वर्तमान समयका भारतीय युवाले त प्रेमचन्द वा शरत्चन्द्रको नाम पनि नसुनेको हुन सक्छ। यो पुस्तालाई भगतको उपन्यास नै भारतको खास साहित्य हो जस्तो लाग्न सक्छ। चुलबुले मनका युवापुस्ता भगतका पाठक हुन्। र, उनको उद्देश्य पनि सोही पुस्तामा आफ्नो पकड जमाउनु रहेको देखिन्छ। त्यसमा उनी सफल छन्।
झन्डै डेढ अर्ब जनसंख्या रहेको भारतमा थोरै प्रतिशत जनतामा मात्रै पनि आफ्नो प्रभाव कायम गर्नु व्यावसायिक हिसाबले सफल हुनु हो। तर, नेपालको परिप्रेक्ष्य अलि फरक छ। बजारमाग हेरेर साहित्य लेख्नेहरू यहाँ असफल भएका उदाहरण छन्। विगतमा गम्भीर साहित्य लेखेर पाठकका मनमा बलियो स्थान बनाएका केही लेखक यतिखेर सतही लेखनमा ओर्लिएका छन्। तिनको उद्देश्य दुईथरि रहेका पाइन्छ। पहिलो, आर्थिक लाभ गर्नु र, दोस्रो 'पपुलर' बन्ने लोभ गर्नु। तर, तिनका दुवै उद्देश्य परिपूर्ति नभएको अवस्था पनि छ। अथवा एउटा अर्थात् केही आर्थिक लाभ भने तिनलाई भएको छ। यहाँ एउटा प्रश्न उठ्छ– साहित्यका पनि 'टार्गेटेड गु्रप' हुन्छ? कि साहित्य सबैका निम्ति र सधैंका निम्ति हुनुपर्छ? खुल्ला बजार अर्थशास्त्रको सिद्धान्तले भन्छ– सबै वस्तु सबैका निम्ति र सधैंका निम्ति हुन सक्दैन। त्यसैले 'टार्गेटेड गु्रप' पहिचान गर्न सक्नुपर्छ। अन्यथा, उत्पादित वस्तु नचल्न सक्छ। व्यवसाय डुब्न सक्छ। अब साहित्य पनि 'वस्तु' नै त भइसकेको छ! चाउचाउ वा पेय पदार्थले जस्तै पुस्तकले पनि बजार अध्ययन र प्रवर्द्धन गर्नुपर्ने अवस्था जो अहिले छ। त्यसैले अब साहित्य पनि सबैका निम्ति र सधैंका निम्ति नहुन सक्छ। नेपालको सन्दर्भ पनि योभन्दा पृथक छैन।
गम्भीर साहित्यकारका रूपमा भगतलाई नलिए पनि उनले युवा मन तथा सांस्कृतिक परिवर्तनको ज्वलन्त चित्र उतारेका छन्, आफ्नो लेखनीमार्फत। उनको सर्वाधिक रुचाइएको पुस्तक 'ह्वाट योंग इन्डिया वान्ट्स' पुस्तकमा रहेका निबन्ध तथा टिप्पणीमा झिनामसिना लाग्ने विषय उठाइएका छन्। तर, तेस्रो विश्व भनिएका मुलुकका बासिन्दाको जीवन, भारतीय जनताका आदत, संस्कृति, आर्थिक उन्नतिजस्ता जल्दाबल्दा विषयमाथि त्यसमा कडा प्रहार गरिएको छ। यसबाट के स्पष्ट हुन्छ भने लेखाइको सहजता भन्नु सतही साहित्य होइन। त्यसले बोकेको विषय, उठाइएका मुद्दा, उभ्याइएका पात्र, त्यसको उद्देश्यले गम्भीर र सतहीबीच विभाजनको रेखा कोर्छ। यस अर्थमा पनि भगतको 'ह्वाट योंग इन्डिया वान्ट्स' पुस्तकलाई गम्भीर साहित्यको कोटीमा राख्न सकिन्छ।
तर, अप्ठेरोचाहिँ के छ भने सीमारेखा नै कोरेर कस्तो साहित्यलाई गम्भीर र कस्तोलाई सतही भन्ने निर्क्यौल गर्न गाह्रो छ। यसको मापदण्ड के हो? गम्भीर र सतहीको 'कित्ताकाट' कसले गर्ने? भाषा–साहित्यको उत्थानको ठेक्का लिएर बसेका नेपाल प्रज्ञा प्रतिष्ठान, साझा प्रकाशन वा त्रिभुवन विश्व विद्यालय (नेपाली विभाग) बाट यस्तो गम्भीर कार्य हुन सक्दैन। प्रज्ञाले अहिले साहित्यिक उत्थान गर्दैन, राजनीतिक दलको भजनमात्र गाउँछ। अब त्यहाँ कुनै साहित्यकार, भाषाविद्, संस्कृतिकर्मी होइन, सत्तारूढ पार्टीका विभिन्न तहका कार्यकर्ता–नेता