१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

कोमा इन उडिसाः क्या डेन्जरस !

इन्टरनेसनल थिएटर एन्ड डान्स फेस्टिभल–२०१४ का लागि शिल्पी थिएटरको १६ जनाको जम्बो टोली उडिसा पुग्दा राउरकेला शहर हाम्रो स्वागतमा तयार भएर बसेको देखिन्थ्यो।
डिसेम्बरको अन्तिम साता पश्चिम बंगाल र बिहारको छिमेकी राज्य उडिसाको शान्त शहर राउरकेलामा जिसस क्राइस्ट 'हिट' थिए। साँझ क्राइस्टको जन्मोत्सव इभ र २०१४ को बिदाइ उत्सवमा पड्किएका बारुद र पटाकाले लामो रेलयात्राबाट उता पुगेका हाम्रा मस्तिष्क र कान पंखाको जोरमा हल्लिएका पातला कागजजस्तै हल्लिन्थे। वर्षको अन्तिम घाम न्यानो र मधुरो थियो। नेपालको ठिहिर्‍याउने जाडो खपेर उता पुगेका हाम्रा बाक्ला ज्याकेट एकाएक होटलको र्‍याकमा थन्किएका थिए। माँ वैष्णोदेवी मन्दिरलाई लिएर ढुंगेपहाड गजधम्म उभिएको थियो। यस पहाडले राउरकेला स्टिल प्लान्ट भएको चालिस हजारले काम गर्ने औद्योगिक क्षेत्र र मानिस बसोबास गर्ने आवासीय क्षेत्र छुट्याइदिएको थियो। कुचोले सिनित्त बढारेजस्तो सफा कालोपत्रे सडकका दुवै किनारका अग्ला रूखहरूमा बाँदर र चमेरा भयरहित झुन्डिरहेका देखिन्थे। रूखमुनि हिँडिरहेका मानिस 'डेन्जरस प्राणी' हुन् भन्ने तिनलाई हेक्का नहुनुले पनि सायद ती भयरहित थिए। पुरानो शहरले विकास गरेको सभ्यताको झल्को थियो राउरकेला शहर।
भर्खरै राउरकेलाको कोनार्क सिनेमा हलमा हेरेको 'पिके' फिल्मको रन्कोमा लेखक कुमार नगरकोटीले एक डोज डाइलग सुनाएका थिए– 'फिल्म र शहर उस्तै हुन्। यस आदिम शहरमा देखिने सपना र फिल्ममा देखिने सपना उस्तै 'बोल्ड' हुन्छन्।'
२१ डिसेम्बरको दिउँसो सिभिक सेन्टरको यौटा भव्य हलमा सात देशका कलाकारसहित आठ सय दर्शक उडिसाका अनेकौँ रङ मिसिएका जोसिला लोकबाजा र आदिवासी नृत्य हेर्न उपस्थित थिए। राउरकेला, सम्बलपुरलगायत उडिसाका पुराना शहरबाट आफ्ना आदिवासी पहिचानसहितको नृत्य देखाउन आएका सयौँ कलाकार सकेसम्म अलग र सुन्दर देखिनेगरी अनेक खाले सांस्कृतिक पहिरनमा हलमा चलमलाइरहेका थिए। उडिया भाषामा लामो अभ्यासले खारिएको सुमधुर स्वरमा गाइएको गीत र आदिवासी नृत्य सुरु हुँदा शान्त थियो माहोल। उडिया भाषा हामीले बुझ्ने कुरै थिएन। फेस्टिभल संयोजक प्राडा समर मुदालीले गीतको अर्थ बुझाए, 'मानिसको जीवनमा दुःख सधैँ छ। जहिले पनि दुःखले हामीलाई पछ्याउनेछन्। तर, दुःखमा पनि मानिसहरू प्रेमका कुरा गरून्।'
