५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

'कलाकारले घमण्ड गर्ने आधार के ?'

रंगमञ्च हुँदै फिल्ममा आइपुगेका हुन्, सुवास थापा। 'अग्निको कथा', 'कोर्ट मार्सल'जस्ता नाटकमा उम्दा अभिनय गरेका सुवासले 'कोही मेरो', 'भिजिलान्ते', 'फेसबुक', 'बिर्खेलाई चिन्छस् ?' जस्ता फिल्ममा पनि तारिफयोग्य काम गरेका छन्। उनीसँग धनबहादुर खड्का र सजना बरालले गरेको अन्तरंग कुराकानीः
 

राम्रा भनिएका नेपाली फिल्म बजारमा चलिरहेका छैनन्। किन यस्तो भइरहेको होला ?
फिल्म भनेको कलामात्रै होइन। यो कमोडिटी (बेच्ने वस्तु) पनि हो। यो वस्तु बजार नीतिसँग जोडिएको हुन्छ। त्यसका विषयवस्तु अहिलेका मान्छेलाई सान्दर्भिक लाग्छन् कि लाग्दैनन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। बनाउनेलाई कथावस्तु राम्रो लागे पनि हेर्नेलाई राम्रो नलाग्न सक्छ। फेरि, अहिले हामीसँग छनोटका सुविधा पनि धेरै छन्। बलिउड, हलिउडका फिल्म हुँदाहुँदै नेपाली फिल्म किन हेर्ने ? भन्ने प्रश्न पनि उठ्छ। यी भनेका अनुसन्धानका विषय हुन्।
 
नेपाली फिल्ममा के–के चिजचाहिँ हुनैपर्छ जस्तो लाग्छ ?
आधारभूत रूपमा हाम्रा फिल्ममा नेपालीपन हुनुपर्छ। त्यो भनेको हामीले देखेभोगेका विषयमा फिल्म बन्नुपर्छ। हाम्रा सपना र आवश्यकता फिल्ममा प्रतिविम्बित हुनुपर्छ। र, फिल्म निर्माता÷निर्देशकलाई मात्रै होइन, दर्शकलाई पनि 'अपिलिङ' लाग्ने खालको हुनुपर्छ।
 
यी सबै चिज जान्दाजान्दै पनि तपाईं संलग्न र तपाईंले बनाएका फिल्म पनि खासै चलेका छैनन्। किन होला ?
बिर्खे (लाई चिन्छस् ?) मा काम गर्दा मैले नेपाली दर्शकको नाडी छाप्ने प्रयास गरेको थिएँ। त्यसकारण त्यसलाई मैले विशुद्ध 'आर्ट मुभी' बनाइनँ। त्यसमा 'कमर्सियल' तत्त्व पनि मिसाएँ। यो फिल्म बबाल चलेर, करोडौँ नाफा कमाउला भन्ने सोचेको थिइनँ। यस हिसाबले फिल्म जति चल्नुपर्ने हो, त्यति नै चल्यो। जुन किसिमको विषयवस्तु थियो र त्यसका लक्षित दर्शक जति थिए, त्यहीअनुरूप फिल्म चल्यो। यसर्थ, म सफल भएँ भन्ने लाग्छ।
 
'बिर्खे...' भन्दा अघि पनि थुप्रै फिल्म खेल्नुभयो। ती पनि चलेनन्। यद्यपि, तपाईंको अभिनयलाई राम्रो मानिँदै आएको छ। फिल्मको हकमा चाहिँ तपाईंलाई भाग्यले नै साथ नदिएको हो कि ?
म भाग्यले साथ दिएको होइन, कर्मले टिकेको कलाकार हुँ। यसकारण भाग्यलाई दोष दिन्नँ। तर, भएको चाहिँ के भने, मैले 'कोही मेरो' मा नायकका रूपम डेब्यू गरेँ। दर्शकले मलाई नायककै रूपमा स्विकारेका थिए। तर, त्यसपछिका फिल्ममा मैले नायक भएर अभिनय गर्न पाइनँ। मान्छेको अपेक्षाअनुसार काम नगरेकाले पनि कतै चुकेँ कि ? तर, मैले अभियन गरेका पात्रलाई रुचाइएको छ। 'फेसबुक' को खलपात्रदेखि 'भिजिलान्ते'को पात्रसमेत हिट नै भयो। म एकजनाले राम्रो गर्दैमा समग्र फिल्म राम्रो बन्ने होइन। मैले आफ्नो पात्रलाई न्याय गर्ने कोसिस गरेँ, तर पब्लिसिटीमा निर्मातालाई दक्खल दिन सकिनँ। निर्देशकलाई थप 'आइडिया' दिने अधिकार मसँग छैन। कलाकारको ठाउँबाट काम गरिरहेको छु म।
 
फिल्म नचले पनि तपाईंको व्यस्तता नघट्नुको कारणचाहिँ के हो ?
म कलाकारको धर्म निर्वाह गरिरहेको छु नि त। तर, फिल्म नचल्नुमा चाहिँ अचेल अलिअलि भाग्यको खेल पो हो कि, जस्तो पनि लाग्न थालेको छ। तर, भाग्य भनेको कर्मले बनाउने चिज हो। कर्म गर्दैछु। अब 'तथास्तु' आउँदैछ। योप्रति चाहिँ निकै आशावादी छु।
 
