१३ पुस २०८२ आइतबार
image/svg+xml
अन्य

पाँच बालिका बलात्कार आरोपमा पक्राउ

रौतहट-पाँच बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। चन्द्रपुर नगरपालिका–४ पहरीटोलका ४५ वर्षीय भक्तबहादुर राईले छिमेकका पाँच बालिकालाई लामो समयदेखि पालैपालो बलात्कार गर्दै आएको खुलेको हो। पीडित बालिका ७ देखि १० वर्षसम्मका छन्।पुस १० गते क्रिसमस डेका दिन राईको घरमा बालिकाहरू चिच्याएको सुनेपछि स्थानीयले गएर हेर्दा बलात्कार गरिरहेको रंगेहात फेला परेको थियो। घटनालगत्तै भाग्न सफल भए पनि पीडितका आफन्तले राईको खोजी जारी राखेका थिए। सोही क्रममा सोमबार भेटिएपछि स्थानीयले राईलाई प्रहरीको जिम्मा लगाएका छन्। 
रिक्साचालक राईले विगत दुई सातादेखि ती बालिकालाई बलात्कार गर्दै आएका हुन्। उनले ५० देखि १ सय रुपैयाँ र चाउचाउ–बिस्कुट दिएर फकाउने गरेको पीडितले बताएका छन्। राईले प्रत्येक बालिकालाई चारपटकसम्म बलात्कार गरेको उनीहरूको भनाइ छ। 
राईलाई कारबाही माग गर्दै पीडित अभिभावक महिलाअधिकारकर्मीसहित सदरमुकाम गौर आइपुगेका छन्। जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउने क्रममा सबै बालिकाले बलात्कारपछि राईले ‘कसैलाई बताए मारिदिने धम्की दिने गरेको' बताए। ‘कसैलाई बताए मारिदिन्छु भन्थ्यो,' एक बालिकाले भनिन्, ‘कसैलाई चाउचाउ बिस्कुट त कसैलाई पैसा दिएर फकाउँथ्यो।' 
प्रहरीमा उजुरी दर्तापछि मंगलबार सबै बालिकाको जिल्ला अस्पताल गौरमा स्वास्थ्यपरीक्षण गरिएको छ। परीक्षणमा पाँचै बालिकामाथि बलात्कार भएको भेटिएको चकित्सक रञ्जित यादवले बताए। पीडककी छोरी सुषमा राई पिताको यस्तै हर्कतका कारण आमा घर छाडी वैदेशिक रोजगारीमा गएको बताउँछिन्। उनी पनि पितालाई कारबाही माग गर्दै अधिकारकर्मी र पीडितसँगै सदरमुकाम आएकी छन्। ‘गलत काम गर्ने जो भए पनि कारबाही हुनुपर्छ,' उनले भनिन्। 
नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य तथा महिलाअधिकारकर्मी गीता भारतीले राईले यसअघि पनि टोलका अन्य महिला तथा बालिकामाथि यौनहिंसा गर्ने गरेको खुलेको बताइन्। नाबालिकामाथि बलात्कार गर्ने राईलाई हदैसम्म कारबाही हुनुपर्ने माग उनले गरिन्। बलात्कारको सिकार भएका पाँचै बालिकालाई महिला तथा बालबालिका सेवा केन्द्र गरुडामा काउन्सिलिङमा राखिने महिला सुरक्षा दबाब समूहकी जिल्ला अध्यक्ष देवकी नेपालले बताइन्। ‘दोषीलाई हदैसम्म कारबाही नभए संघर्षमा उत्रन्छौं,' उनले भनिन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सानुबाबु थपलियाले राईलाई हिरासतमा राखी अनुसन्धान थालिएको जानकारी दिए। ‘कसुरअनुसारको सजाय दिलाउने गरी कारबाही अघि बढाउँछौं,' उनले भने।

प्रकाशित: १५ पुस २०७१ २०:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App