पैसा लगानी गरेर फिल्म खेल्ने प्रवृत्तिलाई नेपालमा सकारात्मक मानिँदैन। 'फलानो त पैसा हालेर हिरो बन्यो' भन्ने खालका टिप्पणी गरिन्छन्। त्यसरी फिल्म खेल्नेहरूले कलाकारको दर्जा नै नपाउने खतरा हुन्छ।
पैसाको बलबुतामा फिल्म खेल्नेहरू हिजो पनि थिए, आज पनि प्रशस्तै छन्। त्यसरी 'इन्ट्री' भएकाहरू कोही टिके, कोही टिकेनन्। जोसँग पैसाबाहेक प्रतिभा पनि थियो, ती स्थापित भए। जोसँग पैसाबाहेक केही थिएन, पलायन भए। यसले के प्रमाणित गर्छ भने पैसा हालेर फिल्म खेल्न सकिन्छ, तर कलाकारको परिचय बनाउन सकिन्न।
तर, यसको मतलब यो होइन कि फिल्ममा लगानी गर्नै हुँदैन। फिल्ममा लगानी गर्नु कुनै गैरकानुनी काम होइन। यदि कसैसँग पैसा छ भने लगानी गर्न पाउनु उसको अधिकार हो। अरूले टाउको दुखाउनुपर्ने कारण छैन।
कसैलाई 'पैसाको भरमा बनेको हिरो' भनेर पहिल्यै छाप लगाइहाल्नु पनि हतारको निर्णय हो। कम्तीमा फिल्मको रिलिजलाई प्रतीक्षा गरौँ। फिल्ममा उसले देखाएको काम हेरौँ। के थाहा, नाम चलेका कलाकारको भन्दा उसको 'पर्फर्मेन्स' अब्बल छ कि !
अरू त अरू, आफ्नै लगानीमा पत्रिका निकालेर सम्पादक वा पत्रकार बनेकाहरूले समेत पैसा हालेर फिल्म खेल्नेहरूको खेदो खनेको पाइन्छ। पत्रकारितामा रुचि भएकाले पत्रिकामा लगानी गर्न पाउँछ भने कलाकारितामा रुचि भएकाले फिल्ममा पैसा लगाउन किन नपाउने ? फिल्ममा लगानी गर्ने कलाकारप्रति पूर्वाग्रह राख्नु सरासर गलत हो। बरु त्यस्ता कलाकारले फिल्ममा देखाएको कामको चाहिँ मूल्यांकन गरौँ।
फिल्ममा लगानी गरेर अभिनय गर्नुको फाइदा धेरै छ। आफ्नो लगानी नडुबोस् भन्नका लागि पैसा हाल्ने कलाकारले प्रशस्त मेहनत गर्छ। आफूमात्र होइन, अरूलाई पनि मेहनत गर्न लगाउँछ। फिल्मलाई सकेसम्म राम्रो बनाउन ऊ तल्लीन हुन्छ। फिल्म राम्रो बन्नु भनेको फिल्म क्षेत्र र कलाकार दुवैका लागि फाइदा हो।
आपूmले लगानी गर्दा फिल्ममा आफ्नो 'क्रियटिभ कन्ट्रोल' रहन्छ। आफूलाई मन परेका वा फिल्मको कलात्मकताका लागि सुहाउँदा कलाकार र टेक्निसियनहरूलाई सहभागी गराउन सकिन्छ। कसैको हस्तक्षेप रहँदैन।
फिल्म हिट भयो भने फाइदा पनि आफैँले उपभोग गर्न पाइन्छ। कलाकारले पारिश्रमिकको भरमा स्तरीय जीवन निर्वाह गर्न नेपालमा सम्भव छैन। फिल्मलाई नै आयआर्जनको माध्यम बनाउन चाहने हो भने यसमा लगानी गर्नु लाभदायक छ।
