
अहिलेको तन्नेरी पुस्ता यस्ता पललाई तस्बिरमा कैद गर्नमात्र चाहँदैन, सारा संसारसँग बाँड्न पनि चाहन्छ। क्यामराबाट फोटो खिचेर फेसबुक, टि्वटरमा अपलोड गर्ने जमाना पुरानो भइसक्यो, यो ‘इन्स्टा' जेनरेसनका लागि। अहिले उनीहरु स्मार्टफोनको ‘इन्स्टाग्राम' मा अपलोड गरिहाल्छन्। मन लागे यसैबाट अन्य सोसल मिडियामा पनि सेयर गर्छन्, नत्र इन्स्टाग्रामकै नेटवर्कमा राख्छन्।
इन्स्टाग्राम अनलाइन मोबाइल फोटो–भिडियो सेयरिङ र सोसल नेटवर्किङ सेवा हो। फोटो र भिडियो खिचेर यसमार्फत फेसबुक, टि्वटर, टम्बलर र फ्लिकरमा सेयर गर्न सकिन्छ। १५ सेकेन्डसम्मको भिडियो र ‘स्क्वायर' साइजमा थरीथरीका फिल्टर राखेर फोटो पोस्ट गर्न सकिन्छ।

केभिन सिस्ट्रोम र माइक क्रिगर नामका दुई सफ्टवेयर इन्जिनियरले सन् २०१० अक्टोबरमा सार्वजनिक गरेको इन्स्टाग्रामको ३० करोडभन्दा धेरै प्रयोगकर्ता छन्। सन् २०१२ अप्रिलमा फेसबुकले इन्स्टाग्राम करिब १ अर्ब अमेरिकी डलरमा खरिद गरेपछि यो अझै चर्चित हुँदै गएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि चर्चित सुपरस्टार अमिताभ बच्चन, आमिर खान, साहरुख खानसम्म इन्स्टाग्राम प्रयोग गर्छन्।
अहिले हातमा स्मार्टफोन हुने र इन्स्टाग्राममा सक्रिय व्यक्ति कुनै प्रोफेसनल फोटोग्राफरभन्दा कम हुँदैन। नयाँ दिल्लीस्थित साउथ एसियन विश्वविद्यालयमा अध्ययन गर्दै आएकी काठमाडौंकी ज्योतिका रिमाललाई पहिला इन्स्टाग्राम भन्ने के होलाजस्तो लाग्थ्यो। जब हातमा स्मार्टफोन पर्योा, तब थरीथरीका एप डाउनलोड गर्न थालिन्। पहिलेदेखि नै मोबाइलबाट फोटो खिच्न रुचाउने उनलाई इन्स्टाग्राम हालेपछि त फोटोग्राफीको लत नै बस्यो। ‘फोटोग्राफीमा पहिल्यैदेखि एकदम रुची थियो। सधैं फेसबुकमा सेयर गरिरहने कुरा भएन, इन्स्टाग्राममा इफेक्ट्सको मज्जा पनि छुट्टै छ, त्यसैले इन्स्टाग्राम एडिक्सन भएको छ,' थप्छिन्, ‘दिनको एउटा फोटो नराखी चित्तै बुझ्दैन।'

इन्स्टाग्राम सोसल नेटवर्किङ हो। यसमा आफूलाई मन परेको एकाउन्टलाई पछ्याउन सकिन्छ। फोटोमाथि दुईचोटि ‘ट्याप' गरेर लाइक र कमेन्ट गर्न सकिन्छ। इन्स्टाग्राममा ६ सय २० जना फलोअर रहेका सुर्खेतमा कार्यरत मोचन भट्टराई नेपाली इन्स्टाग्राम प्रयोगकर्तामाझ चर्चित युजर हुन्। फोटो खिच्दा खुसी लाग्ने र नेपालको प्राकृतिक सौन्दर्यको प्रचार गर्न सकिने भएकाले इन्स्टाग्राममा फोटो पोस्ट गर्ने उनी बताउँछन्। ‘म धेरैजसो ल्यान्डस्केप र स्काइस्केप खालका तस्बिर पोस्ट गर्छु। त्यसबाहेक दैनिक जीवन झल्किने खालका फोटो पनि इन्स्टाग्राम एकाउन्टमा छन्,' भट्टराई भन्छन्। ह्यासट्यागको प्रयोग, इन्स्टाग्रामको आफ्नै समूह र विभिन्न प्रयोगकर्ताबाट प्राप्त हुने प्रशंसा र प्रतिक्रियाले इन्स्टाग्रामलाई अन्य सामाजिक सञ्जालभन्दा फरक बनाएको भट्टराई बताउँछन्।

उनले पोस्ट गरेका तस्बिरलाई संसारका विभिन्न स्थानबाट सञ्चालन गरिएका एकाउन्टले फिचर पनि गरेका छन्। ‘मैले धेरै फोटोमा नेपाल ह्यासट्याग राखेको छु, जुन संसारभरका प्रयोगकर्ता र इन्स्टाग्राम ग्रुपले ध्यान दिएर हेरेका छन्, ६० वटाभन्दा बढी तस्बिर फिचर भइसकेका छन्,' उनी सुनाउँछन्।

आइओएस, एन्ड्रोइड र विन्डोज फोनमा डाउनलोड गरी इन्स्टाग्राम एप्स इन्स्टल गर्न सकिन्छ। खिचिएका तस्बिरलाई ‘इन्स्टा' अर्थात् तत्काल उपयुक्त फिल्टर प्रयोग गरी इन्स्टाग्राममा पोस्ट गर्नु यसको विशेषता हो। केही महिनाअघि मात्र इन्स्टाग्रामले १५ सेकेन्डसम्मको भिडियो अपलोड गर्नसक्ने सुविधा ल्याएको छ। स्क्वायर आकारमै पोस्ट गर्न सकिने यो भिडियोमा पनि विभिन्न खालका फिल्टर प्रयोग गर्न सकिन्छ।