कलाकारहरू आ–आफ्ना 'इमेज' बनाउन खोज्छन्। कोही हिरोका रूपमा चिनिन खोज्छन्, कोही भिलेनका रूपमा। तपाईंले हिरोदेखि भिलेनसम्मका रोल गरिसक्नुभएको छ। खासमा कस्तो पात्र भएर चिनिन चाहनुहुन्छ ?
यस्तो पात्र जो नहुँदा फिल्म अपूरो होस्, मलाई यति भए पुग्छ। आजभोलि 'हिरो' को व्याख्या फेरिइसक्यो। हिजोका दिनमा सामाजिक मूल्य र मान्यताका पक्षमा लड्नेलाई हिरो भनिन्थ्यो। आज, हिरोको परिभाषा व्यापक भइसकेको छ। यसकारण मलाई आफू जुनसुकै रूपमा देखिए पनि त्यसले स्क्रिप्टमा केही माने राखिदियोस् भन्ने लाग्छ। मेरो पात्रले सम्रग फिल्मलाई नै दिशा देओस् भन्ने चाहन्छु।
 
मान्छेहरू तपाईंलाई घमण्डी भन्दा रै'छन्...
जो मान्छे आफ्नो विचार स्पष्ट राख्छ, उसलाई घमण्डी भनिँदो रहेछ यहाँ। कतिपय ठाउँमा म 'कम्प्रोमाइज' गर्दिऊँ न त भनेर चुपचाप अरूको कुरा सुन्दिनँ। आफ्नो भनाइ पनि राख्छु। आफ्नो विचार राख्नुलाई घमण्डको रूपमा लिइदो रहेछ। चित्त नबुझेको कुरामा मैले सोधपुछ गरेँ भने 'यो जान्ने हुँदो रैछ, हामीलाई प्रश्न गर्ने ?' भन्न थाल्छन्। रोचक कुरा त के भने मलाई चिनेका, मसँग काम गरेका मान्छेले मलाई घमण्डी भन्दैनन्। मसँग कामै नगरेकाहरूले फिँजाएको हल्ला हो यो।
 
पार्टी–साटीमा त्यति जानुहुन्न रे। यस्तो चालाले फिल्मी करिअरमा धक्का लाग्दैन ?
म पार्टीमा वा कुनै सोसल–ग्यादरिङमा जान्छु कि जान्नँ भन्दा पनि म काम कस्तो गर्छु भन्ने कुरा महत्त्वपूर्ण हो। जुन दिनदेखि पार्टीमा बढी र काममा कम ध्यान दिन थाल्छु, त्यही दिनदेखि म सकिन्छु। म म नै रहन जरुरी छ। मेरो गुरु सुनील पोखरेल पनि भन्नुहुन्छ, 'तिमी जे छौ, त्यसमै अडिग रहू।' त्यसकारण, म आफ्नै सानो परिधिभित्र खुशीसाथ बसिरहेको छु।
 
तपाईंले टीकाटिप्पणी गरेका कुराहरू बेलाबेला 'कन्ट्रोभर्सी' का रूपमा आइरहेका हुन्छन्। यस्ता हर्कत गर्नुको कारण के होला ?
नेपाली फिल्ममा अहिले 'आइकन' छैनन्। पहिले–पहिले राजेश हमालको नक्कल गर्नेहरू प्रशस्त थिए। केही अघिसम्म रेखा थापालाई पनि पिछा गरे मान्छेहरूले। तर, अहिले राजेश र रेखाजस्ता 'आइकनिक फिगर' हामीसँग छैनन्। यस्तो अवस्थामा हामीले बलिउड, हलिउडको नक्कल गरेर बस्यौँ भने हाम्रो भविष्य के होला ? सक्कली चिज हुँदाहुँदै को नक्कली हेरेर बस्छ ? त्यसकारण, हामी आफैँलाई 'आइकन' बनाउन अग्रसर होऔँ भन्नका लागि मैले टिप्पणी गर्ने गरेको हुँ। मेरो टिप्पणी कुनै व्यक्ति विशेषलाई होइन, समग्र प्रवृत्तिलाई हो। समाज रूपान्तरणमा सबैले आ–आफ्ना तर्फबाट प्रयास गर्नुपर्छ। मैले कलाकारको तर्फबाट गर्न खोजेको हुँ।
 
