अच्युत घिमिरे मीठो बोल्छन्। भेट्नेहरूलाई मात्रै थाहा होला, आवाज मात्रै मीठो होइन, उनको स्वभाव पनि उस्तै मिलनसार छ। उनी व्यापक सुनिन्छन् तर हतपति भेटिँदैनन्। भीडमा, अपरिचित समूहका बीच आफूलाई चिनाउन चाहँदैनन्। त्यसैले टीभीमा देखिन खोज्दैनन्, पत्रिकामा तस्बिर छाप्न मन पराउँदैनन्। तर, उनलाई ठूलो भीडले चिन्छ, उनको वाचन कौशलमार्फत। उनले उद्घोषण गर्ने 'बुलबुल' र 'श्रुति संवेग' जस्ता कार्यक्रम लोकप्रिय छन्। रेडियो एचबीसीबाट 'बोली यात्रा' सुरु गरेका उनी अहिले उज्यालो नेटवर्कमा कार्यरत छन्। उनीसँग धनबहादुर खड्काले गरेको अन्तरंग कुराकानीः
तपाईं देखिन किन चाहनुहुन्न?नदेखिनुपर्ने कुनै कारण छैन। पहिला मैले १ सय ५० भन्दा विद्यार्थीसँग तस्बिर खिचेको पनि छु। क्लास सकिँदै गर्दा उनीहरूले महसुस गरे, यसको तस्बिर सार्वजनिक गर्नुहुन्न। त्यसैले भएन। 'यू विल वी ह्वाट यू आर मेड' (तपाईं त्यो बन्नुहुन्छ, जेका लागि तपाईं बन्नुभएको होे) भन्ने एउटा अंग्रेजी उखान छ। मलाई चाहिँ म रेडियोका लागि बनेको हुँ भन्ने लाग्दै गयो। रेडियोमा बोल्ने मान्छे कुनामा बसेर बोल्ने मान्छे हो, जो नदेखिञ्जेल मान्छेको दिमागमा आफ्नै मौलिक तस्बिर भएर रहिरहन्छ। देखिएपछि त उस्तै त हो, दुइटा आँखा, दुइटा हात भएको अरूजस्तै। कस्तो होला भन्ने उत्कण्ठा मान्छेको मनमा जति बाँकी रहन्छ, त्यति नै म बाँचिरहन्छु भन्ने लागेर पनि लुकेर बसेको हो। र, यसको मतलब म भूमिगत भएको होइन। यत्ति हो, नचिन्नेको ग्रुपमा जान चाहन्नँ।
यस्तो महसुस कहिलेदेखि भयो ? सुरुदेखि नै वा पपुलर हुन थालेपछि ?
सुरुमा त्यस्तो थिएन। केही तस्बिर लिक छन्। अहिले पनि इन्टरनेटमा दुःख गरेर खोज्दा केही तस्बिर भेटिन सक्छन्। म २०५६ सालदेखि रेडियोतिर प्रवेश गरेको हुँ। ०५८ सम्ममा यस्तो पपुलर भइयो कि म आत्तिएँ। दुईचार जनाले चिनून् भनेको यत्रो भीडमा लोकप्रिय भइयो भन्ने लाग्न थाल्यो। त्यसपछि मैले केही पढेर, केही अरूको हेरेर आफूलाई सम्हाले। धेरै मान्छे आए मलाई भेट्न। भेटेँ पनि। भेट्नुका कुनै उद्देश्य थिएनन्, मलाई हेर्नु थियो, हेरे। उनीहरूसँग जिज्ञासा देखिएन। मान्छे भेट्न आउने कारण हेर्नुमात्रै रहेछ ! त्यसपछि मलाई लाग्यो, सुन्नेले परिकल्पना गरेको मान्छे म नहुन सक्छु। कसैलाई लागिरहोस्– अग्लो होला भन्ने, कसैलाई होचो, कसैलाई सलमान खानजस्तो ह्यान्डसम र कसैलाई कुरूप पनि। आफ्नै स्वरूप बनाएर मलाई सुनिरहून्। मेरो आफ्नो अनुहार र ज्यान त छँदैछ नि।
यही एउटा अनुहार सबैलाई गर्वका साथ देखाउन पाइयोस् भनेर मान्छेहरू अनेकथोक गरिरहेका हुन्छन्। अनुहार जे जस्तो भए पनि अझ फोटोसप र मेकअपकै सहारा लिएर भए पनि आफ्नो अनुहार धेरैले हेरून् भन्ने चाहना गर्नेहरूको भीडमा तपाईंमात्रै यस्तो हुनुहुन्छ सायद।
धेरैले यही गल्ती गरिरहेका छन्। अनुहार देखाउन खोज्ने गल्ती। अनुहार देखाउन बेकारको भागदौड गरिरहेका छौँ। म यो दौडमा सामेल छैन। अनुहार देखाउनका लागि राजेश हमाल, रेखा थापा, आर्यन सिग्देलहरू जन्मिएका हुन्। उनीहरूले बोलेर के काम ? तर, म त आवाजका लागि जन्मिएको हुँ। बोल्नकै लागि जन्मिएको हुँ। अनुहार नदेखाउँदा केही फरक पर्दैन। अनुहार देखाउने पेशाबाहेकका मान्छले अनुहार देखाउने मोह राख्नुहुँदैन। म यसरी जिन्दगीभर लुकेर पनि बस्दिनँ। बेला आएपछि देखिन्छु।
तपाईं आफ्नो स्थायी ठेगाना पनि सार्वजनिक गर्न रुचाउनुहन्न। त्योचाहिँ किन ?
