धादिङ र गोरखा जिल्लालाई चिर्दै त्रिशूली नदी बग्छ। त्यही त्रिशूली किनार हुँदै पृथ्वी राजमार्गले धादिङलाई देशका बाँकी भागसँग जोड्छ। जोगीमारा गाउँ हुँदै हुग्दी खोला त्रिशूलीमा मिसिन्छ। त्यही हुग्दीको किनारै किनार जोगीमारा–५ हेक्राङका बासिन्दा पृथ्वी राजमार्गसम्म ओरालो झर्छन्।
२०६० सालको जाडो सकिँदा नसकिँदै जोगीमाराका १७ युवा यसैगरी पृथ्वी राजमार्ग झरेका थिए। तर पारिवारिक जिम्मेवारी उठाउँदै केही कमाउन हिँडेका ती कहिल्यै आफ्नो ठाउँ फर्किएनन्। हेक्राङ र जोगीमारा वर्षौं आँसुमा डुबिरहे।
घर छाड्न लाग्दा बारीको कोदो देखाउँदै राजकुमार र सूर्यले वृद्ध कायाका बाबु ज्ञानबहादुर विश्वकर्मालाई चैतमा आउने र बाली भित्याउने वचन दिएका थिए। ज्ञानबहादुरले पहिले दिन गने। अनि सुरु भयो महिनाको गिन्ती। अनि वर्ष।
सशस्त्र द्वन्द्वको भुमरीले देशलाई छोपिरहेको त्यो समय रेडियो, टिभी र पत्रपत्रिका ज्ञानबहादुरका छोराहरू सुरक्षा कारबाहीमा मारिएको खबर बोकेर उनीसम्मै पुगे। मानिसहरू सहानुभूति प्रकट गर्दै आए। ज्ञानबहादुरले दुवै छोराको अनुपस्थितिमा वर्षौं कोदो घर भित्याइरहे। तर उनलाई विश्वास भएन– छोराहरू यो दुनियाँबाटै बिदा भइसकेका छन्।
'चैतमा आउँछौं भनेका थिए। म कसरी पत्याऊँ उनीहरू अब कहिल्यै आउँदैनन्,' ज्ञानबहादुरले भने, 'न मुढो भएको उनीहरूको ज्यान देखिएको थियो, न चिहान नै।'
...
गोरखा ताकुकोटका कुमार बराम पेटीठेकदार थिए। कुमारले पाउने ठेक्कामा मजदुरी गर्थे जोगीमाराका ती युवा। २०६० सालमा कुमारले कालिकोटको कोटबाडामा निर्माणाधीन विमानस्थलमा माटो मिलाउने ठेक्का पाए। उनैले जोगीमाराका ती १७ सहित २०/२२ जना मजदुरको टोली कोटबाडा पुर्याकए।
युद्धरत माओवादीको टोलीले आश्रय लिएको आशंकामा कोटबाडामा सेनासहितको सुरक्षाकर्मी टोलीले २०६० फागुन १२ गते कारबाही चलायो। त्यहीँ कुमारसहित २२ मजदुरले ज्यान गुमाए। एउटै जोगीमारा गाउँले १७ जना गुमायो। स्थानीयवासीको पहलमा कोटबाडामा नै सबैकौ अन्त्येष्टि गरियो।
'त्यति टाढा नजाओ न बाबु हो भनेका थियौं। तर ऋण तिर्नु पर्छ बा, त्यहाँ गए कमाइ हुन्छ भनेर मलाई सम्झाउँदै हिँडेका थिए,' ज्ञानबहादुरले आँसु पछ्दै भने, 'लाससम्म देख्न पाइएन।'
...
