'कामरेड अबको बाटो कता?' पहिलो प्रश्न थियो।
'क्रान्तितर्फ। साँच्चै भन्नुपर्दा निरन्तर क्रान्तितर्फ।'
'कस्तो हुन्छ, यो निरन्तर क्रान्ति?'
'फरक। नितान्त नौलौ। नेपाली मौलिकतासहितको। एक्काइसौँ शताब्दी सुहाउँदो।'
'तपार्इंहरू फेरि बन्दुक उठाउने हो?'
'हामीले बन्दुक बोकिहाल्छौँ भनेका त छैनौँ नि?' विप्लप कामरेड मुसुक्क मुस्काउनुभयो र भन्नुभयो, 'तपार्इंहरू जबर्जस्ती हाम्रो काँधमा बन्दुक भिराउन खोज्दै हुनुहुन्छ। हामी अब बन्दुक उठाइहाल्छौँ, बम पड्काइहाल्छौँ जस्तोगरी तपार्इंहरू हौवा पिटिदिनुहुन्छ। तपार्इं सञ्चारकर्मी साथीहरूको चटारो देख्दा यस्तो लाग्छ, बन्दुक उठाउन हामीभन्दा तपार्इंहरू निकै हतारिनुभएको छ?' विप्लप कामरेड दिल खोलेर हाँस्नुभयो।
'भनेपछि तपार्इंहरूको अबको क्रान्तिमा बम र बन्दुक हुँदैन?'
'हत्तेरिका।' विप्लप कामरेड असजिलो गरी मुस्काउनुभयो। 'मैले यो पनि त भनेको छैन नि कि हामी बन्दुक उठाउँदैन भनेर? तपार्इंहरू जुनसुकै कुरा पनि मनोगत रूपमा व्यक्त गर्नुहुन्छ।'
'कामरेड, तपार्इंको कुरो बुझ्न निकै कठिन भयो। नेपाली जनतालाई प्रस्ट पारिदिनुहोस्– तपाईंहरूको अबको क्रान्तिले बन्दुक उठाउनेछ कि छैन?'
'कुरो फेरि घुमी–फिरी रुम्जाटारमै आयो,' विप्लप कामरेडको अनुहारमा चिरपरिचित मुस्कान देखियो। केही गम्भीर भएजस्तो गरी कामरेडले भन्नुभयो, 'हामी क्रान्तिलाई आवश्यक जुनसुकै विधि र प्रक्रिया अपनाउन तयार छौँ। हामीहरू निकै फरक शैलीको क्रान्ति गर्नेछौँ। हाम्रो क्रान्ति विजय नहुन्जेलसम्म जारी रहनेछ। अहिलेलाई यति कुरो बुझिराखाँै।'
'कामरेड तपाईंले बारम्बार फरक शैलीको क्रान्ति भनिरहनुभएको छ। यसका लागि फरक खालको पार्टी बनाउने तपाईंको दाबी छ। तपार्इंहरूको पार्टी, एमाओवादी र ड्यास माओवादीभन्दा के हिसाबले फरक हुनेछ?'
यो प्रश्नले चाहिँ कामरेड विप्लपको अनुहार निकै गम्भीर बनायो। निकै सोचविचार गरेर उहाँले भन्नुभयो, 'एमाओवादी संसदीय भासमा भास्सिएर प्रतिक्रान्तितर्फ उन्मुख भइसकेको छ। ड्यास माओवादी पनि अनिर्णयको बन्दी बन्दै भयवादमा फसिरहेको छ। यी दुवैथरी भन्दा हाम्रो पार्टी निकै फरक हुनेछ। हामी सच्चा क्रान्तिकारी शक्ति बन्नेछौँ।'
'कामरेड अझ प्रस्ट पार्दिनुस्, तपाईंहरूको बाटो शान्तिपूर्ण हुन्छ कि हतियारबन्द हुन्छ? एमाओवादी र ड्यास माओवादी हुँदै आजसम्मको फुटलाई तपार्इंको पार्टीले कसरी 'जस्टिफाई' गर्नेछ?'