मलाई स्थानवाची र जातिवाची विशेषणमा पटक्कै रुचि छैन। कसैले स्थानविशेष र जातिविशेष कुरा जोडेर गाली गरेको मन पनि पर्दैन। जस्तो, केही फट्याइँ ग¥यो भने भनिन्छ, झापालीजस्तो ! एकजना त्यस्तो थियो होला, तर सबै त्यस्ता हुँदैनन् नि। त्यसैले जहाँ मलाई रुचाइन्छ, त्यो मेरो घर हो। मेरो कहीँ कतै पराई नै छैन अनि कहाँमात्रै, कसलाई मात्रै आफ्नो भन्नु ? मलाई धेरै ठाउँका मान्छेले आफ्नो ठान्छन् भने म फलानो ठाउँको मात्रै भनिरहन आवश्यक ठान्दिनँ। बसेको, जन्मेको र हुर्केका कुराले के अर्थ राख्छन् र !
रेडियोमा कसरी आइपुगियो ?
मैले एसएलसीमा राम्रो नम्बर ल्याए। त्यसैले एक ब्याच जुनियरलाई ट्युसन पढाउथेँ। रेडियो एचबीसी खुल्ने भयो। त्यसका लागि रेडियोकर्मीको खोजी भइरहेको रहेछ। मेरा विद्यार्थीहरूले थाहा पाएर 'तपाईं पढाउँदा त यति राम्रो बोल्नुहुन्छ, रेडियोमा बोल्नुहोस्' भने। मलाई रेडियोमा बोल्नसक्छु जस्तो लागेन। मैले अस्वीकार गरेँ। विद्यार्थीमध्यको एकजना बलियो पनि थियो, उसले मलाई तानेर लिएर गयो। आफैँले फर्म ल्यायो, भर्न लगायो र आफैँले बुझाइदियो। छ सयजना त्यस्ता आवेदकमध्ये १ सय ५ जना छानिए र त्यसबाट पनि तीन जना छान्दा म पनि छानिएछु। त्यो काम इटालियन नागरिक रेडियोकर्मी क्लाउडियो रक्कीले गरे।
सुरुमै आरजेका रूपमा काम थाल्नुभएको हो ?
मलाई त लाइब्रेरियन कम प्रोड्युसर पो भनियो। मलाईचाहिँ फिल्मको प्रोड्युसर भन्याजस्तो पद किन दिएको होला भन्ने लाग्यो। बरु रिपोर्टर र आरजे भनेको भए खुशी हुन्थेँ। मलाई त्यो भन्दा ठूलो पद दिइएको थियो भन्ने जान्न नै समय लाग्यो। त्यसैले तत्काल छानिएको खुशी पनि मनाउन सकिएन। बिस्तारै हरिशरण लामिछाने दाइको टिममा प्रोड्युसरका रूपमा काम गरेँ। त्यसपछि दाहाल यज्ञनिधि, स्वामी प्रपन्नाचार्य, लोचन भट्टराई, डा. गोविन्द भट्टराई, प्रकाश थापाजस्ता सेलिब्रिटी प्रोड्युसर पनि ल्याइयो। म त्यो रेडियोमा निमित्त स्टेसन म्यानेजरसम्म भएँ। नयाँ कार्यक्रम गर्ने क्रममा ०५७ सालतिर गीतिकथाभन्दा अलि गहकिलो हुने भएकाले 'श्रुति संवेग' सुरु गरेँ।
पहिलो आवाज नै 'श्रुति संवेग'मा सुनिएको थियो ?