०००
राति अबेरसम्म शहरको बीचमा अवस्थित सिभिक सेन्टर चर्को बत्ती, मानिस, फूल, मालाले गुलजार थियो। फूलमाला लिएर गेटमा उभिएका साना नानी फेस्टिभल हेर्न विभिन्न देशबाट आएका पाहुनाको स्वागतमा व्यस्त थिए। सन् १९८९ देखि हरेक साल आयोजना भइरहेको 'स्पन्दनः एन इन्स्टिच्युसन अफ आर्ट एन्ड कल्चर'ले आयोजना गर्ने महोत्सवले यस वर्ष रजत जयन्ती मनाउँदै थियो।
२२ डिसेम्बर। फेस्टिभलको तेस्रो दिन। नाटकका लेखक/कलाकार कुमार नगरकोटी कोमामा गएको अवस्थामा मञ्चमा थिए। उनी मुडुले योगीझैँ देखिएका थिए। सेतो स्यान्डो र जाँघे लगाएर मञ्चमा घुमिरहेका नगरकोटीलाई देख्दा लाग्थ्यो, नाटकले मध्यपुसको उडिसालाई चिस्याउन बिर्सेको छ। नाटकका निर्देशक घिमिरे युवराज मञ्चतल प्रोजेक्टरबाट देखाइने दृश्यहरू कन्ट्रोल गरिरहेका थिए।
'कस्तो अब्सर्ड मान्छे रहेछ, बौलाहाजस्तै,' साँझ ढल्किसकेपछि नेपालबाट महोत्सवमा छनोट नाटक 'कोमाः अ पोलिटिकल सेक्स' मञ्चन भइरहँदा चिहानबाट उठेर आएको 'डेड म्यान'को भूमिका गरेको एक पात्रप्रति दर्शकदीर्घाबाट राउरकेलामा बसोबास गर्ने नेपाली युवकले छिनमै भनिहाले, 'क्या डेन्जरस ! कम्युनिस्ट मेनिफेस्टो पढ्छ, गीताको सार भन्छ– तुम क्या लेकर आएथे और क्या लेकर जाओगे ?'
कुनै बैंकको टाई र शानदार युनिफर्मसहित उपस्थित थिए, ती नेपाली युवक। मञ्चमा भने अँध्यारो प्रकाशमा कोक्रोमा हल्लिरहेको कोमामा गएको लेखक र बेलाबेला परिवर्तन भइरहने भग्नावशेषजस्तो कोठा, राता र पहेँला रङ भएका क्रमशः सानादेखि ठूला बक्स भएका फ्रेमहरू थिए। एकै दिन बर्थ–डे परेका पात्रहरू पोस्टम्यान, फिसरम्यान, एल्लो ह्याट, अ डेड म्यान आ–आफ्ना जन्मदिन सेलब्रेट गर्दै व्यापक अराजक, असान्दर्भिक संवाद बोलिरहेका थिए।
आफैँलाई व्यंग्य गरेजस्ता कपडा लगाएका बौलाहाजस्ता मानिसहरू स्टेजमा चलमलाइरहेका, चिहानबाट मानिस उठेर आएको, कम्युनिस्ट मेनिफेस्टोबाट गीताको सार गुञ्जिएकोे दृश्य देखेपछि मसँगै नाटक हेरिरहेका युवक निकै चकित भएका थिए।
'कोमा' हेरिरहँदा ती युवकजस्तै धेरै मानिस नेपालको पोलिटिक्सबारे घोरिन पुग्छन्। सामान्य मान्छे, नीतिनिर्मातादेखि राजनीतिक नेतृत्वसम्म नाटकमा जोडिएर आउ"छन्। संविधानसभा भंग भएपछि कोमामा पुगेको लेखकलाई मुख्य विषय बनाएर लेखिएको नाटकमा राजनीतिमाथि कडा व्यंग्य छ। 'देशका नाममा नागरिकताबाहेक केही दिएन नेपालले। संविधान नबनेसम्म नेपाल सधैँ कोमामै रहिरहनेछ,' नाटक चलिरहेकै बेला राउरकेलामा २० वर्षदेखि बसिरहेका नेपाली ओम श्रेष्ठले टिप्पणी गरे।
