विश्वले भक्तपुरलाई प्राचीन संस्कृति, सभ्यता र धरोहरको उत्कृष्ट नमुना मान्छ। यही सहरको एउटा क्लासिक गल्लीमा जन्मिएका हुन्, उनी। समेबजी, घिन्ताङघिसी, खलः, प्याखं, धिमेबाजा, नवदुर्गा नाचलगायत रथ तान्ने र बोकेर जात्रा गर्ने सदावहार संस्कृतिको शृंखलामा लपेटिँदै हुर्किए उनी। दाफा भजनको कोरस र गुँला बाजाको सिम्फोनीमा एकाकार भए। स्वर्णद्वार, न्यातापोल, सिद्धपोखरी, चाँगुनारायण, दत्तात्री र कमलविनायकका सांस्कृतिक सम्पदाहरूमा बालापनका पदचापहरू छोड्दै हुर्किए। यही अवसर पाएर होला आफ्नो नैसर्गिक नेवारी मिथकलाई कवितामा यत्रतत्र प्रयोग गरेका छन्।
कविले निर्माण गर्ने शिल्प र शैलीगत वैशिष्ट्यले नै कविताको सामर्थ्यको मापन गर्ने हो। आशुतोष आफ्नै शैली निर्माण गर्ने धुनमा छन्। विषयगत दृष्टिले पनि विविधता पस्किन खोजेका छन्। पिउसाहरूको असार, एक्काइसौं शताब्दीको डाइनोसर, ढुंगाको सौन्दर्यलगायतका कविताले कविको उच्चकोटिको चैतन्यबोधको परिचय गराउँछन्। त्यस्तै आमा र बुद्ध, न्यातापोलको देशमा, कालो फूलजस्ता कविता बेजोड छन्। ‘इन्दे्रणीको रङ', ‘मध्यान्तर' र ‘ईश्वर र फूलहरू' तीन खण्डमा विभक्त संग्रहमा ५४ कविता छन्। प्रायः सबै कविताले आफ्नै किसिमको क्राफ्ट निर्माण गरेका छन्।
कविता लेख्ने काम जोखिमपूर्ण छ अचेल। कविता सस्तो पनि छ। देशमा कविको भीड छ। ‘कविको बलि' शीर्षकको कवितामा कविलाई प्रयोग गरेर फ्याँक्ने राज्य र समाजको साझा प्रवृत्तिमाथि असहमति प्रकट भएको छ :
‘रित्तिएर बाँकी रहेको गिलास
छोटिएर बाँकी रहने सिगरेटको ठुटोजस्तो
वा र तीभन्दा पनि पृथक
म अरूको उच्च महल ठड्याउने
सबैको महत्वाकांक्षा पूरा गर्ने माध्यम बन्छु...'
एउटा कवि जहिले पनि परिवर्तनको पक्षधर हुन्छ। परम्परागत रूढले ल्याएका समस्याहरू चिर्ने चाहनामा हुन्छ। शोषित र पीडितको आवाज बोल्छ। भाषा, धर्म र कुसंस्कारले ल्याएका समस्यालाई शुद्ध गर्न चाहन्छ। रामगोपाल पनि यस्ता यावत पक्षबाट विमुख छैनन्। राजनीतिले विकृत, खण्डित र भ्रमित पारेको जनताको सपनाको पुनःनिर्माण गर्ने मार्गमा उनको कलम दौडिएको छ।
कविताको स्वादलाई पाठक आफ्नै तरिकाले पारख गर्न स्वतन्त्र भइहाल्छ। मेरो विश्वासचाहिँ के हो भने रामगोपालका कविता मिठाई पनि होइनन् र निम पनि होइनन्। ती अमला हुन्।
रामगोपाल जीवनप्रति आशावादी कवि हुन्। उनी शान्ति, समृद्धि र स्थायित्वका पक्षपाति हुन्। उनका कवितामा जन्मभूमिप्रतिको अनुराग र कर्तव्य मुखरित भएको पाइन्छ। ‘रागप्रति' कवितामा उनी बोल्छन् :
‘रातो चन्द्रसूर्य अंकित झन्डाले जडित
पवित्र विश्वास, निश्छल प्रेमको छाती पाउनेछौ।'
स्वरूप, रङ र भंगिमाका दृष्टिले पनि उनका कविता सुहाउँदिला छन्। बोधगम्यताको हिसाबले हेर्दा अलि दुरूह र अस्पष्ट लाग्न सक्छन्। तर यो कविको कमजोरी होइन, प्राप्ति वा शिल्पसघनजस्तो भएर आएको छ। लक्ष्मीप्रसाद देवकोटाले भलादमी निबन्धमा व्यक्त गरेका छन् कि भावको भन्दा शब्दको पछि लाग्ने कवि ‘बोक्रे भलादमी' हो।
राम्रो कविताको मापदण्ड के हो? यसमा आ–आफ्ना मान्यता होलान्। राम्रोको अन्तिम विन्दु हुँदैन। संसारमा कोही पनि आलोचनाविहीन छैन र कोही पनि पूर्ण छैन। सबैका सीमा हुन्छन्। कमजोरी हुन्छन्। यसरी हेर्दा रामगोपालको यो संग्रहका पनि सीमा र कमजोरी होलान्। कुनै पनि संग्रहका सबै कविता उत्तिकै बलशाली र प्रभावकारी पनि हुँदैनन्। किनकि कविता एउटैै कारखानामा उत्पादन हुने चाउचाउको प्याकेटजस्तो होइन। कविको समग्र प्रयास र सामर्थ्यले उसको कर्मको मापन गर्छ। उनले ठाउँठाउँमा स्पष्ट पार्न खोजेका छन्– ‘म कवितामा समाचार लेख्दिनँ।' यसो पनि भनेका छन्– ‘नवीन शैलीलाई पस्कने मेरो चेष्टा हो।'
कविता पढ्दै जाँदा उनी झुठा लाग्दैनन्। रामगोपाल भन्छन् :
‘हे ईश्वर!
राखेको छैन हालसम्म मैले तिमीलाई,
आफ्नो अन्तरकुन्तरमा कतै पनि...'
फेरि कतै भन्छन् :
‘फूलहरू हेर्दै छन्
अवलोकित ईश्वरको ताण्डव...'
फूल ईश्वरका सुन्दर सिर्जना हुन्। ईश्वर मानिसको विश्वासमा हुन्छ। यसो पनि भन्न सकिन्छ– फूल देखिने ईश्वर हुन्, ईश्वर नदेखिने फूल। नित्सेले ईश्वर मरेको घोषणा गरे। कतिले फूलको सुन्दरतामाथि पनि आशंका गर्न सक्छन्। तर पाठकले ‘ईश्वर र फूलहरू'माथि भने आशंका गर्नुपर्ने ठाउँ देखिँदैन।
कृति : कविता
लेखक : रामगोपाल आशुतोष
प्रकाशक : शब्दहार क्रियसन
पृष्ठ : १८४, मूल्य : १९९ रुपैयाँ
प्रकाशित: २७ मंसिर २०७१ ००:०९ शनिबार