'शान्तिपूर्ण हुन्छ कि अशान्तिपूर्ण हुन्छ भन्नेतर्फ हामीले अहिले नै केही सोचिसकेका छैनौँ। तर, एउटा कुराचाहिँ प्रस्ट बुझ्नुस्, हामीहरू सच्चा क्रान्तिकारी हुनेछौँ,' विप्लप कामरेडले प्रश्नको पूरा जवाफ दिनुभएन।
'आखिर सशस्त्र कान्ति नगर्ने नै हो भने नेकपा–माओवादीसँग सम्बन्ध–विच्छेद किन नि?
'मैले अघि नै भनिसकेँ। हामी भयवादमा फसेर नेपाली जनताको सपनामा कुठाराघात भएको टुलुटुलु हेर्न सकेनौँ। त्यसैले फरक ढंगले नेपाली क्रान्तिलाई जारी राख्ने संकल्पसहित देशभरिका क्रान्तिकारी साथीहरू एकजुट भएका छौँ। तपार्इंहरू स्पष्ट हुनुहोस्। हामीहरू नेपालका सच्चा क्रान्तिकारी कम्युनिस्ट हौँ। हामीहरू सर्वहारा र शोषित पीडित जनतालाई मुक्त बनाएरै छाड्छौँ।' कामरेड विप्लप जोसिनुभयो।
सञ्चारकर्मीहरू गाँठी कुरो बुझ्न नसकेर हैरान भए। पार्टी फरक हुनेछ, तर कसरी? यसको भेउ कसैले पाउन सकेन। नयाँ पार्टीको क्रान्तिको रूप कस्तो हुनेछ? कस्ता विधि र क्रियाशीलतासहित नयाँ पार्टी अगाडि बढ्नेछ? यसको कुनै छनक सार्वजनिक भएन। पत्रकारहरू रन्थनिएर हिँडे। सायद विप्लप कामरेडको क्रान्तिकारी संकल्प आम जनतालाई कौवालाई बेल पाक्यो, हर्ष न बिस्मात्भन्दा थोरै पनि बढी भएन।
विप्लप कामरेडले काठमाडौँलाई तातो लगाउन पत्रकार सम्मेलनमार्फत सकेसम्म आगो फुक्नुभएको थियो। तर, हिउँदे झरीको चिसोले आगो बलेको अनुभूत नै भएन। बरु प्रायः तातिरहने प्रचण्ड कामरेडलाई मंसिरको पुछारमा परेको झरीले चिस्याउनु चिस्यायो। उहाँले अध्यक्षको कुर्सीसँगको अढाइ दशक लामो प्रेमालापबाट आफू मुक्त हुने घोषणा गर्नुभयो। भट्टराई कामरेड नयाँ अध्यक्षका रूपमा प्रस्तावित हुनुभयो। यति भइसकेपछि समानान्तर कमिटीको राप र तापलाई मंसिरे झरीसँगैको सिरेटोले नउडाउने कुरै भएन। यदि यो हुनु नै थियो भने हिजोको घम्साघम्सी केका लागि? नयाँ शक्ति र कारबाहीको मारमुंग्री केका लागि? यसको जवाफ न त दिनु आवश्यक छ, न त माग्ने नै कोही छन्। कम्युनिस्ट पार्टीको दुई दशक लामो नेतृत्वको परिवर्तन देश र जनताका लागि पनि एउटा खास्सा समाचार बन्नुपर्ने हो। तर, यसमा पनि उही कौवालाई बेल पाक्योभन्दा बढी केही भएन। किनकि, जनता र देशतर्फ पिठ्यूँ फर्काउने कम्युनिस्ट पार्टीसँग नेताको महत्त्वाकांक्षाकै परिधि हुन्छ। जसको जनतालाई खासै चासो हुँदैन। कुरो उही हो, कौवालाई बेल पाक्यो...।
प्रकाशित: ४ पुस २०७१ ०७:५१ शुक्रबार