नेपाली राजनीतिको निकै समयदेखि बिग्रिएको अनुहारलाई कमेडीको रूपमा अनेकौँ रङ मिसाएर लेखेका हुन् नगरकोटीले। 'कमेडिया डेलाआर्ते'मा आधारित नाटक मानिसको जीवन राजनीतिबाट कसरी व्यापक रूपमा प्रभावित भइरहेको हुन्छ ? संक्रमणकाललाई नेताहरू कसरी ह्विस्की पिएर मनाइरहेका हुन्छन् ? जनताचाहिँ कसरी बाँच्छन् ? भन्ने लामा प्रश्नहरूभित्र पस्छ। नाटकमा चिहानबाट उठेर आएको एक पात्र भन्छ– 'म हुँ श्लोकजंग राणा, डेड म्यान। दरबार हत्याकाण्डपछि बेपत्ता पारिएको प्लाटुन कमान्डर।'
नाटकमा जस्तै सेना र क्रान्तिकारीको आवेगको शिकार भएर द्वन्द्वमा बेपत्ता पारिएका सयौँ प्लाटुन कमान्डर, जिउँदै खाल्डोमा पुरिएका जुझारू 'अभागी' युवाहरू, शिक्षक, पत्रकार, नेता, स्वप्नले भरिएका युवा–युवती फर्केर आए भने राजनीतिक संक्रमणलाई ह्विस्कीले सेलब्रेट गरिसकेका नेताहरू के भन्दा हुन् ? कोमा सकिएको साँझ लामो समयसम्म चुरोटले फालेका धुवाँका झुप्पामाझ भावुक भइरहेँ।
यस्तो भावुकतालाई हाम्रोमा सस्तो भावुकता भनेर उडाइन्छ क्यारे। तर, नाटक हेरिसकेपछि ममात्रै होइन, 'नेपालको राजनीतिक अस्थिरताप्रति चिन्तित' नाटक हेर्न आएका उडिसानिवासी चार सय नेपाली पनि हल्का भावुक भएको सत्य हो। काठमाडौँमा प्रदर्शन हुँदैखेरी कोमाले परम्परागत नेपाली नाटकको ट्रेन्डलाई चुनौती दिएको समीक्षक गुरुङ सुशान्तले सम्झना गरे।
नाटक मञ्चनपछि यसअघि आख्यानमात्र लेखिरहेका नगरकोटीलाई धेरैले 'कोमा मानव'को संज्ञा दिएका थिए। घाँटीमा क्यानन क्यामरा झुन्ड्याएका कवि मणि काफ्ले फोटोमात्रै खिचिरहेका देखिन्थे। सायद उनले कविता बिर्से कि ? काठमाडौँबाट नाटक टोलीमा आएका अमेरिकी नाटक अध्येता ब्रुस पेड्रोल नाटक र नेपालमा चलेको कम्युनिस्ट आन्दोलनबारे कुरा गर्दै हुन्थे। नाटकका कलाकारहरू सरिता शाह, रेनु कार्की, बादल भट्ट, किरण चाम्लिङ, गोविन्द पराजुली, जीवन बराल, विक्रमसिंह थारु, रोशन मेहतालाई नाटक सकिएपछिको साँझ उपस्थित नेपाली दर्शकसँग 'हग' गर्नै भ्याइ–नभ्याइ थियो।
०००
