झिसमिसेमै मोबाइलमा अलार्म बज्यो। झसंग भएँ। हतारहतार नुहाइधुवाइ गरी निस्केँ। भर्याछङमै आमाले रोक्नुभयो, 'आज शनिबार बाहिर नजाऊ, ठूलो भुइँचालो आउन सक्छ।' म फेरि झस्किएँ । मनमा एक प्रकारको पीडा भयो।
वैशाख १२ र २९ गतेको भूकम्पले सबैको मनमा डर र त्रास कायमै छ। भूकम्पपछिका परकम्पले अब के हुन्छ भन्ने अन्योल बढेको थियो। आमालाई सम्झाएँ, 'ठूलो भुइँचालो गएपछि ससाना परकम्पहरू गइराख्छन्। डराउनु पर्दैन।'
म नयाँ उत्साह र जोसकासाथ निरोगधाम प्रस्थान गरेँ। जेठ २४ गते हामी हाइकिङमा निस्केका थियौं। प्रकृतिप्रेमी समूहले विगत १२ वर्षदेखि पदयात्रा गराउँदै आएको छ। यसपालिको हाइकिङ भुइँचालोको त्रासलाई विगत बनाउँदै जीवन सामान्यतिर अघि बढाउने उद्देश्यले गरिएको थियो।
टोलीमा ६० जना थियौं। दुइटा बसमा चढेर गोदावरीतर्फ लाग्यौं। हाम्रो गन्तव्य थियो गोदावरीको नौधारा हुँदै देउराली भएर लामीडाँडा पुग्ने। सातदोबाटोबाट गोदावरी पुगुन्जेल बाटोका दृश्यले मन निकै नरमाइलो बनायो। सडक दायाँबायाँका धेरै घर भत्केका र चर्केका छन्। भत्किएका घरहरूको भग्नावशेषलाई तह लगाउँदै नयाँ बनाउन मेहनत गरिरहेका मान्छे देख्दा आँखाबाट आँसु झरे। कस्तो विपत्ति आइलाग्यो हामी नेपालीलाई!
सारा नेपालीलाई प्रभावित बनायो भूकम्पले। क्षणभरमै हामीले ऐतिहासिक धरोहर गुमायौं। हजारौंको ज्यान गयो, हजारौं घाइते भए। सिंगो नेपाल आँसुमा डुब्यो। मुटुमा गहिरो पीडा हुँदाहुँदै पनि हामी सामान्य जीवनतिर अघि बढिसकेका छौं। विपत्तिको यो कालो बादललाई चिरेर उज्यालोतिर बढ्नुछ। आजसम्म हामी यही देशको माटोमो हुर्कियौं, बढ्यौं र ठूलो बन्यौं। आज देशलाई हामी सबैको जरुरी छ। हामी जातीय, धार्मिक र गरिब–धनीको पर्खाल तोडेर समाज निर्माणमा हातेमालो गर्नुपर्छ। कसैले केही गरेन भनेर अरूको आलोचनामा समय खेर नफालौं। जति सकिन्छ आफैं गरौं। एकता र धैर्य कायम राखी काम गरौं।
गोदावरी पुग्दा आठ बजिसकेको थियो। हाम्रो टोली नेता डा.उमेश श्रेष्ठले हाइकिङको नियम र रुटबारे जानकारी गराएपछि पदयात्रा सुरु भयो। गोदावरी ललितपुरको प्रख्यात पर्यटकीय स्थल हो। लगनखेलबाट ११ किमि दुरीको शीतल बगैंचा पनि हो। गोदावरीमा धेरै फूलको फूलबारी भएको हुनाले यहाको नाम गोदावरी रहन गएको भनाइ छ। गोदावरीमा पवित्र कुण्ड र नौ धारा छन्।
काठमाडौं उपत्यकाको अग्लो डाँडो फूलचोकी (२,८०० मिटर) लाई शिर बनाएर बसेको गोदावरी सांस्कृतिक, धार्मिक र प्राकृतिक हिसाबले सुन्दर छ। त्यहाँ वर्षैभरि वनभोज खानेको भिड लाग्छ। गोदावरीमा हरेक १२ वर्षमा मेला लाग्छ। यहाँको वनस्पति उद्यानमा नेपाली र विदेशी पुगिरहन्छन्। राजा महेन्द्रले २०१९ सालमा उद्घाटन गरेको वनस्पति उद्यान १,६८० रोपनीमा फैलेको छ।
