राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजना गरेको 'परिवर्तन उद्घोष सभा' कार्यक्रम स्थलमा समर्थकहरू आउन थालेका छन्।
सोमबार दिउँसो १ बजेदेखि सुरु हुने भनिएको कार्यक्रममा बिहानैदेखि रास्वपा समर्थकहरू तिरहुतिया गाछीमा आएर 'अब कि बार बालेन सरकार' नारा लगाउँदै घण्टी बजाइरहेका छन्।
गाउँ-गाउँबाट आएका युवा तथा वृद्धहरू अहिले तिरहुतिया गाछीमा विभिन्न संचार माध्यममा अन्तर्वार्ता दिँदै रास्वपा वरिष्ठ नेता बालेन्द्र साह 'बालेन' को समर्थनमा 'अब कि बार बालेन सरकार' भनेर नारा लगाइरहेका छन्।
आज हुने कार्यक्रममा १८ देखि २० हजारसम्म मानिसहरूको सहभागिता रहने रास्वपाका प्रवक्ता मनिष झाले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए।
तिरहुतिया गाछीमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्न बालेन आइतबार साँझ जनकपुर आएका हुन्। जनकपुरमै रात्रि बास बसेका बालेन सोमबार बिहानै जानकी मन्दिरमा पूजापाठ गरेर सिरहाको लहान प्रस्थान गरेका छन्।
सिरहाको लाहान पुगेर बालेन मधेस आन्दोलनको प्रथम सहिद रमेश महतो सालिकमा माल्यार्पण गरेका छन्।
प्रकाशित: ५ माघ २०८२ १२:१७ सोमबार





