हत्याका ‘प्रमुख योजनाकार' अभियोगमा पक्राउ परेका थापाको बयानका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललितपुर र पोखराबाट दुईवटा पेस्तोल झिकाएर मंगलबार प्राविधिक परीक्षणका लागि प्रयोगशाला पठाएको थियो। बुधबार आएको प्राविधिक रिपोर्टमा ती पेस्तोलमध्ये पोखराबाट झिकाइएको पेस्तोलले न्यायाधीश बमलाई गोली हानिएको पुष्टि भएको हो।
‘घटनास्थलबाट बरामद गोलीको खोकाका आधारमा गरिएको परीक्षणमा दुईवटा पेस्तोलमध्ये पोखराबाट झिकाइएको पेस्तोलले नै न्यायाधीश बमलाई गोली हानेको पुष्टि भयो,' ब्युरो प्रमुख डिआइजी हेमन्त मल्लले बुधबार नागरिकसँग भने, ‘अर्को हतियारसमेत थापाकै देखियो, तर हत्यामा त्यसको प्रयोग भएको देखिएन।'
ब्युरो अधिकारीका अनुसार प्रहरी हिरासतमा रहेका थापाले बयान क्रममा बम हत्या योजनाका लागि २०६८ चैतमा भारतको बेतियाबाट प्रतिपेस्तोल १२ हजार भारतीय रुपैयाँमा दुईवटा ‘मेड इन रसिया', एउटा ‘मेड इन इटाली' र एउटा ‘मेड इन जर्मन' लेखिएको पेस्तोल किनेको खुलाएका थिए।
बम हत्यालगत्तै प्रहरीले शंका गरी नियन्त्रणमा लिएर छाडेपछि थापाले हतियार सँगै राख्नुलाई असुरक्षित ठान्दै काभ्रेका मिलन लामा र पोखराका रिद्धबहादुर थापालाई दिएका थिए। यही आधारमा ब्युरोले दुवै हतियार मगाएको थियो। थापाले पोलेका रिद्धबहादुर २०७० असोज १२ देखि कास्की प्रहरीले हातहतियार तथा खरखजाना अभियोगमा खोजी गरिरहेका व्यक्ति रहेको खुल्यो।
कास्की प्रहरीले हेम्जा–६ मा रहेको सुजन रेस्टुरेन्ट एन्ड लजको कोठा नम्बर २ मा छापा मार्ने क्रममा ‘मेड इन रसिया' लेखिएको पेस्तोलसहित रिट्टो तामाङ, नरेन्द्र मगर र विक्रम सिंह तामाङलाई पक्राउ गरेको थियो। उनीहरू सोही अभियोगमा कारागारमा रहेको र पेस्तोल प्रशासनमा रहेको खुलेपछि ब्युरोले उक्त पेस्तोल परीक्षणका लागि झिकाएको थियो।
डिआइजी मल्लका अनुसार गोली चलाउँदा खोकामा पर्ने दबाबबाट बनेको चिह्नका आधारमा घटनामा प्रयोग भएको पेस्तोल पहिचान गरिन्छ। बम हत्यामा प्रयोग भएको आशंकामा ब्युरोले पोखरा र ललितपुरबाट झिकाएको पेस्तोलबाट गोली चलाई खोकामा बनेको चिह्न र घटनास्थल शंखमूलबाट फेला परेको खोकामा लागेको चिह्न परीक्षण गर्दा मिलेको हो।
‘गोली चल्दा खोकामा बन्ने चिह्न फिंगरप्रिन्ट बराबर हो,' मल्लले भने, ‘यसैका आधारमा हतियार पहिचान भयो।'
ललितपुर प्रहरीले मिलनसँगै फेला परेको पेस्तोल परीक्षण गर्दा घटनास्थलमा फेला परेको खोकासँग मिलेन। उक्त पेस्तोल हत्यामा प्रयोग गर्न ल्याइएका तर प्रयोग नभएका दुईवटा पेस्तोलमध्ये एक भएको मल्लले जानकारी दिए। हत्यामा प्रयोग भएका र प्रयोगका लागि ल्याइएका अन्य दुई पेस्तोलसमेत थापाले अरूलाई नै दिएको र त्यसको खोजी भइरहेको ब्युरोका अधिकारीले जानकारी दिए।
‘अभियुक्तविरुद्ध ५ प्रमाण'