२३ डिसेम्बर। नेपाल, बंगलादेश, श्रीलंका, ब्राजिल र भारतका विभिन्न राज्यबाट आएका नाट्य समूहहरू आ–आफ्ना व्यस्तताबीच एकअर्काका नाटक हेर्थे, बगैँचामा डुल्दै कडा कफी खान्थे, साँझपख खसिरहेको ठन्डीबाट आफ्ना दर्शकलाई बचाउँदै उनीहरू शिशिरलाई वसन्त मौसममा बदलिरहेका थिए ! उल्लेख गर्नैपर्ने कुरा के हो भने कुमार नगरकोटी चिन्डे तालु लिएर बगैँचा परिसरमा चुरोट पिइरहेका हुन्थे। ओभरकोटधारी श्याम वर्णका नगरकोटीलाई देख्दा यस्तो लाग्थ्यो, उडिसाकै कुनै आदिवासी हुन्।
भारतको राजधानी नयाँदिल्लीभन्दा बाहिरको हिन्दी थिएटरलाई नियाल्ने यो सुनौलो मौका थियो। नयाँदिल्ली बाहिर थिएटरको संघर्ष ज्यादा हुन्छ होला। महोत्सवमा मञ्चित बम्बई, दिल्ली, कलकत्तातिरका नाटक झुर भन्न लायक थिए। नाटकमा संकेत र हाउभाउ महत्त्वपूर्ण हुन्, भाषा मुख्य होइन। दुनियाँभरिमै थिएटरले यसैगरी मान्छेको साझा भाषाको खोजी गर्छ। हिन्दी थिएटरमा ज्यादा चिज सरकारी पैसामा निर्भर हुँदो रहेछ। त्यहाँको रंगमञ्च सरकारी अनुदानमा चल्छ। रंगकर्मी अनुदान कसरी हात लाउने भन्ने धन्दामा सक्रिय हुन्छन्। त्यसैले तिनमा वास्तविक विविधताको तुलनामा प्रयोगको कृत्रिम भंगिमा ज्यादा छ। बेकारको प्रयोग थोपरेपछि दर्शक अक्क न बक्क पर्छन्।
सन् २०१२ मा भारतको 'शुक्रबार' पत्रिकाले रंगमञ्चको वार्षिक समीक्षामा लेखेको सम्झना हुन्छ, 'दिल्लीको राष्ट्रिय नाटय विद्यालय (नेसनल स्कुल अफ ड्रामा) नामको संस्थालाई हरेक साल २५ ग्य्राजुएट निकाल्न ४० करोडभन्दा बढी रकम दिइने गरिन्छ। पास भएपछि उनीहरू कुन प्रोफेसनल काममा लाग्छन्, त्यसको व्यवस्था छैन। ती पनि सरकारबाट पैसा लिएर नाटक उन्नयनको गोरखधन्दामा लाग्छन्।' नेपालमा सरकारबाट फुटेको कौडी नपाउँदा पनि रंगमञ्च यसरी आफ्नै पहलमा जुर्मुराएको देख्दा जिब्रो टोक्न मन लाग्छ।
०००
२५ डिसेम्बर। महोत्सवमा मञ्चित उडिया नाटकले सबैभन्दा आनन्द दिएको थियो। उडिया नाटकमा मजदुरमाथि भएको राजनीतिले कसरी उनीहरूको थातथलो खोसिन्छ ? शक्तिपूजा, चाप्लुसीले मानिसको दिमाग कसरी कुरूप हुन्छ ? भन्ने देखाएको थियो। लोकतन्त्र अनुहारमा टाँस्ने नकावमात्रै भएको सम्झना गराउँथे ती नाटकले। नेताहरू चाहेको कहिल्यै बोल्न सक्दैनन्, सधैँ अरूबाट 'गाइडेड' भएर बोल्छन् भन्ने यथार्थ सम्झना गराइदियो। नाटक हेरेपछि लाग्यो– नाटकमा देखाइएका नेता हाम्रै सभासद् हुन् र स्टेज संविधानसभा बैठक। नाटकले देखाउने संकेत एउटा भूगोलमा मात्रै सीमित हुँदो रहेनछ।
