२४ पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

तँ कन्याको टाउको कन्या !

पाठक महानुभावहरू ! शीर्षक पढ्नुभयो? यस शीर्षकमा 'कन्या' शब्दको प्रयोग दुई ठाउँमा भएको छ। अगिल्लो 'कन्या'को उच्चारण 'कन्न्या' हुन्छ। पछिल्लो 'कन्या'को उच्चारण 'कन्या' मात्रै हुन्छ।
अगिल्लो 'कन्या'मा घन संयोग छ, त्यसैले नकारको उच्चारण दुईचोटि गरिएको छ। पछिल्लो 'कन्या'मा शिथिल संयोग छ, त्यसैले नकारको उच्चारण एकचोटि मात्र गरिएको छ। 'सन्न्यास' लेख्दा नकार दुईपल्ट लेखिन्छ र उच्चारण पनि दुईपल्ट गरिन्छ। सत्+न्यास=सन्न्यास। सन्धि भएर तकार नकारमा परिणत भएको हुनाले 'सन्न्यास' शब्द बनेको देखिन्छ। नाम बुझाउने 'कन्या' मा नकार एकपल्टमात्र लेखिन्छ तर उच्चारण दुईपल्ट गरिन्छ। यस्तै अवस्था 'उज्ज्वल' र 'प्रज्वल' मा पनि देखिन्छ। 'उज्ज्वल' मा जकार दुईपल्ट लेखिन्छ र उच्चारण पनि दुईपल्ट गरिन्छ। उत्+ज्वल=उज्ज्वल। 'उज्ज्वल' मा 'उत्' उपसर्गको तकार सन्धिनियमका कारण जकारमा परिणत भएको देखिन्छ। प्र+ज्वल=प्रज्वल। यहाँ जकार एउटा मात्र लेखिन्छ र जकारको उच्चारण चाहिँ दुईपल्ट गरिन्छ। 'प्रज्वल' शब्दको उच्चारण 'प्रज्. ज्वल्' हुन्छ। यसो हुनुको कारण अब बुझ्नुहोस्।'य्, र्, ल्, व्' यी चार वर्णहरू अन्तःस्थ हुन्। यी वर्णहरूलाई अर्द्धस्वर पनि भन्दछन्। यी वर्णहरू क्रमशः 'इकार, ऋकार, लृकार तथा उकार'का भिन्न रूप हुन्। यी वर्णहरूको रचना यण्सन्धिको प्रक्रियाबाट पनि गरिन्छ। यी वर्णसँग संयुक्त हुन जाने वर्णभन्दा अगाडि अर्को कुनै अक्षर छ भने संयुक्त हुन जाने वर्ण प्रायः दुईचोटि उच्चरित हुन्छ, जस्तै: विद्या=बिद्.द्या, उद्योग=उद्.द्योग्, उद्यान=उद्.द्यान् आदि। मित्र=मित्.त्र, भित्र=भित्.त्र, चित्र=चित्.त्र, थोत्रो=थोत्.त्रो, माद्री=माद्.द्रि (द्री) आदि। बाक्लो=बाक्.क्लो, शुक्ल=शुक् (सुक् ?).क्ल, अग्लो=अग्.ग्लो आदि। विद्वान्=बिद्.द्वान्, उद्विग्न=उद्.बिग्.न, प्रज्वल=प्रज्.ज्वल् आदि। महाप्राण वर्णको उच्चारणमा चाहिँ त्यसै वर्णको अल्पप्राण अर्थात् अगिल्लो वर्ण दोहोरिन्छ, जस्तै: अध्ययन=अद्.ध्य.यन्, अध्यक्ष=अद्.ध्यक्. ष्य (स्य?), बाख्रा=बाक्.ख्रा, च्याँख्ला=च्याँक्.ख्ला, व्याघ्र=ब्याग्.घ्र आदि।
शब्दको आरम्भमै जोडिएका वर्णको उच्चारण चाहिँ एकचोटि मात्र गरिन्छ, जस्तै: ध्यान=ध्यान्, द्युति=द्यु. ति, श्रवण=श्र (स्र?) बँड्/बण्, श्रुति=श्रु (स्रु?).ति, श्लोक=श्लोक् (स्लोक्), द्वारा=द्वा.रा आदि। यस्तो अवस्थामा शिथिल संयोग भएको हुन्छ।
नेपाली क्रियापदमा अन्तःस्थसँग संयुक्त हुने वर्णको उच्चारण दुईचोटि गरिँदैन, जस्तै: गर्‍यो=ग.र्‍यो, सोध्यो=सो. ध्यो, बाँच्यो=बाँ.च्यो, भाँच्यो=भाँ.च्यो, नाच्यो= ना.च्यो, कुद्यो=कु.द्यो, कन्या=क.न्या आदि। बस्ला=बस्.ला, खस्ला=खस्.ला, हाँस्ला=हाँस्.ला, घोच्ला=घोच्.ला, बाँच्ला=बाँच्.ला आदि। यसरी संयुक्त हुन जाने वर्ण दुईचोटि उच्चारण गरिँदैन भने शिथिल संयोग भएको भन्ने बुझ्नुपर्छ।
टेलिभिजनबाट समाचार वाचन गर्ने कतिपय मित्रहरूलाई द्वित्व उच्चारण गर्दा अशुद्ध होला कि भन्ने शङ्काले ग्रस्त बनाएको देखिन्छ। उहाँहरूलाई पनि उपर्युक्त सूत्र सुनाइदिनुहोला।
प्रत्यक्ष=प्रत्.त्यक्.ष्य (स्य) अथवा प्रत्.त्यच्.छ्य उच्चारण गर्नुपर्छ। 'प्रतच्छ्य' अथवा 'प्रतच्छे' उच्चारण गर्नु हुँदैन। उद्देश्य=उद्.देश् (देस्?), श्य (स्य?) उच्चारण गर्नुपर्छ। 'उदेस्स्य वा उदेस्से' उच्चारण गर्नु हुँदैन। यस्ता बग्रेल्ती अशुद्धिहरू सुनिरहनुपर्दा यस गाउँलेलाई हृदयाघात नै होला जस्तो गरी पीडा परेको पर्‍यै छ, सम्भवतः सचेत श्रोताहरू सबैले यस्तै अनुभव गर्नुभएको छ।

प्रकाशित: २७ मंसिर २०७१ १०:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App