उम्दा अभिनय र रोमान्टिक छविका धनी, देव आनन्दले हिन्दी सिनेमा जगत्मा लगभग छ दशकसम्म राज गरे। आफ्नो जमानामा उनी फेशन आइकन नै थिए। टाउको हल्लाउनु, निहुरेर नाच्नु, घाँटीमा स्कार्फ र शिरमा टोपी कुनै पनि फिल्मका स्क्रिप्टमा हुने थिएनन्। यो त बलिउडका सदाबहार अभिनेताको आफ्नै स्टाइल थियो।
'अभी न जाओ छोडकर', 'खोया खोया चाँद', 'आँखो ही आँखो में इशारा हो गया' र 'है अपना दिल तो आवारा' जस्ता रोमान्टिक गीतमा उनको अभिनय देखेर कतिपय युवती उनका बेजोड प्रशंसक भएका थिए। उनीहरू देव आनन्दलाई रगतले लेखेका प्रेमपत्र पठाउँथे। कालो कोटमा उनलाई देखेपछि महिलाहरू भुतुक्कै हुन्थे। उनी चुम्बक भएका थिए। महिलाहरू उनीतिर स्वतः तानिन्थे। केही महिलाले उनका लागि आत्महत्या गरेका घटना सार्वजनिक भए। त्यसपछि अदालतले देव आनन्दलाई सार्वजनिक स्थानमा कालो कोट लगाउन प्रतिबन्ध लगायो।
देव आनन्दको असली नाम धर्मदेव पिशोरीमल आनन्द थियो। अविभाजित पञ्जाबको गुरदासपुरमा अधिवक्ताका घरमा जन्मेका उनले अंग्रेजी साहित्यमा लाहौरको सरकारी कलेजबाट स्नातक गरेका थिए। उनी अझै पढ्न चाहन्थे तर बुबाले 'तँलाई पढाउने पैसा मसँग छैन, पढ्न चाहन्छस् भने आफैँ जागिर खा' भनेपछि उनी मुम्बईतिर हानिए। सन् १९४३ मा मुम्बई छिर्दा उनको खल्तीमा ३० रुपैयाँमात्र थियो। बस्ने ठेगान थिएन। उनले रेलवे स्टेसननजिक एउटा सस्तो होटलमा एउटा कोठा भाडामा लिए। त्यस कोठामा उनीसँग तीनजना साथी पनि बस्थे। उनीहरू पनि फिल्म जगत्मा आफ्नो पहिचान बनाउन संघर्ष गरिरहेका थिए। बगलीमा भएको ३० रुपैयाँ सकिएपछि उनले काम नगरी धर पाएनन्। मुश्किलले उनले एउटा सैन्य सेन्सर कार्यालयमा काम पाए। यस जागिरमा उनले सैनिकहरूका चिठी उनका परिवारका सदस्यलाई पढेर सुनाउनुपथ्र्यो। यस कामबापत उनले मासिक १ सय ६० रुपैयाँ तलब पाउँथे। एक वर्षजति सैन्य सेन्सर कार्यालयमा काम गरेपछि उनी फिल्मकार दाइ चेतन आनन्दकोमा गए। चेतन भारतीय जन नाट्य मञ्चमा आबद्ध थिए। उनले देव आनन्दलाई पनि त्यहाँ आबद्ध गराए। जन नाट्य मञ्चसँग जोडिएपछि उनले नाटकमा सानातिना भूमिका पाउन थाले।