मैले पहिलोपल्ट बोलेको चाहिँ राजाको शुभकामना सन्देश थियो। खूब घोकेर बोलेको थिएँ। अरूले सुनेकी सुनेनन् थाहा छैन, म आफैँले भने धेरैपल्ट सुनेको थिएँ।
आफ्नो आवाजमा मिठास छ भन्ने महसुस रेडियोमा पुगेपछि मात्रै गर्नुभएको हो ?
मसँग पढ्ने एउटा साथी थियो। उसले कविता पनि लेख्थ्यो। मलाई पढ्न लगाउँथ्यो, अनि अडेस लगाएर सुन्थ्यो। स्वस्थानी कथा वाचन गर्थें। त्यतिबेला पनि अरूभन्दा मैले पढेको राम्रो सुनिन्थ्यो रे। स्कुलमा कथा पढ्दा पनि फिलिङ्स दिन थालियो। सायद सब–कन्सियस माइन्डमा मैले राम्रो वाचन गर्न सक्छु भन्ने थियो।
अहिले तपाईंका स्रोताको संख्या ठूलो छ। स्रोताको पहिलो प्रतिक्रिया याद छ ?
शंखमूल बस्ने एकजना महिलाले एउटा लेटर लेख्नुभएको थियो। आफ्नो बस्ने ठाउँको वर्णन गर्दै 'रेडियोमा अच्युत घिमिरे बोलिरहेको छ, म यस्तो ठाउँमा छु' भन्दै। त्यो लेटेर राखेको छु, खोज्यो भने अहिले पनि भेटिन सक्छ। त्यसैगरी कीर्तिपुर पढ्ने ऋषि सेढाईंले नियमित चिठी लेख्नुभयो।
तपाईंको कार्यक्रम हिट भएपछि चिठी त पढिनसक्नु आए होलान् !
मान्छे डोकाका डोका भन्छन्, त्यसरी त आएनन्। तर, एचबीसीमा हुँदा हप्तामा डेढ सयजति आउँथे। एक महिनासम्म लिन जान नभ्याइएको समयमा भने ठूलै चाङ पनि हुन्थ्यो। अहिले इमेल आउँछन्।
दुइटै कार्यक्रम हिट छन्, 'बुलबुल' र 'श्रुति संवेग'। तुलनात्मक रूपमा कुन कार्यक्रमका बढी स्रोता होलान् ?
त्यो थाहा हुँदैन। तर, 'बुलबुल'को प्रतिक्रिया चाँडो आउँछ। 'श्रुति संवेग'मा भने तीन वर्षपछिसम्म आजको कार्यक्रमको प्रतिक्रिया आउन सक्छ। किनभने, यसका प्रशंसक सुषुप्त छन्।
तपाईंका प्रशंसक कस्ता–कस्ता छन् ?
प्रशंसकका धेरै लेभल हुन्छन्। तीमध्ये कति यस्ता छन्, अच्युत घिमिरेलाई कहिल्यै भेटन नपरोस् भन्ने। यस्तो भन्छन्, 'म तपार्इंलाई देख्न चाहन्नँ, अच्युत घिमिरे आवाज हो, जो भेटिन्नँ, सुनिन्छ मात्रै। त्यसैले कहीँ कतै मलाई चिन्नुभयो भने पनि मलाई नबोलाउनुहोला। नचिनैकनै सम्मान गरिरहन्छु।' अर्काथरी छन्, आजै भेटौँ, भोलि नै भेटौँ भनिरहन्छन्, पछ्याइरहन्छन्। तर, तिनीहरूका वैयक्तिक कुरामा नजाऊँ। यस्तोसम्म गरे भन्नु एकप्रकारको एक्सपोज पनि हो, त्यतातिर जान चाहन्नँ।
प्रशंसकले तपाईंलाई गरेको कुनै व्यवहार, जो बेला–बेला सम्झिरहिन्छ।
धेरै अगाडि एउटा पत्र आएको थियो। 'बुलबुल' कार्यक्रममा मैले 'रात्रि गन्थन' भनेर बोल्थेँ। त्यो मेरो मनमा जे लाग्यो, त्यही बोलिरहने हुन्थ्यो। मान्छेका बैयक्तिक कुरा, द्वन्द्वको विपक्षका कुरा बोल्थेँ। मान्छेलाई मन पर्दाेरहेछ। कुनै समय मुड हुन्थ्यो, फुर्थ्यो। तर, पछि म सेलाएँ, म्यानेजमेन्ट पनि हेर्न थालेपछि गर्न सकिनँ। एकजना स्रोताले ए फोर साइजको खाममा एउटा पत्र पठाउनुभएको थियो। माया मिसिएको रिसले 'बुलबुल मरेको घोषणा' भन्दै लेख्नुभएको थियो। 'बुलबुल' मरेको र त्यसको अन्तिम संस्कार गरेको सविस्तार घोषणा गरिएको थियो। पत्र पीताम्बरले मोरेको थियो, एक काँटी सलाई र कोर्ने कुरा च्यातेर राखिएको थियो। र, पत्र आधा जलाइएको थियो। 'बुलबुलको आत्मा थियो रात्रि गन्थन, जुन तैँले मारिस्' भन्ने आशय थियो। जुन मसँग अहिले पनि सुरक्षित छ।
यस्ता पत्रहरूको कलेक्सन नै छ कि !
