सडकमा जथाभावी कागज, लुगाका टुक्रा, चाउचाउ र चकलेटका खोल फ्याँकिएका भेटिन्छन्। तिनले वातावरणलाई त प्रदूषण गर्छन् नै, शहरलाई समेत कुरूप बनाइदिन्छन्। तर, तिनै फोहोरका रूपमा फालिएका वस्तुमा सिर्जनशील दिमाग प्रयोग गर्न सके आकर्षक वस्तु बनाउन सकिँदो रहेछ।
धरानमा गतसाता एउटा यस्तै फेशन शो भयो, जसमा मोडलहरूले यस्तै बजारमा फालिएका कागज, कपडाका टुक्रा, डोरी र चाउचाउका खोलबाट बनेका पहिरन लगाएका थिए। धरानको एभरेस्ट लाइनमा इस्ट एसियन कलेज अफ टेक्नोलोजीका विद्यार्थीले डिजाइन गरेका आकर्षक पहिरनमा सजिएर स्थानीय मोडल र्याम्पमा उत्रिए। कलेजका विद्यार्थी उमा घिमाल, कल्पना गुरुङ, मेनुकादेवी तामाङ, रिमेश न्यौपाने, सुजाता तामाङ, रोमी गुरुङ, सुनीता राई, लक्ष्मी राई, टीना लिम्बू, भोलादेवी लिम्बू, विकास खड्काले यस्ता पहिरन डिजाइन गरेका थिए।

धरानलाई त्यसै पनि फेशनेबल शहरको उपमा दिइन्छ। तर, लामो समयदेखि फेशन शो नभएको धरानमा यो फरक शैलीको फेशन शोले भर्खर सुरु भएको जाडोमा धरानेहरूलाई न्यानो प्रदान गरेको छ। जाडोसँगै धरानमा फेशन शोको लहर सुरु हुने बेला पनि आएको छ।

दुई साताअघि लिम्बूहरूको चाड चासोक तङ्नामको अवसरमा धरानमा लिम्बू पहिरनको फेशन शो भएको थियो। लिम्बू जातिका परम्परागत पहिरनलाई आधुनिक रूप दिँदै आयोजना भएको फेशन शोले लामो समयको अन्तरालपछि धराने फेशन पारखीलाई मनोरञ्जन दिए लगत्तै फेशन डिजाइनिङ पढिरहेका विद्यार्थीले फरक शैलीको फेशन प्रदर्शन गरे। यसपछि इन्डियन शैलीका सारी, लेहंगा र कुर्तासुरुवालको फेशन शोको तयारी भइरहेको छ। धरानमा एउटा सुरु भएपछि लगातार फेशन शो आयोजना हुने चलनैजस्तो भएको छ। धरानका कोरियोग्राफर ललित राई भन्छन्, 'लामो समय ग्याप रहे पनि अब धरानको फेशन बजार तातिने अवस्था देखिँदैछ।'

पहिला सारी, क्याजुअल, कुर्तासुरुवालजस्ता पहिरनको फेशन शो बढी हुने धरानमा अहिले फरक शैलीका फेशन शो हुन थालेका छन्। धरानमा केही वर्षअघि बेग्लै रौनक थियो। फेशनका गतिविधि पनि निकै हुन्थे। भेलोसिटी नामको फेशन डिजाइनिङ कलेज पनि सञ्चालनमा आएको थियो। तर, खराब व्यवस्थापनका कारण त्यो कलेज बन्द भयो। अनि, बढी फेशनेबल मानिने लाहुरे समुदायका सन्तान बेलायत तिरै गए। त्यसपछि फेशन गतिविधि पनि कम हुन थाले।

केही महिनाअघि सीसीईभीटीबाट सम्बन्धन प्राप्त इस्ट एसियन कलेज सुरु भएपछि फेरि धरानको फेशन बजार पहिलाजस्तै हुने धेरैले आशा गरेका छन्। कलेजका निर्देशक अनील निरौला धरानको फेशन बजार अब चम्किने दाबी गर्छन्। 'फेशन धरानको विशेषता पनि हो। त्यसैले यसलाई सुस्ताउन दिनुहुन्न भनेर हामीले कलेज सुरु गरेका हौँ। अब कलेजसँगै फेशन शो र फेशनसम्बन्धी अन्य गतिविधि पनि गरिरहनैछौँ,' निरौला भन्छन्।

कुनै बेला ठूला र धेरै फेशन शो तथा अन्य कार्यक्रम हुने धरानमा माओवादी द्वन्द्वकालका बेला त्यस्ता कार्यक्रम ठप्प भए। त्यसबेलादेखि सुस्ताएको यो क्षेत्र अझै तंग्रिन सकेको छैन। पछिल्ला दिनमा बढ्दा फेशनसम्बन्धी कार्यक्रम र गतिविधिले यस क्षेत्रमा लाग्नेलाई आशाको किरण देखाएका छन्। पहिला धेरै फेशन शो, सुन्दरी प्रतियोगिताजस्ता कार्यक्रम हुने धरानमा बीचमा यो क्षेत्र सुस्ताए पनि आगामी दिनमा फस्टाउने लक्षण देखिएको विभिन्न फेशन शो र सुन्दरी प्रतियोगिता आयोजना गरेका दीपक बनेपाली बताउँछन्। भन्छन्, 'अहिले एउटाले फेशन शो गरे त्यसैको लहर लाग्छ। सुन्दरी प्रतियोगिता गरै त्यसैको लहर चल्छ। यसरी लहर लाग्नु यो क्षेत्रमा लाग्नेका लागि शुभ संकेत हो। यसले फेशन क्षेत्रको भविष्य सुन्दर देखाउँछ।'
प्रकाशित: १० पुस २०७१ १०:५६ बिहीबार





