आर्थिक वर्षको पहिलो पाँच महिनामा देशबाट रोजगार खोज्दै २ लाख २६ हजार नेपाली विदेशिएका छन्। स्वदेशमा पर्याप्त रोजगारीको सिर्जना नभएपछि कामको खोजीमा विदेशिने कामदारको संख्या गतआर्थिक वर्षको पाँच महिनाभन्दा ५५ हजार बढी छ।
गतआर्थिक वर्षका पाँच महिनामा १ लाख ७० हजार ७ सय ६३ जना नेपाली कामदार विदेशिएका थिए। यो आर्थिक वर्षको पाँच महिनामा २ लाख २५ हजार ९ सय ७७ जना कामदारले देश छोडेका छन्। अघिल्लो वर्षको तुलनामा ५५ हजार २ सय १४ जना बढी कामदार यो वर्ष विदेशिएका हुन्। वैदेशिक रोजगार विभागले पछिल्लोपटक सार्वजनिक गरको मंसिर महिनासम्मको तथ्यांकअनुसार मंसिर महिनामा मात्र ५३ हजार ३ सय ५४ जना कामदार विदेश पुगेका छन्। आर्थिक वर्षको साउन महिनामा ४२ हजार ३ सय ९, भदौमा ५१ हजार ५ सय ५१, असोजमा ३५ हजार ५ सय ५०, कात्तिकमा ४३ हजार २ सय १३ कामदार विदेश पुगेका थिए। अघिल्लो वर्षको साउन महिनामा भन्दा यो साउनमा ३६ सय २८ कम कामदार विदेश पुगेको तथ्यांक छ।
पाँच महिनाको अवधिमा संस्थागत (म्यानपावर) बाट २ लाख ४ हजार २ सय ५५ कामदार विदेश गएका छन्। म्यानपावरबाट विदेशिने कामदारमध्ये १ लाख ९६ हजार ४ सय १० पुरुष र ७ हजार ८ सय ४५ जना महिला कामदार रहेका छन्। त्यसैगरी व्यक्तिगत रूपमा पाँच महिनामा १७ हजार ९ सय ७० जना कामदार विदेश पुगेका छन्। जसमा १५ हजार ९ सय ३१ जना पुरुष र २ हजार ३९ जना महिला कामदार रहेका छन्। पाँच महिनामा बिदामा आई पुनः विदेश जाने कामदारको संख्या ७६ हजार ९९ रहेको छ। जसमा पुरुष ७२ हजार ९ सय २१ र महिला ३ हजार १ सय ७८ रहेका छन्।
पाँच महिनाको अवधिमा सबैभन्दा बढी मलेसियामा नेपाली कामदार पुगेका छन्। मलेसियामा पाँच महिनामा १ लाख ६ हजार ६ सय २६ जना कामदार पुगेका छन्। मलेसिया केही वर्षयता नेपाली कामदारको लागि प्रमुख श्रम गन्तव्य बन्दै आएको छ। मलेसियापछि दोस्रो श्रम गन्तव्यको रूपमा कतार रहेको छ। कतारमा मलेसियाको तुलनामा आधामात्र कामदार गएका छन्। पाँच महिनामा कतारमा ५१ हजार ७ सय ९९ जना कामदार पुगेका छन्। त्यसैगरी साउदी अरबमा ३६ हजार ३ सय ७८, यूएईमा २३ हजार २ सय ७१ जना कामदार पुगेका छन्। ईपीएसमार्फत दक्षिण कोरिया जाने कामदारको संख्या २ हजार ७७ रहेको छ। जापानमा भने ७ सय ९४ जनाले श्रम स्वीकृति लिएर काम गर्न गएका छन्।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले स्वेदशमा पर्याप्त रोजगारी सिर्जना नहुँदा नेपाली कामदार विदेशिन बाध्य भएको बताए। 'राजनीतिक अस्थिरता र उद्योगधन्दा सोचेअनुरूप नहुँदा स्वदेशमा रोजगारी सिर्जना हुन सकेको छैन। नेपाली श्रम बजारमा वार्षिक ४ लाख ५० हजारभन्दा बढी कामदारको प्रवेश हुने र उनीहरूले अवसर नहुँदा विदेशिन परेको छ,' उनले भने।
'वैदेशिक रोजगारी बाध्यकारी छनोटको विषय नबनोस् भन्नाका लागि देशभित्र रोजगारीका अवसर सिर्जना गर्न निरन्तर नीतिगत प्रयास गर्दै आएका छौँ,' उनले थपे, 'यसका लागि हाल निर्माण भइरहेको राष्ट्रिय रोजगार नीति निकै उपयोगी हुने अपेक्षा गरिएको छ।' अठारौँ सार्क सिखर सम्मेलनमा आप्रवासनको विषयलाई प्रवेश गराउन सक्नु निकै महŒवपूर्ण उपलब्धि भएको उनले बताए। 'हाम्रा प्रयासहरूलाई अन्तर्राष्ट्रिय जगतसँग एकाकार गर्न निकै सहयोग गर्ने अपेक्षा पनि छ,' उनले भने।
ठगी बढ्यो
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार पाँच महिनामा विभागमा १ हजार २ सय २४ वटा ठगीका उजुरी परेका छन्। यस अवधिमा ३१ करोड ७८ लाख ७४ हजार ७२ रुपैयाँ ठगी भएको उजुरीकर्ताले विभागमा निवेदन दिएको विभागले जनाएको छ। मंसिर महिनामा मात्र विभागमा २ करोड २३ लाख ४१ हजार २ सय २६ रुपैयाँ ठगी भएको भन्दै १ सय ६० उजुरी परेको विभागले जनाएको छ। पाँच महिनाको अवधिमा ४ सय ४९ वटा व्यक्तिगत उजुरी परेका छन् भने सोही अवधिमा ७ सय ७५ वटा संस्थागत उजुरी परेका छन्।
पाँच महिनामा विभागले ६ करोड ३८ लाख ३४ हजार ४ सय रुपैयाँ विगो भराएको जनाएको छ भने २ सय ७५ वटा जाहेरी फरफारक गरेको छ। सो अवधिमा अदालतमा ६० वटा मुद्दा दायर गरिएको छ। अदालतमा मुद्दा दायर गरिएका सबै मुद्दा भने व्यक्तिगत ठगीका रहेका विभागले जनाएको छ। अदालतमा सो अवधिमा ७ करोड ७४ लाख ८९ हजार २ सय ९६ रुपैयाँ विगो दाबी गरिएको छ। सो अवधिमा विभागबाट एउटा म्यानपावरलाई कारबाही निर्णय गरेर १ लाखमात्र जरिवाना गराइएको छ भने २० वटा म्यानपावरलाई काम कारबाही रोक्का गरिएको छ।
विदेशमा मृत्यु हुनेको संख्या बढ्यो
पाँच महिनाको अवधिमा विदेशमा मृत्यु हुनेको संख्या ३ सय ७७ पुगेको छ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा विदेशमा मृत्यु हुने कामदारको संख्या ३ सय ७७ पुगेको छ। मंसिर महिनामा मात्र विदेशी भूमिमा ७७ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ। गतअसोज महिनादेखि मृतकका आफन्तलाई डेढलाख क्षतिपूर्तिबाट बढाएर तीन लाख दिने निर्णय भएको छ।
प्रकाशित: १० पुस २०७१ ११:०७ बिहीबार