त्यसबाहेक गोदावरीमा मत्स्य अनुसन्धान केन्द्र, वनस्पति प्रयोगशाला, पञ्चदेवल, शान्तिवन जस्ता घुम्नलायक ठाउँ छन्। खाजा खाने रेस्टुराँ र बास बस्ने होटल, रिसोर्ट र लज थुप्रै छन्। कोलाहलमुक्त गोदावरी सधैं शीतल हुन्छ। विशेषतः फूलचोकी उकालिने गौंडा भएकाले यहाँ युवाहरूको भिड लाग्छ।
गोदावरीबाट धेरैतिर पदयात्रा गर्न सकिन्छ। नौधाराबाट हाम्रो पदयात्रा सुरु भयो। भुइँचालोपछिको पहिलो हाइकिङ भएकाले सबै हाइकर्स उत्साहित थिए। केही समय पिच बाटो हिँडेपछि हामी सिधा दक्षिणको जंगलभित्र पस्यौं। सिधा पिचबाटो हिँडे फूलचोकी पुगिन्छ। साँघुरो गोरेटोमा होसपूर्वक हिँड्यौं। ठाडै उकालोमा। जेठको टन्टलापुर घाममा हामी शीतल जंगलभित्र थियौं। चराको चिरबिर सुन्दै, रूखहरूले फालेको स्वच्छ अक्सिजन लिँदै हामीले मन र तनलाई चंगा बनायौं।
ठाडो उकालोमा सबैको शरीरबाट पसिना निक्लन थाल्यो। हामी गफिँदै उकालो चढ्यौं। पूरै जंगलभित्र थियौं हामी। करिब डेढ घन्टा उकालो चढेपछि देउराली (१,८०० मिटर) पुग्यौं। त्यहाँ हामीले 'आँप–ब्रेक' गर्यौं्। हामी पदयात्रा गर्दा मौसमअनुसारका फलफूल र तीन बराबर आहार खान्छौं। जंक, फास्ट फुड र मसलेदार खाना हाम्रो हाइकिङमा प्रतिबन्धित छ।
आँप खाएर उकालो चढयौं। ढुंगाको सिँढीमा टेकेर। लेले उपत्यकाको मनकामना मन्दिरबाट फूलचोकीसम्म ६ हजार ८४ वटा सिँढी बनाइएको छ। त्यही सिँढी भेटेका हौं हामीले देउरालीबाट। हामी घाममा सेकिँदै थियौं। जंगल हामी मुन्तिर थियो। पसिना चुहाउँदै हिँड्दा हाम्रा आँखा काफलका रूखमा परे। अहा! बोटैभरि काफल। सोचेकी थिएँ, ऐँसेलुजस्तै काफल पनि सानो बोटमा फल्छ होला। तर, रूख त ठूलो पो हुँदो रहेछ।
साथीहरू फटाफट काफल टिपेर कपाकप खान थाले। नखाऊन् पनि किन? प्रकृतिको चुल्होमा पाकेको कुरा। हामीसँग १२ वर्षकी सिल्भिया श्रेष्ठ पनि थिइन्। थाकिसकेकी उनले जब काफल देखिन्, औधि रमाइन्। काफल खान अर्कोपटक पनि हाइकिङ पनि आउँछु भनिन्। बाटोभरि काफल टिप्दै हिँड्यौं। पाकेर कालो भएको काफल कति मिठो। मैले त काफल टिपेर छोरीलाई पनि ल्याइदिएँ। रमाइरमाइ खाइन्। 'अर्को हाइकिङमा म पनि काफल खान जान्छु,' नौ वर्षकी छोरी खुसीले भनिन्। सायद अर्को महिनामा काफल सकिसकेको हुनेछ। रातो र हरियो काफल अमिलो हुन्छ। ख्याल गर्नुपर्ने कुरा के हो भने गर्मीमा अमिलोले एसिडिटी बढाई टाउको दुख्ने सम्भावना हुन्छ। अमिलो खानु हुँदैन।