बम हत्याको अनुसन्धानमा नेतृत्व गरिरहेका डिआइजी मल्लले अनुसन्धान क्रममा प्रहरीले ५ वटा प्रमाण संकलन गरिसकेको जानकारी दिए। घटनामा प्रयोग भएका पेस्तोल, पक्राउ अभियुक्तहरूबीच घटनाको दिन भएको टेलिफोन सम्पर्क, योजना कार्यान्वयन गर्न अभियुक्तहरूले प्रयोग गरेको मोटरसाइकल पहिचान, अभियुक्तहरूको बयान र घटनाका प्रत्यक्षदर्शी राम गिरी र बमका बडिगार्ड महेश गिरीले गरेको अभियुक्त पहिचानले घटनामा उनीहरूको संलग्नता पुष्टि गर्ने ब्युरो अधिकारीले बताए।हत्याका मुख्य योजनाकार भनिएका थापासहित चारै जना अभियुक्तसँग प्रहरीको प्रारम्भिक बयानसँगै सरकारी वकिलले समेत बयान लिइसकेका छन्। चारै जनाको बयान एकै प्रकृतिको छ। बयानमा संलग्न एक अधिकारीका अनुसार उनीहरूले आफ्नो राजनीतिक यात्रा अन्धकार बनाएकाले प्रतिशोध लिन र नयाँ पार्टी नेपाली जनता स्वतन्त्र स्वाभिमान राष्ट्रिय पार्टीलाई चर्चामा ल्याउन बमको हत्या गरेको बताएका छन्।
‘सबैका बयान समान छन्,' ती अधिकारीले भने, ‘थापाले प्रेमराज खड्का घटनामा संलग्न नभएको तर्क गरे पनि प्राविधिक अनुसन्धानमा उनले बमको पिछा गरेको देखिन्छ।'
तेस्रो प्रयासमा हत्या
थापाको बयानअनुसार उनीहरूले तीन महिना अघिबाटै न्यायाधीश बमको हत्या योजना बनाएका थिए। तेस्रो प्रयासमा हत्या गरेकोसमेत खुलेको छ।२०६८ भदौ १२ मा रणबहादुर बमको एकल इजलासले ‘थापा समूहको चुरे भावर राष्ट्रिय एकता पार्टीलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न' अन्तरिम आदेश दिएको थियो। त्यसको एक सातापछि कल्याण श्रेष्ठ र बमको संयुक्त इजलासले अन्तरिम आदेशअनुसारै निवेदनकर्ता केशव मैनालीलाई चुरे भावरको आधिकारिता दिएको थियो।
‘आयोगका सबै आयुक्तले मेरो अध्यक्षतामा सम्पन्न भएको अधिवेशनलाई मान्यता दिएपछि अदालतले त्यसमा खेल्यो,' थापाको भनाइ उद्धृत गर्दै अनुसन्धानस्रोतले भन्यो, ‘सबैतिरबाट पेलेर मेरो राजनीतिक भविष्य नै अन्धकार बनाएपछि यसमा संलग्नलाई तह लगाउने र प्रतिशोध लिने योजना बनाए।'
जानकारस्रोतका अनुसार २०६८ चैतमा उनले सञ्जय इस्माली मगर (भगवान) सँग मिलेर न्यायाधीश बमको हत्या योजना बनाएका थिए। दुवैको सल्लाहअनुसार हतियारको प्रबन्ध गरेपछि सहयोगीका रूपमा करण चौधरी, प्रेमराज खड्का र दिपक कर्णको चयन गरिएको थियो।
‘बमको दैनिक गतिविधि निगरानीपछि उनीहरूले जेठ १३ गते उनको हत्या प्रयास गरेका थिए। त्यस दिन न्यायाधीश बमसँगै उनको परिवारको सदस्य पनि कारमा आएपछि उनीहरूले योजना स्थगित गरे,' अनुसनधानस्रोतले भन्यो, ‘जेठ १८ गते बंगलामुखी मन्दिरबाहिर हत्या गर्ने योजना बनाए पनि भिडभाडले सम्भव नभएपछि त्यही दिन शंखमुलमा योजना कार्यान्वयन गरेको देखियो।'
न्यायाधीश बम एक सुरक्षाकर्मी मात्र लिएर ट्याङलाफाट क्षेत्रमा दैनिक मर्निङ वाक गर्थे। योजना कार्यान्वयन गर्न र भाग्न शंखमुलभन्दा ट्याङलाफाँट सहज थियो। तैपनि उनीहरूले चल्तीको सडक रोजे।
‘बमको हत्या मात्र हाम्रो योजना थिएन, हत्यासँगै धेरै जनाले घटनाबारे थाहा पाऊन् र पार्टीको नाम प्रचार होस् भन्ने थियो,' थापाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘योजना सफल त भयो, तर प्रहरीले प्रारम्भमै शंका गर्दा अन्य योजना कार्यान्वयन गर्न सकिएन।'
प्रकाशित: २३ पुस २०७१ १९:५९ बुधबार