भागबण्डामा नियुक्त हुन्छन् भन्ने तथ्य यसपटक उक्त संस्थामा नियुक्त भएका पदाधिकारी हेर्दा स्पष्ट भएको छ। विडम्बना नै हो, राजनीतिक भागबण्डाको थलो बन्नपुगेको छ प्रज्ञा। त्यहाँ कार्यकारी बनेका अधिकांश अनुहार कहिल्यै नेपाली साहित्य (वाङ्मय) को मूलधार त के त्यसको छेउछाउसम्म पनि नआएका व्यक्ति छन्। त्रिविको अवस्था पनि प्रज्ञाको भन्दा फरक छैन। साझाको त झन् के कुरा भयो र? करिब वर्ष दिनदेखि यो संस्था कोमामा गएको छ।
आजसम्म गम्भीर कुन र सतही कुन भनी 'दूधको दूध पानीको पानी' भनेजसरी छुट्याउने यन्त्र पनि बनेको छैन। यही कारण संसारभर नै 'पप लिटरेचर', 'पप कल्चर'का बहसहरू घनिभूत रूपमा हुन थालेका छन्। यसमा संसार हल्लाउने इटालियन बामपन्थी चिन्तक–लेखक एन्टोनियो ग्राम्सीले सांस्कृतिक आधिपत्य (कल्चरल हिजेमनी) बारे आजभन्दा झन्डै आठ दशकअघि नै आफ्ना धारणा अघि सारेका थिए। सांस्कृतिक थिचोमिचोबाट उत्पन्न हुने साहित्यिक–सामाजिक–बौद्धिक असरले मान्छेको आर्थिक तथा समग्र जीवनस्तर कस्तो बनाइदिन्छ भन्नेबारे उनको धारणा आज पनि सान्दर्भिक लाग्छ। छिमेकी भारतका लेखक सुधीश पचौरी पनि यस विषयको खोज अनुसन्धानमा लामो समयदेखि लागिपरेका छन्।
नेपाली साहित्य एकदम मौन रहन मन पराउँछ। यहाँ गम्भीर साहित्य र सतही साहित्य (कला–संगीत पनि) बारेको बहस भुसको आगोझैं भित्रभित्रै सल्किरहेको छ, सतहमा भने अझै आउन सकेको छैन। दशकौंदेखि नेपाली साहित्यलाई उत्कृष्ट सृजनामार्फत योगदान दिँदै आएका अग्रज लेखक देखिनेगरी बहसमा उत्रन चाहँदैनन्। उनीहरू भित्रभित्रै छटपटिन थालेको लामो समय भइसकेको छ। अब तिनका निम्ति कसै न कसैले मुख खोल्न आँट गर्नैपर्छ। तथापि, यो एउटा बहसको विषयमात्रै हो। आ–आफ्नो रुचि, क्षमता, उद्देश्यअनुरूप लेखनको तह चयन गर्ने अधिकार हरेक लेखकलाई छ। त्यस्तो अधिकारको सम्मान हुनु पनि पर्छ। सतही साहित्य छ र नै गम्भीर साहित्य पनि छ। जसरी झुठ छ र नै सत्यको महŒव छ। अँध्यारो छ, त्यसैले उज्यालोको प्रतीक्षा तीव्र छ।
गम्भीर साहित्यले सधैं मान्छेको जीवनका विविध आयामको खोज गर्छ। त्यसले आफू उभिएको जमिन र माटोसँग निकटता राख्छ। र, त्यसलाई आकर्षक तथा कलात्मक ढंगमा प्रस्तुत गर्छ। एउटा गम्भीर साहित्य कुनै स्थापित मान्यताको बाटोमा हिँड्दैन, यसले आफ्नै छुट्टै र नयाँ बाटो निर्माण गर्छ। त्यो कहिल्यै पुरानो लाग्दैन, जतिपटक पढे पनि केही न केही नयाँ कुरा त्यसमा पाइएको अनुभूति पाठकले गर्छ। गम्भीर साहित्यमा चरित्रको विकास गहिराइसम्म पुगेर गरिएको हुन्छ। कतिपय अवस्थामा यसका पात्र हामीलाई आफ्नै मान्छे वा वरिपरिका देखिरहने मान्छेजस्ता लाग्छन्। कहिलेकाहीँ त पुस्तकमा वर्णित पात्र स्वयं आफैं नै पो हो कि भन्ने पनि भान हुन्छ। जब कि सतही साहित्यमा उभ्याइएका पात्र हामीलाई आफ्नो लाग्दैन। परचक्री वा पराईजस्तो लाग्छ। कुनै अर्कै ग्रहको जीवजस्तो लाग्छ। तिनका दुःख, सुखले हामीलाई पटक्कै छुँदैनन्। गम्भीर साहित्यले हामीलाई सधैं केही न केही सिकाइरहेको हुन्छ। त्यसलाई पढेपछि हामी भन्छौं- 'वाह्, क्या गज्जब!'