यस्तै एकदम यादगार र सिरिजमा पठाएका पत्रहरू छन्। सबै राख्न सकिएन। इमेल आउन थालेपछि भने कसैको मेटाएको छैन। मेरो सबैभन्दा ठूलो सम्पत्ति पनि हो। त्यसैले जोगाइराखेको छु।
आफ्नो आवाजको मिठास जोगाउन कत्तिको संघर्ष गर्नुपरेको छ ?
आवाज वर्षैपिच्छे फेरिँदो रहेछ। तर, मैलेचाहिँ मिठास पनि थपिँदै गएको महसुस गरेको छु। जोगाउन भनेर केही मेन्टन त गरेको छैन। पछिल्लो समय चिसो कुरालाई इग्नोर गरेको छु। मही असाध्यै मीठो लाग्छ, तर त्यसले घाँटी ठ्याम्मै बसाल्ने भएर छाड्नुपरेको छ।
आफैलाई असाध्यै राम्रो बोलेँ/पढेँ लाग्ने कुनै एपिसोड छन् ?
मदनमणि दीक्षितको 'मेरी नीलिमा' र नारायण वाग्लेको 'पल्पसा क्याफे' र पारिजातको 'परिभाषित आँखाहरू' आफैँलाई वाचन मन परेका एपिसोड हुन्।
रेडियोमा पढ्नुअघि ती उपन्यास आफैँ पढेर रिहर्सल पनि गर्नुहुन्छ ?
पहिले गर्थें, तर अहिले गर्दिनँ। 'कर्नाली ब्लुज', 'सेतो धरती' जस्ता उपन्यास नपढीकनै वाचन गरेँ, बिग्रिएन।
जीवनलाई 'रिप्ले' गर्न मिल्ने भए कुन बाटो लाग्नुहुन्थ्यो होला ?
म फेरि यही बाटो आउँथेँ। एउटा उदाहरण दिऊँ, सानोमा बारीको कान्लाबाट कसको पिसाब पर पुग्छ भन्ने कम्पिटिसनले बलियो÷निर्धाे छुट्टिने सामाजिक मनोविज्ञानबाट गुज्रिएको मान्छे हौँ हामी। जसको पिसाब पर पुग्छ, त्यो सुपेरियर ठानिन्छ। पछि गएर त्यो दादा बन्छ। जो त्यो कुरामा कमजोर हुन्छ, त्यो दिमाग चलाउँछ। म पिसाब पर नपु¥याउन सकेको मान्छे हुँ। अर्थात्, त्यो साइकोलोजीको मान्छेले यसैगरी आइडेन्टिटी बनाउने हो। मसँगै पढेका एकजना सेनामा कर्नेल भए, एकजना डाक्टर छन्, अर्का इन्जिनियर छन्। तर, उनीहरू नै भन्छन्, 'तेरोजस्तो लाइफ पो लाइफ।' आफूलाई लाग्छ, उनीहरू जस्तो एउटा लाइन लिएर अघि बढ्न सकिएन। उनीहरूले यस्तो भन्दा मेरो लाइन ठीकजस्तो लाग्छ। हुन पनि हो, हाम्रो राजादेखि रंकसम्म चिनजान छ। जीवनमा गर्ने भनेको चिनजानै त हो।
प्रकाशित: १० पुस २०७१ १२:०३ बिहीबार





