिहाल्छ। पाठकलाई कथामा हराउन लगाउने यो एउटा पृथक् स्वाद हो।

प्रकाशित: ४ असार २०७२ १९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App