पदयात्रा गर्दा एक–एक घन्टामा २५० एमएल पानी पिउँदै हिँड्नुपर्छ। हिँड्दा पसिनामार्फत भित्रको पानी बाहिरिन्छ। त्यसले हामीलाई बढी पानी चाहिन्छ। तर, एकैचोटि धेरै पानी पिउनु हुँदैन।
काफल र प्रकृतिको रसस्वादन गर्दै, फोटा खिच्दै उकालो चढ्यौं। माथि पुगेपछि फर्केर हेरेको कति राम्रो दृश्य। हरिया डाँडा हामीभन्दा मुनि थिए। उत्तरमा काठमाडौं उपत्यकाको दृश्य। काठमाडौं वरपर थुप्रै छन्, यस्ता हाइकिङ रुट। मलाई एक साथीले सोधेका थिए, 'काठमाडौं त ध्वस्त भयो रे, अब नेपालको पर्यटन विकास गर्न के गर्नुपर्ला?' प्रश्न सुनेर अचम्मित भएँ। वास्तवमा भूकम्पले पूरै नेपाल ध्वस्त भएको छैन। केही ठाउँ न ध्वस्त भएका हुन्। अब आन्तरिक पर्यटन बढाएर पर्यटन क्षेत्रलाई मलजल गर्नुपर्छ। वरपरका ठाउँ आफैं घुमेर पर्यटकीय स्थल सुरक्षित छन् भन्ने सन्देश दिनुपर्छ। हामी सबैले देश चिन्नुपर्छ। घुम्दा नयाँ ठाउँ, संस्कृति, रहनसहन र त्यहाँका समस्या बुझ्न पाइन्छ।
हामी भूकम्पपछिको अवस्थाबारे छलफल गर्दै अघि बढ्यौं। सामाजिक सञ्जालहरूमा नेपाल ध्वस्त भएको भ्रम पार्ने खालका सामग्री पोस्ट गर्नु हुँदैन। भूकम्पले सारा नेपाल ध्वस्त भएको होइन र सारा नेपाली धरोहर ध्वस्त भएका होइनन्। ऐतिहासिक धरोहर त हामी केही वर्षमै निर्माण गर्न सक्छौं तर मानिसभित्र पसेको नकारात्मक सोचलाई उकास्न गाह्रो पर्छ।
ठाडै उकालो भएकाले सबैलाई थकाइ लाग्यो। मिना लिम्बु अलिक पछि पर्नुभयो। 'जिउ मोटो भएकाले हिँड्न गारो भयो, तपाईंहरू जस्तो पातलो हुन पाए हुन्थ्यो' भन्नुभयो उहाँले। साँच्चै मोटोपनले आलस्य र भारीपन ल्याउँछ। हिँड्दा स्याँस्याँ हुन्छ। मोटोपन नै सबै रोगको घर हो । त्यसैले हामीले उचित आहार, विहार र व्यवहार गरेर मोटोपन घटाउन सकिन्छ।
मध्याह्न हामी लामीडाँडा र फूलचोकीको संगम (२,३०० मिटर) मा पुग्यौं। त्यहीँ बसेर स्वास्थ्यवर्द्धक खाना खायौं। 'तीन बराबर आहार' अर्थात् एक भाग पाकेको अन्न, एक भाग हरियो तरकारी र एक भाग काँचो सलाद खायौं। यसरी खाँदा शरीरमा कब्जियत हुँदैन। कब्जियत नभएपछि कुनै रोग लाग्दैन।
खानापछि अन्तरक्रिया गर्यौंज। सैनिक डाक्टर गोपाल महर्जनले भूकम्पमा उद्धार र राहत वितरणमा जोखिम मोलेर सैनिक जवानहरूले दिएको योगदान गरेको सुनाए। धन्य हुन्, हाम्रा सुरक्षाकर्मी राष्ट्रसेवक! अन्तरक्रियाको अन्त्यमा हामी सन्देशमूलक गीत गाएर नाच्यौं। देशले मागेको यो समय मुलुक बनाउन आ–आफ्नो ठाउँबाट योगदान गर्ने प्रण गर्यौंन।
दिउँसो दुई बजेपछि हामी अघि आएकै बाटो फर्कियौं नौधारासम्म। हामीले लन्च खाएको ठाउँबाट सिधै चढे फूलचोकी पुगिन्छ। फूलचोकीबाट नौधारा झर्न पनि सकिन्छ। लामीडाँडाबाट फूलचोकी पाँच किमि दुरीमा छ। फूलचोकी नलागी त्यहाँबाट पश्चिम बाटो लागे लामीडाँडा हुँदै लेले सरस्वती कुण्ड झर्न सकिन्छ।
