२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

'गफ पनि गीतैमा गर्न पाए...'

मुना थापामगर लोकगायिकामध्ये सामाजिक सञ्जाल फेसबुकमा धेरै फ्यान फलोअर भएकी गायिका हुन्। उनलाई झन्डै सात लाखले फ्यान पेजमा पछ्याएका छन्। पछिल्ला वर्षमा विदेशमा कार्यक्रमका लागि बढी बोलाइने गायिकामा पनि उनी पर्छिन्। तर, बोलेर पिठो बिकाउने वर्तमान समयमा पनि उनी निकै कम बोल्छिन्। जति बोल्छिन्, तौलेर बोल्छिन्। यी स्टेजबाहिरकी मुना हुन्। जब स्टेजमा उक्लिन्छिन्, मुना उल्टो हुन्छिन्। दर्शकलाई रमाइलो लाग्ने प्रसंग बोल्छिन्। अझ कुराकानी गर्दा भन्दा बलिया तर्क र ख्यालठट्टा गीतमार्फतै प्रस्तुत गर्न सक्छिन्। उनले आफैँले सवालजवाफ गरेर ०६३ सालमा दोहोरी प्रतियोगिता समेत जितेकी छिन्। 'हावा सरर' लोकगीतबाट आफूलाई चिनाएकी उनका 'तिते करेलीले' जस्ता डान्सिङ बिटका गीत पनि चर्चित छन्। उनीसँग धनबहादुर खड्काको अन्तरंग कुराकानीः

यो सिजनमा त लामै समय नेपाल रहनुभयो ?
त्यस्तै पर्‍यो। कुवेतको कार्यक्रम क्यान्सिल भयो। अर्को एउटा देशका लागि अफर आएको थियो, त्यसैले कार्यक्रम लिइनँ। त्यो देशले भिसा दिएन। त्यसैले यतै छु।
 
तपाईंलाई अरू लोकगायिकाभन्दा बढी नै विदेश कार्यक्रमका अफर आउँछन्। खास कारण के होला ?
धेरैले मेरो प्रस्तुति र गीत मन पराएर बोलाउँछन्। अर्काे भनेको हाम्रो (मगर) समुदायकाले गर्ने कार्यक्रममा मलाई प्रायः सम्झन्छन्।
 
कहाँ, कहाँ पुगियो ?
अमेरिका जान पाएकी छैन। युरोपेली देशहरू, हङकङ, मलेसिया दुबई, जापानलगायत देशमा त दोहोर्‍याएर, तेहेर्‍याएर पुगिसकेँ।
 
अहिलेको जमानामा 'बोल्नेको पिठो पनि बिक्छ' भनिन्छ। तपाईं निकै कम बोल्नुहुन्छ। तर, पनि आफ्नो प्रतिभा बिकाइरहनुभएको छ है !
आफूसँग पिठो हुनेले बिकाउनका लागि बोल्ने हो। मसँग चामल नै छ कि ? त्यै भएर मैले बोलेर बिकाउनुपरेको छैन। मैले नबोले पनि सबैले मन पराएर मेरो प्रतिभाको कदर गरिदिएका छन्।
 
स्टेजमा त दर्शकसँग राम्रै बोल्नुहुन्छ । तर, बाहिर कम बोल्नुहुन्छ । धेरै बोल्दा बिग्रेला, त्यो भन्दा नबोलेकै बेस भनेर हो ?
होइन। म सानैदेखि कम बोल्ने स्वभावकै थिएँ। अहिले अझ बढी बोल्ने भएकी छु। स्टेजमा चाहिँ आफैँ बोल्न आउँछ। रमाइलो गर्न आउँछ। नबोली हुँदैन भनेर हो वा भगवान्ले नै मलाई यस्तो क्षमता दिएका हुन्, थाहा छैन।
 
तपाईंका सर्कलका मान्छेका अनुसार तपाईं त्यति हँसीमजाक गर्नुहुन्न। तर, लाइभ दोहोरी गाउँदाचाहिँ त्यस्तो ठट्टा र घोचपेच कसरी आउँछ ?
मलाई कसैसँग यत्तिकै गफ गर्दाभन्दा गीतबाट बढी कुरा भन्न आउँछ। यो सानोदेखिको बानी होला। मलाई त गफ पनि गीतैमा गर्न पाए हुन्थ्यो भन्ने लाग्छ।
 
गाउँतिर छँदा रोदीमा खूब दोहोरी गाइयो ?
हाम्रो पालामा पुरानो जस्तो रोदी त थिएन। तर, मेलापर्वमा दोहोरी बसिन्थ्यो। म केटासँग जुहारी खेल्थेँ। सायद, त्यसैले गीतमा धेरै कुरा भन्न आएको हो।
 
फेसबुकतिर धेरै सक्रिय हुनुहुन्छ र फ्यान पेजमा पनि धेरैले लाइक गरेका छन्। यो रमाइलोको लागि कि प्रविधिको युगलाई बुझेर ?
धेरैले मेरो क्षमतालाई मन पराएर फेसबुक पेज लाइक गरिदिएका छन्। उनीहरूलाई मेरा नयाँ/पुराना गीत फेसबुकमार्फत सेयर गरेर सुनाउनुपर्छ जस्तो लाग्छ। मैले कहाँ कार्यक्रम गर्दैछु, त्यसबारे जानकारी दियो भने उनीहरू आउँछन्। अहिले धेरैले फेसबुक चलाउँछन् । उनीहरूलाई आफ्नो कार्यक्रम र गीतबारे चाँडो थाहा दिने माध्यम यही भएकाले फेसबुक चलाइरहेकी हुन्छु।
 