उनले 'हम एक है' फिल्ममा काम गर्ने अफर पाए। यस फिल्मसँगै उनले सन् १९४६ मा बलिउडमा प्रवेश गरे। फिल्म फ्लप भयो र दर्शकमाझ देव आनन्दले पहिचान बनाउन सकेनन्। तर, त्यस फिल्ममा उनले अभिनेत्री सुरैयासँग काम गरे। सुरैया त्यतिबेलाकी 'नम्बर वान' अभिनेत्री र गायिका थिइन्। अभिनय यात्रा थालेको दुई वर्षपछि देव आनन्दले अशोक कुमारको बाम्बे टाकिजको फिल्म 'जिद्दी' मा काम गर्ने अवसर पाए। यसपछि अशोक कुमारले उनलाई एकपछि अर्को गर्दै फिल्ममा निरन्तर मुख्य भूमिका दिँदै गए। सन् १९४९ मा देवले आफ्नै निर्माण कम्पनी 'नवकेतन' स्थापना गरे। यस ब्यानरमुनि उनले सन् १९५० मा फिल्म 'अफसर' निर्माण गरे। फिल्म असफल रह्यो। नवकेतनको ब्यानरमुनि बनेको अर्को फिल्म 'बाजी' को सफलतापछि देव आनन्द फिल्म इन्डस्ट्रीमा सुपरस्टारका रूपमा चिनिन थाले। यसपछि उनले 'मुनीम जी', 'कालाबाजार', 'सीआईडी', 'पेइङ गेस्ट', 'गैम्बलर', 'तेरे घर के सामने' र 'कालापानी' जस्ता सुपरहिट फिल्म बलिउडलाई दिए।
सुरैया र देव आनन्दले सात फिल्ममा सँगै काम गरे। तीमध्ये एक फिल्म 'विद्या' को सुटिङका क्रममा भएको घटनामा देव आनन्दले सुरैयाको ज्यान बचाएका थिए। यसपछि दुवैबीच प्रेम बीज अंकुरायो। अनि, उनीहरूको प्रेम झ्यांगियो। तर, धर्म उनीहरूको प्रेममा बाधा बन्यो। देव हिन्दू थिए र सुरैया मुस्लिम। धर्मका कारण उनीहरू अलग्एि। ब्रेकअपपछि यो जोडीले सँगै काम गर्न छोड्यो।
नवकेतनको ब्यानरमुनि गुरुदत्तले निर्देशन गरेको फिल्म 'बाजी' मा देव आनन्दसँग अभिनेत्री कल्पना कार्तिक देखिइन्। यी दुईले थुप्रै फिल्ममा सँगै काम गरे। अनस्क्रिनको सुपरहिट जोडी अफस्क्रिन पनि जम्यो। फिल्म 'ट्याक्सी ड्राइभर' का क्रममा उनीहरू प्रेममा परे। र, सन् १९५४ मा बिहे बन्धनमा बाँधिए। तर, उनीहरूको दाम्पत्य जीवन लामो समयसम्म टिकेन।
सन् १९७० को फिल्म 'प्रेम पुजारी' बाट देव आनन्द निर्माता÷निर्देशक बने। फिल्मको सफलताबाट प्रोत्साहित भएका उनले फिल्म 'हरे राम हरे कृष्ण' मा नयाँ अनुहारलाई पर्दामा उतारे। उनी थिइन्, जीनत अमान। उनी जीनततिर आकर्षित भए। प्रेममा परेपछि देवले आफ्ना मनका कुरा जीनतलाई भन्ने निधो गरे। र, जीनतलाई भेट्न पुगे। त्यहाँ पुग्दा नशामा लट्ठ जीनतलाई राज कपुरको अँगालोमा देखेपछि उनी केही नभनी यसै फर्किए।
देव आनन्द दुई पटक फिल्म फेयर पुरस्कारबाट सम्मानित भए। फिल्म 'कालापानी' र 'गाइड' का लागि सर्वश्रेष्ठ अभिनेताको अवार्ड उनले हात पारे। सन् २००१ मा भारत सरकारका तर्फबाट उनलाई पद्मभूषण सम्मान प्राप्त भयो। डिसेम्बर, २०११ मा बलिउडको सदाबहार यी अभिनेता संसारबाट बिदा भए।
प्रकाशित: १० पुस २०७१ १०:३० बिहीबार