कहिलेकाहीँ पाठकको उद्देश्यमा पनि गम्भीर साहित्य र सतही साहित्यको परिभाषा निर्भर रहन्छ। स्वास्थ्यका लागि हानिकारक छ भन्ने थाहा पाउँदापाउँदै पनि उपभोक्ताले कहिलेकाहीँ रक्सी, चुरोट पिउँछन्, 'जंकफुड' पनि खान्छन्। सायद यस्तै अवस्था हो सतही साहित्यको बजारवृद्धिको पनि। कहिलेकाहीँ 'जंकफुड' पनि त खाइन्छ!
गम्भीर साहित्यले समातेको विषय दीर्घकालीन र विश्वजनिन हुन्छ। त्यसको आयु लामो र पढ्दा सुमधुर संगीतको ध्वनि गुन्जायमान हुन्छ मनमा। पढिसकेको लामो समयसम्म पनि त्यसको ध्वनि मनमा तरंगित भइरहेको हुन्छ। तर, सतही साहित्यले क्षणिक मनोरञ्जन दिन सक्छ, पढिसकेपछि त्यसले 'आहा', 'वाह्' भन्ने शब्द पाठकको मुखबाट निकाल्ने हैसियत राख्दैन। चीनको खासावरपर बनेका स्वेटर र हातैले बुनेका स्वेटरमा के फरक हुन्छ? सम्भवतः त्यस्तै फरक हुन्छ, गम्भीर साहित्य र सतही साहित्यका बीचमा।
हामी कतिपय अवस्थामा आफ्नो सौन्दर्यचेत, बुझाइको घेरा, व्यक्तिगत रुचिजस्ता कुराका आधारमा पनि गम्भीर र सतहीको फरक छुट्याउने प्रयत्न गर्दछौं। यतिखेर भने कसैका निम्ति सतही साहित्य कसैका निम्ति साहित्यिक सम्पदा बनिदिन्छ। छन्दका कवितालाई नै साहित्यको समग्रता देख्ने आँखाले विकृत राजनीतिका विषयमा लेखिएका आख्यान वा कवितालाई नै पनि साहित्य मान्छ कि मान्दैन? हिमाल, पहाड तथा प्राकृतिक सुन्दरताको बयान गरेर नथाक्ने लेखकले मान्छेका दुःखरूपी पहाडको कलात्मक प्रस्तुतिलाई के भन्छ? फरक यहीँनेर छ। अहिले विश्वेश्वरप्रसाद कोइरालाको तीन घुम्ती, सुम्निमा वा नरेन्द्र दाइ पढिन्छ कि सोही समयका लेखक युधीर थापा अथवा प्रकाश कोविद, वसन्त पढिन्छ? गम्भीर साहित्यका अध्येताले कोविद, थापा वा वसन्त अहिले सम्झँदैनन्, सम्झनु पर्दा वा नेपाली क्लासिक आफ्नो पुस्तक र्यामकबाट झिक्नुपर्दा उही कोइराला, उही पारिजात, उही देवकोटा नै खोज्छन्। भारतमा पनि उस्तै हो, पढन्तेहरूले भगतलाई उतिविधि नहेर्न सक्छन्, उही प्रेमचन्द, उही शरत्चन्द्र वा उही निर्मल वर्मा खोज्छन्। तिनका पुस्तक र्या्कमा कुनै शिवानी वा रानु सुरक्षित नहुन सक्छ।
सतही साहित्यले 'कला कलाका लागि' भन्ने उद्देश्य समातेको हुन्छ भने गम्भीर साहित्यले 'कला जीवनका लागि' भन्दै आएको छ। शब्दको थुप्रो र उडन्ते कल्पनाको डंगुर हो सतही साहित्य। तिनको सरोकार जीवन र जगत्सँग रहन्न। संसारका सामाजिक यथार्थवादी लेखकहरूले सोही कारण नै १९औं शताब्दीमै 'आर्ट फर आर्टस् सेक'को विरोध गर्दै साहित्य तथा कला नैतिक र शिक्षाप्रद हुनुपर्ने तर्क अघि सारेका हुनुपर्छ।
आफूले लेख्ने विषयका सन्दर्भमा लेखकसँग जम्माजम्मी दुई वटा बाटा छन्। बजार मागअनुरूप ओर्लेर साहित्य लेख्ने कि बजारलाई अलिकति उचाल्दै बिस्तारै गम्भीरतातिर डोर्याीउने? तुलनात्मक रूपमा पहिलो बाटो सहज छ, दोस्रो बाटो अलि जटिल छ। कठिन बाटो हिँडेर गन्तव्यमा पुग्नु पो सफलता त, सजिलो बाटो हिँडेर त जो पनि गन्तव्यमा पुगिहाल्छ नि!
प्रकाशित: १८ पुस २०७१ २३:०९ शुक्रबार