सेलिब्रिटीलाई त फेसबुकमा खूब दुःख दिन्छन् रे। तपाईंले फेसबुकका कारण त्यस्तो तनाव भोग्नुभएको छ ?
अहिलेसम्म छैन। मैले कसैको केही नबिगारेकाले मेरो केही बिगार गर्नुअघि उनीहरूले पनि सोच्छन् होला।
 
फ्यानले प्रेम प्रस्ताव राखेर हैरान लाउँदा हुन् ?
अनेकथरी म्यासेज पठाएका हुन्छन्। रिप्लाई गरिसाध्य लाग्दैन। गर्दा पनि गर्दिनँ। बोल्नैपर्नेसँग पनि आफूभन्दा पाको मान्छेलाई दाइ र कान्छोलाई भाइ भनेर पहिल्यै नाता लगाउँछु।
 
नयाँ गीत केही ल्याउँदै हुनुहुन्छ कि ?
केही दिनअघिमात्रै 'आई लभ यू को उत्तरै जानिनँ' भन्ने गीत रेकर्ड गरेकी छु।
 
रमाइलो छ जस्तो छ। त्यसको एक टुक्का भन्नुहोस् न ?
अहिलेसम्म आवश्यक ठानिनँ
आई लभ यू को उत्तरै जानिनँ
उखु पेले गुलियो, तोरी पेले तेल
पढ्न लेख्न भइनँ कहिल्यै पनि फेल
बुझ्न कठिन रहेछ पिरतीको खेल
जहिले पनि फेल म त जहिले पनि फेल
geet
 
तपाईंको जीवनसँगै मिल्ने रहेछ ! आफ्नै भावना पो हुन् कि ?
गीत त गीतै हो। तर, गीतकार वसन्त थापाका गीत मन पर्थे। उहाँसँग कहिल्यै काम गर्न पाएकी थिइनँ। यसपल्ट उहाँलाई मेरा लागि गीत लेखिदिनुस् भनेकी थिएँ। यस्तो लेखिदिनुभयो। गीत मन प¥यो। मसँग मात्रै होइन, अविवाहित सबै युवतीको जीवनसँग मिल्ने छ। यसकारण धेरैले रुचाउँछन् भन्ने अपेक्षा गरेकी छु।
 
तपाईंले चाहिँ अहिलेसम्म विवाह नगर्नु भएको आवश्यक नठानेर कि 'आई लभ यू' को उत्तर नजानेर !
अहिलेसम्म आवश्यक नठानेर पनि होला। खासमा चाहिँ लगन नजुरेर होला।
 
लगन त तपाईंले चाहे न जुर्ने हो ?
अझै दुईतीन वर्ष नजुराऊँजस्तो लागेको छ। घरमा मभन्दा माथि र तलका सबैको बिहे भइसक्यो। त्यसैले कहिलेकाहीँ बाआमाले नि कुरा गर्नुहुन्छ। तर, यस्ता कुरामा हतार नगरौँ जस्तो लाग्छ।
 
यस्तो भन्दै जाँदा राम्रा मान्छे पनि त छुट्लान् ?
बिहे भनेको राम्रो मान्छेसँग भन्दा पनि जोसँग लेखेको छ, उसैसँग हुन्छ रे।
 
तपाईंको जीवनसाथीको कुनै स्केच छ दिमागमा ?
राम्रो संस्कार भएको परिवारको, राम्रो मन भएको र मेरो क्षेत्रलाई इज्जत गर्ने खालको होस्।
 
अहिले तपाईं चर्चित हुनुहुन्छ। कहिलेकाहीँ विगततिर फर्किंदा के–के सम्झिनुहुन्छ ?
मसँग मिल्ने साथीको खूब याद आउँछ। हामी सँगै मेलापात जान्थ्यौँ। ऊ मभन्दा राम्रो गाउँथी। तर, परिवारको सहयोग नभएकाले गायन क्षेत्रमा आउन पाइन। बीचमा एकपल्ट मैले उसलाई काठमाडौँ ल्याएँ पनि। तर, परिवारकै कारण उसले निरन्तरता दिन सकिन। अलिकति धैर्य र मेहनत गर्‍या भए ऊ पनि चर्चित गायिका हुन्थी।
 
तपाईंलाई चाहिँ गायिका बन्ने दौडमा केही गुमाएँजस्तो लाग्छ कि लाग्दैन ?
पढ्न सकिनँ। काठमाडौँ आएपछि दोहोरी साँझमा बेलुका गाइन्थ्यो। बिहान वा दिउँसो कलेज गएको भए हुन्थ्यो भनेर अहिले सोचिरहेकी हुन्छु।
 
दोहोरी साँझमा लामै समय गाइयो ?
पाँच वर्षसम्म गाएँ। पछि कार्यक्रम र रेकर्डिङमा व्यस्त हुन थालेपछि छाडेकी हुँ।
 
काठमाडौँ आउनेबित्तिकै दोहोरी साँझमा गाउन थाल्नुभएको हो ?
हो। गणेश गुरुङ नामका चिनेकै दाइ दोभान दोहोरी साँझमा हुनुहुन्थ्यो। उहाँले सुरुमै त्यहीँ काम लगाउनुभयो। सजिलो पनि भयो। अरूजस्तो बस्न, खान पनि समस्या भएन। गायिका शकुन्तला थापा दिदीसँग बसेँ।

प्रकाशित: ४ पुस २०७१ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App