अग्रता जोगाउन नसक्दा चित्लाङ एफसीले लगातार दोस्रो जित निकाल्दै जारी राष्ट्रिय लिगमा शीर्षताको होड बनाउने अवसर गुमाएको छ।
मंगलबार भएको पहिलो खेलमा चित्लाङले अग्रता जोगाउन नसक्दा विभागीय टोली नेपाल पुलिस क्लबसँग अकं बाँड्न बाध्य भयो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा चित्लाङ सहिद स्मारक ‘ए’ डिभिजन क्लब पुलिससँग १–१ को बराबरीमै रोकियो। चित्लाङका म्याथ्यु बाबाटुन्डे ओलनरेवानजुले गोल गरे।
लछुमन रानामगरको आत्मघाती गोल नै पुलिसका लागि लगातार दोस्रो हार टार्न पर्याप्त बन्यो। जितनजिक पुगेको अवस्थामा खेल सकिन तीन मिनेट बाँकी छँदा पुलिस खेलमा फर्किएको हो। दुवै हाफमा समान एक गोल भए। खेलको २९औं मिनेटमा पुलिसले अग्रता लिने अवसर बुन्यो।
विजय उराउको फ्रिकिकमा दीपेन्द्रबहादुर शाहको हेडर प्रयास दिशामा रहन सकेन। चित्लाङले ३३औं मिनेटमा गोल गर्ने अवसर सिर्जना गर्यो तर पेनाल्टी क्षेत्रभित्रबाट सविन राईको शक्तिशाली प्रहार पुलिसका गोलकिपर शत्रुधनकुमार चौधरीले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारे। यद्यपि चित्लाङले ४१औं मिनेटमा भने सफलता पायो। बाबाटुन्डे ओलान्रेवाजुले उत्कृष्ट गोल गर्दै चित्लाङलाई अग्रता दिलाए। त्यो गोलसँगै पहिलो हाफमा चित्लाङ १–० ले अगाडि रह्यो। दोस्रो हाफमा पनि एक गोल भयो। तर, खेल सकिन लाग्दा चित्लाङ अर्को तीन अंक नजिक देखिएको थियो। तथापि समालिन नसक्दा एक अंकमा नै चिक्त बुझाउन बाध्य भयो।
८७औं मिनेटमा लछुमन आत्मघाती गोल गर्न पुगे। त्यसपछि बाँकी समयमा दुवै तर्फबाट गोल भएन र चित्लाङले अवसर गुमाउन पुग्यो। दुई खेलबाट पुलिसले एक अंक जोड्दा चित्लाङको चार अंक भएको छ। पहिलो खेलमा पुलिसले प्लानिङ ब्वाइज युनाइटेडसँग १–० को हार बेहोरेको थियो। चित्लाङले भने नवजनजागृति क्लबलाई २–१ ले हराएको थियो। एन्फा कम्प्लेम्समा नै भएको अर्को खेल पनि बराबरीमा नै सकियो। अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्लानिङ ब्वाइज युनाइटेडसँग गोलरहित बराबरीमा चित्त बुझायो।
आर्मीले पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबमाथि ५–० को फराकिलो जित निकाल्दै लिगमा उत्कृष्ट सुरुआत गरेको थियो। तर, दोस्रो खेलमा भने गोल असफल भयो। राष्ट्रिय टोली र नेपालका उमेरसमूहबाट खेलेका खेलाडीले भरिएको आर्मीले पाएका अवसर सदुपयोग गर्न सकेन। खेलको १३औं मिनेटमा आर्मीले अवसर सिर्जना गर्यो। आर्मीका कप्तान जिलेस्पीजंग कार्कीको प्रहार गोलपोस्ट नजिकबाट बाहिरिन पुग्यो। आर्मीले १९औं मिनेटमा पनि अवसर बनायो। यसपल्ट पनि श्रीजनकुमार दानीको फ्रिकिक सफल भएन।
प्लानिङ ब्वाइजले ३६औं मिनेटमा अग्रता लिने अवसर पायो। तर, एलेक्स विलानले गरेको प्रहार आर्मीका गोलकिपर विकास कुथुले उत्कृष्ट बचाउ गरे। यससँगै पहिलो हाफ गोलरहित बराबरीमा नै सकियो। दोस्रो हाफमा पनि गोल निस्किएन। ६४औं मिनेटमा आर्मीका नवीन लामाको प्रहार प्लानिङ ब्वाइजका गोलकिपर योगेश धिमालले असफल बनाए। चार मिनेपछि प्लानिङ ब्वाइजका रोमन भुजेलको प्रहार पनि पोस्ट माथिबाट बाहिरिन पुग्यो। यसपछि पनि गोल निस्किएन र खेल गोलरहित बराबरीमा नै सकियो। समान दुई खेलबाट आर्मी र प्लानिङ ब्वाइजले समान चार अंक जोडे। पहिलो खेलमा प्लानिङले पुलिसविरुद्ध जित निकालेको थियो तर दोस्रो खेलमा भने जित निकाल्न सकेन। लिगमा बुधबार कुनै पनि खेल हुने छैनन्।
प्रकाशित: ७ माघ २०८२ ०६:२२ बुधबार