क्रिसमस–डे र कवि भूपी शेरचनको जयन्ती पनि। भूपीलाई सम्झिएँ, 'हामी एउटा स्ट्राइकरद्वारा सञ्चालित, हामी मानिस कम र बढ्ता गोटी हौँ।'
०००
नगरकोटीले 'मोक्षान्तः काठमान्डु फिभर'को 'मेटाफिजिक्स' कथामा विश्वविख्यात दार्शनिक÷समीक्षक रोनाल्ड सुकेनिकको यस भनाइ कोट गरेका थिए, 'यथार्थको अस्तित्व छैन। समयको अस्तित्व छैन, आधिकारिक लेखक ईश्वर थियो, ऊ पनि मरिसक्यो। अब कथानकबारे कोही जानकारी राख्दैन, अब हाम्रो यथार्थको प्रामाणिक चरित्र नै निश्चित छैन। त्यसैले नाटक र साहित्य दुवैको अस्तित्व छैन।' सुकेनिकले संसारको प्रसिद्ध विधा साहित्य र नाटकको 'अस्तित्व छैन' भने पनि यस विधामा पस्नेहरूकोे लर्को लामो छ। नाटक महोत्सवहरूमा देखिने अनेक विम्बले विश्वभरि साम्राज्य फैलाएको 'नाटक'ले पछिल्लो समय आफ्नो चरित्र र स्वरूप फेर्दैछ भन्ने देखाउँछ।
नाटकघरमा दर्शक पात्रसँग आफैँलाई दाँज्छन्। उनीहरू खुइय गर्छन्, ताली बजाउँछन्। कोही ध्यान मुद्रामा देखिन्छन्। नाटक सकिएपछिका तिनीहरूका मुद्रा र आश्चर्य पढ्दा ती संवेदना पढाइने कुनै विद्यालयजस्तो लाग्छन्। कलाकारहरूचाहिँ आफ्नै टुक्राटुक्रा विभाजित जीवनहरूको खोजी गर्दा रहेछन्। ती अराजक हुन्छन्, कराउँछन्, हाँस्छन् बिस्तारै चिसिन्छन्।
०००
राउरकेलामा वेदव्यास भन्ने ठाउँ छ। तपस्वीहरू अझै पनि भेटिएलान्जस्तो लाग्ने। घाटहरू, साधुहरू, गरिबहरू, लामा सेता दाह्री पालेका वृद्धहरू, झुत्रा लुगा लगाएका नानीहरूले भरिएको ठाउँ। जंगलको शान्त स्थलमा थुप्रै सिँढी चढेपछि पुगिन्छ, वेदव्यासले महाभारत लेख्दा बसेको थलो। भनिन्छ, त्यही नदीकिनारमा बसेर वेदव्यासले तपस्या गरेका थिए।
हामीलाई यी सब कुरा सुन्दा त्यस स्थलप्रति बडो श्रद्धा जागेर आउँछ। वेदव्यासले महाभारत लेख्दा बसेको भनिने ढुंगामा बसेर लामो समय फोटो–सेसन गर्छौं। हामी हीन मनोग्रन्थीले पीडित छौँ। वेदव्यासलाई 'तपाईंजस्तै प्रख्यात हुनेगरी र धेरै लेख्न सकौँ' भनेर समेत आशीर्वाद माग्दै थियौँ। यो भन्दा हास्यास्पद कुरो के हुन सक्छ ? कुन चेतनाबाट 'गाइडेड' भएर यस्ता आशीर्वाद माग्न सकेका हामीले ? हामी मगन्ते न हौँ, जे पनि माग्छौँ। लामो ध्यान, तपस्याबारे हामी सोच्दैनौँ, मात्र वेदव्यास हुन चाहन्छौँ। तर, सत्य के हो भने 'वेदव्यास वाज नट मेड इन अ डे'।

प्रकाशित: २५ पुस २०७१ १०:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App