गोदावरी नौधारादेखि लामीडाँडासम्मको यो रुट निकै रमाइलो छ। चारैतिर हरियाली। चैत–वैशाखमा वनैभरि गुराँस फुल्छ। जेठमा काफल पाक्छ। वैशाखमा ऐँसेलु। असोजदेखि चैतसम्म मुसुक्क मुस्कुराइरहेका हिमाल हेर्दै पदयात्रा गर्न सकिन्छ। बर्खामा भने पानी परेर बाटो हिलो हुने र जुका लाग्ने हुनाले हिँड्न गारो हुन्छ।
अहिले विपत्तिको अवस्थामा देशको पर्यटन उकास्न हामीले पदयात्रा गर्नुपर्छ। सफा वातावरण भएका ठाउँमा घुम्नुपर्छ। त्यसैले सके हप्ताको एकचोटि नसके महिनाको एकचोटि हाइकिङ गर्नुपर्छ। मनसुन सुरु हुन लागेको छ। असारमा गाउँघरतिर किसानले छुपुछुप धान रोपेको हेर्न पाइन्छ। अम्ब्रेला हाइकिङ गर्न सकिन्छ।
कसरी पुग्ने : लगनखेलबाट गोदावरीसम्म बसमा। गोदावरीबाट नौधारा हुँदै पदयात्रा। दुरी १० किमि। पूरै बाटो ठाडो। समय पाँच घन्टा।
ध्यान दिनुपर्ने कुरा
– पदयात्रा जाने ठाउँबारे राम्रो जानकारी लिने। बाटो कस्तो छ, भूकम्प जोखिम कति छ बुझ्ने। परकम्पनहरू आइरहने भएकाले ध्यान दिने। भूकम्प आइहाले सुरक्षित ठाउँमा बस्ने। विपद्का बेला यात्रा गर्दा गाउँलेलाई सकेको सहयोग गर्ने।
– हिँड्दा सजिलो लुगा र जुत्ता लगाउने। पछाडि भिर्ने ब्यागमा तीन लिटर पानी बोक्ने। ट्रेकिङ लौरो, क्यामेरा, नोटबुक र कलम बोक्ने। मौसमअनुसार छाता/बर्सादी, क्याप र सनग्लास बोक्ने।
– प्राथमिक उपचार सामग्री सिटामोल, टेप, ब्यान्डेज, सियो–धागो आदि बोक्ने। जथाभावी खाना नखाने। समय ख्याल गर्ने। समूहमा हिँड्ने।
जन। बोली
काशीराज ज्ञवाली डाक्टर हुन्। उनको विचारमा चलायमान हुनु नै जीवन हो। 'हामीले हाम्रो शरीरलाई धेरै हिँडेर चलायमान बनाउनुपर्छ,' ज्ञवाली भन्छन्, 'स्वस्थ हुन प्रकृतिको नजिक जानुपर्छ।'
...
सिल्भिया श्रेष्ठ कक्षा सातकी विद्यार्थी हुन्। भूकम्प गएपछि उनी डराएकी थिइन्। 'हाइकिङ आउँदा फ्रेस भइयो, श्रेष्ठले भनिन्, 'काफल टिपेर खान पाइयो। म त फेरिफेरि पनि हाइकिङ गर्छु।'
...
पुष्प खड्का हरेक महिना पदयात्रा गर्छन्। 'प्राकृतिक ठाउँमा पदयात्रा गर्दा शरीरमा ऊर्जा मिल्छ,' खड्का भन्छन्, 'गाउँले जीवन बुझ्न र स्वास्थ्यलाई राम्रो बनाउन हामीले हाइकिङ गर्नुपर्छ।'
...
मिरा शाक्य पदयात्रामा रमाउँछिन्। 'यसपालि तीन वर्षयताकै चर्को गर्मी ३५ डिग्रीमा पनि पहाड चढेँ,' श्रेष्ठले भनिन्, 'टाउको दुखेन। मनमा इच्छा र जाँगर भए जे पनि गर्न सकिन्छ।'
प्रकाशित: २९ जेष्ठ २०७२ २१:३१ शुक्रबार