यतिविघ्न कलाकार छन्। त्यही पनि किन कोही 'आइकनिक फिगर' बन्न नसकिरहेको हो त ?
कलाकारलाई 'म के गरिरहेको छु र कसका लागि गरिरहेको छु' भन्ने कुराको स्पष्ट जानकारी नभएर। मेरा लागि त कुचीकारहरू आइकन हुन् अहिले। उनीहरू शहर सफा गरिरहेका छन्। मेरा लागि सुनील सर आइकन हुनुहुन्छ। उहाँले नेपाली रंगमञ्चलाई जटिल समयबाट उठाएर यहाँसम्म ल्याइपुर्‍याउनुभयो। हामीले के गरेका छौँ ? मैले के गरेको छु ? केही न केही। अपार्टमेन्टमा बस्छु। आफ्नै गाडीमा हिँड्छु। तर, समाजलाई के दिएको छु मैले ? कलाकार भएकोमा घमण्ड गर्ने आधार के छ मेरो ? कलाकार आइडेन्टिटी कार्ड माग्ने हामीले समाज रूपान्तरणमा के भूमिका खेलेका छौँ ? कसले पत्याएको छ हामीलाई ? यस्ता विविध प्रश्न छन्। जसको उत्तर दिन हामी बारम्बार चुकेका छौँ। त्यसकारण हामी आइकन बन्न सकिरहेका छैनौँ।
 
यो क्षेत्र र यहाँभित्रका प्रवृत्तिसँगको तमाम असन्तुष्टिबीच पनि काम गरिरहनुभएको छ। दिक्क लाग्दैन ?
म एक तरिकाले सोच्छु, मसँग काम गर्नेले अर्को तरिकाले सोच्छ। हामीबीच मतभेद हुन्छ। र, त्यसले द्वन्द्व निम्त्याउँछ। त्यही द्वन्द्वले सिर्जनाको मूल फुटाउँछ। समाज रूपान्तरण हुने तरिका हो यो। त्यसकारण मलाई अहिलेको अवस्था देखेर रमाइलो लागिरहेको छ। आफ्नो विचारमा प्रस्ट भइसकेपछि मान्छेलाई दिक्क पनि लाग्दैन। म त अभिनय गर्दागर्दै मर्न पाऊँ भन्ने चाहन्छु। फेरि, म अहिले दार्शनिक लेभलबाट सोचिरहेको छु। त्यसैले पनि यी घिसिपिटी चिजले सताउँदैनन्।
 
कसरी आइपुग्नुभयो अभिनय क्षेत्रमा ?
म भक्तपुरको रैथाने हुँ। यो ठाउँ सांस्कृतिक रूपले सम्पन्न छ। जात्रापर्वले सानैदेखि नाचगानमा रुचि जगाइदिए। अलि ठूलो भएपछि मलाई 'म को हुँ ?' भन्नेबारे धेरै जिज्ञासा हुन थाल्यो। आफ्नो पहिचान खोज्न थालेँ। त्यही बेला नाचघरमा अभिनयको तालिम लिन थालेँ। तालिम सकिएपछि सुनील सरले गुरुकुल लग्नुभयो। नाटक खेल्न थालेपछि मेरो तौरतरिका नै फेरियो। मेरो सोचाइ पनि बदलियो। नाटकमै डुब्न थालेँ। त्यो प्यासन अझै पनि उस्तै छ।
 
फिल्म खेल्न थालेपछि नाटकतिर कम सक्रिय हुनुहुन्छ...
समय मिल्दैन। बाहिरफेर कुद्नुपर्छ। त्यसैले नाटक छुटिरहेको हो। यसमा दुःख छ मलाई। थोरै मान्छेले हेर्ने भए पनि नाटक विस्तारित हुन्छ। फिल्म चाहिँ ठूलो मासमा जान्छ, तर खुम्चिन्छ। केही वर्षअघि मैले 'अग्निको अथा' मा गरेको अभिनयको तारिफ गर्ने अझै छन्। त्यसमा मैले भिक्षु भएर खेलेको थिएँ। त्यो भिक्षु ज्ञानको खोजीमा कहाँ–कहाँ चहार्छ र अन्त्यमा गुम्बामै फर्किन्छ। मलाई आफू पनि त्यही भिक्षुजस्तै लाग्छ। रंगमञ्चबाट यात्रा सुरु गरेर अहिले फिल्म, मोडलिङतिर चहार्दै छु। पछि रंगमञ्चमै फर्किन्छु। आफू पात्रमा मिसिने त छँदै छ। कहिलेकाहीँ पात्र नै आफूभित्र आइदिँदो रहेछ।
 
नाटक र फिल्मबीचको सम्बन्ध कस्तो छ ?
नाटक अहिले फेशनजस्तो भएको छ। नाटकप्रति मान्छेको अषेक्षा यति बढेको छ कि नाटकको अगाडि फिल्मलाई असाध्यै कमजोर ठानिन थालिएको छ। दर्शक पूर्वाग्रही बन्न थालेका छन्। नाटक हेर्न जाँदा पहिल्यै पोजेटिभ भएर जान्छन् भने फिल्म हेर्न जाँदा 'हेर्दिऊँ न' भन्ने मानसिकतासाथ। मल्टिप्लेक्स हल आएदेखि दर्शक झनै भाँडिए। मान्छेले के हेर्न खोजेको र हामीले के देखाउन खोजेको भन्ने बीच ठूलो अन्तर कायम छ। यो हाम्रा लागि चुनौती हो।

प्रकाशित: १८ पुस २०७१ १०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App