'ब्रेक' नपाएर हैरान प्रतिभाशाली नयाँ कलाकारहरू थुप्रै छन्। निकै दौडधुप र चाकडी गर्नेले नै धेरैजसो 'ब्रेक' वा अवसर पाउने सम्भावना रहन्छ। आफैँ लगानी गर्नेले फिल्ममा 'ब्रेक' पाउन धेरै भौँतारिनुपर्दैन। लगानी गरेर फिल्म खेल्नु भनेको छोटो बाटो समात्नु हो।
फिल्ममा लगानी गर्दा नाफा कमाइएला भन्ने ग्यारेन्टी हुँदैन। तर, लगानीकर्ताले फिल्म निर्माण, प्रवर्द्धन, प्रदर्शन र बजार तथा त्यससँग जोडिएका राजनीति बुझ्ने अवसर पाउँछन्। एउटा ठूलो ज्ञान हो यो। अभिनयमात्र गर्दा यी सबै अनुभव बटुल्न सकिँदैन।
अभिनयमात्र गर्ने हो भने फिल्म अल्पकालीन पेशा हुनसक्छ। फिल्मलाई एउटा दीर्घकालीन पेशा बनाउने तरिका यसमा लगानी गर्नु पनि हो। त्यही भएर फिल्म क्षेत्रका भुवन केसी, निखिल उप्रेती, करिश्मा मानन्धर, झरना थापा, नम्रता श्रेष्ठजस्ता कलाकारले आफूलाई निर्माताका रूपमा पनि चिनाएका छन्।
आफैँ लगानी गरेर फिल्म खेल्ने प्रवृत्तिका बेफाइदा पनि छन्। आफूले लगानी गरेपछि समग्र फिल्मभन्दा पनि आफ्नो भूमिकाप्रति बढी चिन्तित हुने समस्या पैदा हुनसक्छ। यसले लगानी गर्नेको दृश्य त बढाउला तर फिल्मको स्तर घटाउँछ। लगानी गर्ने कलाकारले फिल्मको संवेदनशीलता बुझ्न सकेन भने फिल्ममा अनावश्यक हस्तक्षेप गर्नसक्छ।
कलाकार आफू लगानीकर्ता हुँदा उसमा पैसाको चिन्ता थपिन्छ। सुटिङका लागि पैसा कहाँबाट जुटाउने, निर्माण प्रक्रियालाई कसरी किफायती बनाउने, लगानी गरिएको पैसा कसरी उठाउने जस्ता प्रश्नले लगानीकर्ताको निद्रा बिथोलिन सक्छ। त्यसको असर उसको अभिनयमा देखियो भने उसलाई नै घाटा हुन्छ।
पैसाको अलमल र झमेलामा फसेपछि अभिनयसम्बन्धी अध्ययन र प्रशिक्षणका लागि समय निकाल्न लगानीकर्तालाई मुश्किल पर्छ। आफ्नो कलालाई तिखार्न फिल्म खेलेरमात्र पुग्दैन, अध्ययन पनि गर्नुपर्छ। चाहे त्यो स्वअध्ययन किन नहोस्। लगानी गर्नेहरू व्यापारी बढी, कलाकार कम हुने सम्भावना सधैँ हुन्छ।
कलाकारमात्रै हुँदा ऊप्रति अरू कलाकारले मात्र आग्रह वा पूर्वाग्रह राख्छन्। तर, लगानी गर्न थालेपछि कलाकारको दायरा र शत्रु एकसाथ वृद्धि हुनेछ। आफ्नो लगानी रहेको फिल्ममा सबै कलाकार, टेक्निसियन र निर्देशकलाई काम दिन सकिँदैन। काम नपाउनेहरू पूर्वाग्रही भइदिन्छन्। कलाकार र लगानीकर्ता एउटै हुँदा सम्बन्धहरूलाई सन्तुलनमा राख्न निकै गाह्रो हुन्छ। त्यसैले आफैँ लगानी गरेर फिल्म खेल्न जो कोहीले सक्दैन।
प्रकाशित: २५ पुस २०७१ ११:०६ शुक्रबार