कोटबाडामा मारिनेमध्ये बुद्धराज प्रजा पनि एक थिए। घरमा भएकी वृद्ध आमा धनमायालाई छोरो मरिसक्यो भन्दै मानिसहरूले खबर दिए। तर धनमायालाई त्यसरी सबै मजदुर एकै चिहान भए होला भन्ने पत्यारै भएन। 'मानिसहरू अब काजकिरिया गर भन्न आउँथे तर मैले आशा मार्न सकिनँ,' उनले भनिन्, 'दुई वर्षअघिसम्म कोही त बाँचेका होलान्, कोही त त्यहाँको खास खबर लिएर आउँछन् होला भन्ने लागिरह्यो।'
दुई वर्षअघि भने रेडक्रसको अन्तर्राष्ट्रिय कमिटिले सञ्चालन गरेको हातेमालो कार्यक्रमको पहलमा धनमायालगायत पीडित परिवारले कोटबाडासम्मको यात्रा गर्न सके। त्यहाँ उनीहरूलाई कोटबाडाका स्थानीयले कसको शव कहाँ अन्त्येष्टि गरिएको थियो भन्ने जानकारी दिए। मारिने कोही बौद्धमार्गी थिए, कोही क्रिश्चियन थिए भने अधिकांश हिन्दु धर्म मान्थे। सबै परिवारले आ–आफ्ना धार्मिक र सांस्कृतिक विधिसहित मृतकका अन्तिम संस्कार पूरा गरे। केहीले त्यहाँको माटो पछ्यौरीका फेरमा पोको पारेर ल्याए, आफ्ना प्रियजनको सम्झनामा। सबै कोटबाडा पुग्दा भक्कानिए र आफैंलाई आफन्त गुमाएको विश्वास दिलाउँदै घर फर्किए।
फिल्ममेकर केशव पाण्डे र छायाकार विष्णु कल्पितले परिवारको कोटबाडा यात्रालाई क्यामेरामा कैद गरे। अघिल्लो साता हेक्राङमा त्यही यात्रामाथि बनेको वृत्तचित्र हेरिरहँदा धनमायाले भनिन्, 'सधैं रोएर मात्रै नहुने रहेछ। आफू जानुपर्ने बेलामा छोरो गयो। जति नै आँसु बगाए पनि पीडा कहाँ सकिन्छ र?'
'दस वर्षपछि भए पनि कोटबाडा पुगेर हामीले आफ्नै मनलाई विश्वास दिलायौं– हाम्रा परिवारका मानिस मारिए। उनीहरूको नाम सरकारले पनि मृतकको सूचीमा चढाइसक्यो,' कुमारकी पत्नी अस्मिताले भनिन्, 'यही धादिङमा आफन्त बेपत्ता भएका र अहिलेसम्म केही टुंगो नलागेका धेरै परिवार छन्।'
...
धादिङ बेनीघाट–२ का टीका कँडेलको परिवार अस्मिताले भनेका त्यस्तै परिवारमध्ये एक हो। २०६० सालदेखि बेपत्ता उनका छोरा अमृतको स्थिति अझै अज्ञात छ।
टीकाका माहिला छोरा रामहरि काठमाडांैमा सिसा पसल गर्थे। उनी २०६० भदौ २६ गते पक्राउ परे र बेपत्ता पारिए। त्यही साल असोज २३ गते काठमाडौंको सरस्वती क्याम्पसमा पढ्ने अमृत पनि चाबहिलबाट बेपत्ता पारिए। रामहरि तीन महिनापछि घर फर्किए तर अमृतको आजसम्म कुनै अत्तोपत्तो छैन।
'रामहरिले आफूलाई भैरवनाथ गणमा थुनिएको र त्यहाँ घाइते हालतमा भाइ पनि थियो भन्छ। एक जना आर्मीकै मान्छेले पनि २०६३ सालको सुरुसम्म मेरो कान्छो त्यही ब्यारेकमा जिउँदै थियो भनी मलाई सुनाउँछ,' कँडेलले व्यथा पोखे, 'मानवअधिकार आयोग, अदालत, सरकारी कार्यालय सबै धाइसकेँ तर अमृतबारे अझैसम्म आधिकारिक जानकारी पाउन सकेको छैन।'
धादिङका बेपत्ता परिवारहरूको नेतृत्व गरिरहेका कँडेलका अनुसार यस्तै पीडाबाट गुजि्ररहेका परिवारको संख्या धादिङमा मात्रै २५ छ।
रेडक्रसको अन्तर्राष्ट्रिय कमिटिको नेपाल कार्यालयको तथ्यांकअनुसार सशस्त्र युद्धका क्रममा बेपत्ता पारिएका र अझैसम्म उनीहरूको अवस्था थाहा नभएका नागरिकको संख्या एक हजार ३ सय ४७ छ।
...
