मेरो घर दोलखाको लाकुरीडाँडा हो। गाउँबाट एसएलसी पास गरेर उच्च शिक्षा लिऊँ भनेर राजधानी छिरियो। ११ कक्षा पढ्दापढ्दै स्कुलको फी तिर्न नसकेर स्कुलै छोड्नुपर्ने भयो। घरबाट पैसा मागेर पढ्न नसकेपछि आफैँ कमाउनुपर्ने भयो। हातमा अरू सीप केही नभएपछि यो रिक्सा चलाउन थालियो। दिनभर रिक्सा नचलाए बाँच्न नसक्ने अवस्था आयो। अनि, पढाइ पनि छाडियो। हामीजस्ता गरिबले छात्रवृति पनि नपाउने। छात्रवृति पाएर पढाइलाई निरन्तरता दिन सकेको भए भविष्यमा अरू केही गर्न सकिन्थ्यो।
रिक्सा चलाउन लागेको १ वर्ष पुग्नै लाग्यो। दिनभरि रिक्सा चलाउँदा ६–७ सय कमाइ हुन्छ। साहूलाई सय रुपैयाँ दिनुपर्छ। बाँकी आफैँलाई। पैसा बचाएर घर पनि पठाउनुपर्छ। राजधानीको महँगीले बाँच्नै मुस्किल पारेको छ।
काठमाडौँको कोचाकोच सडकमा रिक्सा चलाउन साह्रै गाह्रो। सुरुसुरुमा त धेरै गाह्रो भयो। अहिले बानी परिसकियो। इन्द्रचोकबाट यात्रु लिएर टाढाटाढासम्म पुग्नुपर्छ। बौद्ध, पशुपति, स्वयम्भूसम्म पुगेको छु। टाढा जाने विदेशी पर्यटकमात्र हुन्। नेपाली त नजिकमात्र जान्छन्। नेपालीले साह्रै बार्गेनिङ गर्छन्। विदेशी पाइयो भने मात्र हल्का धेरै आम्दानी गर्न सकिन्छ। रिक्सा चढेर घुम्न धेरै रमाउँछन् विदेशी। अचेल चिसोमा अलि कम पाइन्छन् यात्रु।
ट्याक्सी ड्राइभर बन्ने सपना छ पा विदेश जाने। यो रिक्सा चलाएर प्रगति होला जस्तो छैन। रिक्साको साहू हुने मन पनि छैन। सकिँदा पनि सकिन्न। पढाइ भन्ने कुरो अब अर्को जुनीमा मात्र लिइन्छ होला। पसिना नचुहाए यो शहरमा बाँच्न सकिन्न।
शहरमा रिक्सा चलाउन सकिने अवस्थै छैन। पार्किङको समस्या। लेन नियम छैन। रिक्साले त वातावरण पनि जोगाउँछ नि। त्यसैले यसलाई व्यवस्थित गर्नुपर्छ। उकालोमा चलाउन नसकेर धकेल्नुपर्छ। ओरालोमा कन्ट्रोल गर्न मुश्किल पर्छ। यस्तो गाह्रो काममा पनि बार्गेनिङ गर्ने चलन छ यहाँ।
अस्ती भएको रिक्सा दौडमा म पनि सहभागी भएको थिएँ। जित्छु जस्तै लागेको थियो। तर, चेनले धोका दियो। त्यहाँ यो टोपी पाइयो। यही हो उपलब्धि। अर्को चोटी भयो भने त जित्ने गरी दौडाउने हो रिक्सा। यो रिक्साले नै मलाई जीवन दिएको छ। रिक्सालाई म सम्मान गर्छु। यही रिक्सामा प्रगति नदेखे पनि हाललाई सन्तुष्टि दिएको छ।
प्रकाशित: ३ पुस २०७१ ११:५६ बिहीबार





