सिरहा- सरस्वती पूजाको दिन सिरहाको कचनारी-३ बाट अपरिचित समूहबाट अपहरित एक युवकलाई मंगलबार दिउँसो सिरहा प्रहरीले उद्धार गरेको छ। सोही ठाउँका ३८ वर्षीय कृष्णकुमार सिंहलाई भारतीय प्रहरीको सहयोगमा भारतको जयनगर क्षेत्रबाट उद्धार गरिएको सिरहाका एसपी रामकृपाल साहले जानकारी दिए।
'सिंह अपहरणको खबर पाएपछि जिल्लाबाट विशेष टोली उनको खोजीमा जुटेको थियो,' एसपी साहले भने, 'भारतीय प्रहरीको सहयोगका कारण हामी सिंहलाई सकुशल उद्धार गर्न सफल भयौं।' उनलाई जिल्ला अस्पताल सिरहामा स्वास्थ्य जाँच गराइ साँझ परिवारको जिम्मा लगाइएको साहले बताए।
सिंह गाउँमै औषधि पसल चलाएर बसेका छन्। पसल बन्द गरी गाउँमै सरस्वती पूजाको अवसरमा आयोजित सांस्कृतीक कार्यक्रम हेर्न जाने क्रममा चार-पाँच जना नकाबधारीले आफूलाई जबर्जस्ती मोटरसाइकलमा बसाएर अपहरण गरेको उनले प्रहरीमा बयाण दिएका छन्।
दुई दिनसम्म आफूलाई अपहरणकारीले नशाको सुई दिएर बेहोस बनाइ चौरीमा बन्धक बनाएर राखेको सिंहले प्रहरीलाई बयाण गरेको छ। 'सिंहको बयाणबाट अपहरणमा परेकै होजस्तो लाग्छ,' एसपी साहले नागरिकन्युजसँग भने, 'थप अनुसन्धानबाट विस्तृत खुल्नेछ।' उनको कल रेकर्डका आधारमा प्रहरीले अपहरणको सुक्ष्म अनुसन्धान सुरु गरेको छ।
प्रकाशित: १३ माघ २०७१ ०८:०५ मंगलबार