आइसीआरसीले सन् २००९ मा १० जिल्लाका बेपत्ता नागरिकका परिवारमाझ गरेको एक अध्ययनले ती परिवारको पहिलो आवश्यकता भनेकै बेपत्ताहरू कहाँ छन् भनी थाहा पाउनु रहेको देखाएको थियो। 'मनमस्तिष्कमा आफन्तजन आइरहन्छन्, नानाथरीका खबर पुगिरहेका हुन्छन्। आफन्तहरूले मारिइसकेको भन्दै काजकिरिया गर्नसमेत सुझाउँछन्,' आइसीआरसीका मनोसामाजिक कार्यक्रम अधिकृत सुजेनमान महर्जन भन्छन्, 'यस्तो अवस्थामा बेपत्ता आफन्तको वास्तविक र औपचारिक जानकारीको जति खाँचो अरू केही हुँदैन किनकि परिवार एक प्रकारको सामाजिक एकांकीपनमा पुगेको हुन्छ।'
पीडित परिवारको अर्को प्राथमिकतामा आर्थिक आवश्यकताको व्यवस्थापन र न्यायको खोजी हुने गरेको छ। तर महर्जन भन्छन्, 'पछिल्ला प्राथमिकतामा पुग्न पनि आफन्त मारिएको हो वा जिउँदै छ भन्ने थाहा नपाई परिवारलाई गाह्रो हुन्छ।'
'कोटबाडा नपुग्दासम्म जोगीमाराका पीडित परिवार आफन्त मारिएकोमा पूर्णतः विश्वस्त थिएनन्,' महर्जनले भने, 'हाम्रो मनोसामाजिक कार्यक्रम हातेमालोले अधिकारकेन्द्रित नभई पीडितहरूको आवश्यकता केन्द्रित भएर सहयोग पुर्यालउँदै आएको छ।'
हातेमालो कार्यक्रमले पीडित परिवारलाई मनोवैज्ञानिक परामर्शदेखि जीवन निर्वाहका लागि विभिन्न तालिमसमेत दिने गरेको छ। परिवारलाई मनोसामाजिक सहयोग प्रदान गर्ने क्रममा बेपत्ता र मारिएकाहरूको नाममा स्मृति स्तम्भ खडा गर्नेसम्मका काममा पनि हातेमालो क्रियाशील छ।
जोगीमाराको हेक्राङमा पनि कोटबाडामा मारिएकाहरूको नाम अंकित स्मृतिस्तम्भ र चौतारी निर्माण गरिएको छ। गत साता त्यही स्तम्भमा पीडित परिवार भेला भएका थिए, वृत्तचित्रमा उतारिएका आफ्नै पीडा हेर्न र पोख्न।
'सरकारका तर्फबाट परिवारलाई १० लाख आर्थिक सहयोग दिने आश्वासन छ। एकपटक तीन लाख दिएपछि अत्तोपत्तो छैन,' ज्ञानबहादुरले भने, 'काम गरिखाने मजदुर र छापामार नचिनेरै बन्दुक चलाउने सेना को थिए, तिनलाई कारबाही गरिएको पनि हामीलाई थाहा छैन।'
लामो सुस्केरापछि उनले भने, 'हाम्रा छोरा अब फर्कंदैनन् भन्ने थाहा भयो। अझै कति हाम्रैजस्तो आशामा होलान्।' ज्ञानबहादुरले लगाइरहेको सर्टको बाहुलाले भरिएका आँखा पुछे। जाडो मौसममा पनि टोपी फुकालेर अनुहारमा एकाध पटक हम्किए। अनि भने, 'खोइ के मात्रै भन्नु र? न्याय पाऊँ। त्यत्ति हो।'
प्रकाशित: २६ मंसिर २०७१ २२:३७ शुक्रबार