तीन वर्षअघि इन्स्टाग्राम चलाउन सुरु गरेका सविन सिंह सामाजिक सन्जालमा एकतारेका नामले चिनिन्छन्। फोटोग्राफीको प्लेटफार्ममार्फत् आफ्ना तस्बिर पोस्ट गर्न चाहने भएकाले पनि इन्स्टाग्राम आफ्नालागि उपयुक्त एप्स भएको उनी बताउँछन्। स्मार्टफोनबाट खिचिएका तस्बिर इन्स्टाग्रामबाट सेयर गर्न सजिलो हुने भएकाले पनि यो चर्चित हुँदै गएको उनको ठम्याइ छ। आफूले इन्स्टाग्राम चलाउन सुरु गर्दाका दिन सम्भि्कँदै उनी भन्छन्, ‘मैले फोटोग्राफीका लागि एप खोज्दै जाँदा इन्स्टाग्राम प्रयोग गर्न थालेको हुँ। त्यतिबेला म एउटा तालिममा थिएँ र मैले इन्स्टाग्राममा पोस्ट गरेको पहिलो तस्बिर मैले लेखेको नोटहरूको थियो।' सिंहको इन्स्टाग्राम टाइमलाइनमा सडक, ल्यान्डस्केप, दैनिक जीवनलगायतका तस्बिर हेर्न सकिन्छ।

नेपालमात्र होइन, विदेशमा पनि इन्स्टाग्रामका प्रयोगकर्ता बढिरहेका छन्। अमेरिकामा हालै गरिएको एक सर्वेक्षणमा टिनएजरमाझ फेसबुक र टि्वटरभन्दा इन्स्टाग्राम बढी प्रचलित भएको पाइएको थियो। त्यसबाहेक, विभिन्न सामाजिक अभियानका लागि पनि इन्स्टाग्रामको प्रयोग बढ्दै गएको छ। क्यामराको लेन्सबाट देखिएको संसारलाई सामाजिक सन्जालमा बाँड्न रुचाउने अधिकांश इन्स्टाग्रामका पारखीमध्ये अर्की एक हुन्– कञ्चन ओझा। संरक्षण क्षेत्रमा कार्यरत ओझाले दुई वर्षअघि इन्स्टाग्राम डाउनलोड गरेकी थिइन्। ‘पहिलो तस्बिर मेरै कोठाको थियो। अहिले मलाई बाँडौंजस्तो लागेको ठाउँ, मानिस र क्षणको तस्बिर इन्स्टाग्राममा हाल्छु,' उनी भन्छिन्। उनका लागि इन्स्टाग्राम एउटा ‘कम्फर्ट जोन' हो, जहाँ आफ्नो रोजाइका तस्बिर पोस्ट गर्न सकिन्छ।

केही महिनाअघि मात्र इन्स्टाग्रामले भिडियो अपलोड गर्ने सुविधा दिएपछि १५ सेकेन्डसम्मको ‘टाइमल्याप्स' भिडियो अपलोड गर्ने पनि बढ्दैछन्। प्राकृतिक दृश्य, व्यस्त ठाउँ, दैनिक जीवन र आफ्नै भिडियोसमेत प्रयोगकर्ताले तत्काल इन्स्टाग्राममा अपलोड गर्न थालेका छन्। यही नै इन्स्टाग्रामको मज्जा भएको चिकित्सक निश्चल ढकाल बताउँछन्। १ सय ३७ साताअघि इन्स्टाग्राम प्रयोग गर्न थालेका ढकालले पहिलोपटक नेपाल बन्दको दिन राजधानीको चक्रपथको दृश्य पोस्ट गरेका थिए। ‘सुरुमा इन्स्टाग्राम आइओएसका लागि मात्र आएको थियो। यसको विशेषता सुन्दा कहिले एन्ड्रोइडका लागि आउला भनेर पर्खिरहेको थिएँ' उनी सुनाउँछन्। उनी धेरैजसो आकाश, बादल र सूर्यास्तको फोटो इन्स्टाग्राममा पोस्ट गर्छन्। ‘त्यसबाहेक सांस्कृतिक र पुरातात्विक स्थानको फोटो खिच्ने पनि रहर छ,' ढकाल भन्छन्। फोटोग्राफी प्रकाश र रंगको खेल भएकाले बेला–बेलामा यसमै परीक्षण गर्न पनि उनी रुचाउँछन्। इन्स्टाग्रामलाई अरुभन्दा फरक केले बनाउँछ त? ढकालको सटिक जवाफ छ, ‘स्क्वायर फोटो र १५ सेकेन्डको भिडियोले'।

यही स्क्वायर फोटो र १५ सेकेन्डको भिडियोले अहिलेको ‘इन्स्टा' जेनरेसनलाई तानिरहेको छ। घाम अस्ताउने बेला कुनै डाँडामा बसेका साथीको समूहलाई त्यो पल यादगार बनाउन इन्स्टाग्रामले सहयोग गरिरहेको छ। यो पुस्ताले समय घर्किरहेको बुझेको छ। यो ‘इन्स्टा–जेनेरेसन' यति स्मार्ट बनिसकेको छ कि हरेक पललाई ‘क्याप्चर' गरेर ‘सेयर' गर्न अभ्यस्त भइसकेको छ।
प्रकाशित: १२ पुस २०७१ ००:०६ शनिबार





