३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

दुई महिनामा ४४ लाख चोर्ने समूह पक्राउ

काठमाडौं–उपत्यकामा चोरीमा सक्रिय संगठित समूहसँग सामान किनेको आरोपमा सशस्त्र प्रहरीका जवान अजय पुरी पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले चोरीमा सक्रिय समुहसँगै चोरीको सामान हो भन्ने जान्दाजान्दै किनेको आरोपमा बिहीबार उनलाई पक्राउ गरेको हो।


महाशाखाले गेष्ट हाउसमा बसेर संगठित रुपमा उपत्यकामा चोरी गर्ने समुहका मुख्य नाइके सुवास नेपाली सहित सहयोगी आश्विन थापा मगर, चन्द्रबहादुर बस्नेत, प्रवेश तामाङ, चन्द्रबहादुर श्रेष्ठ र विशाल राईलाई पक्राउ गरेको थियो। प्रहरीका अनुसार पक्राउ परेको समुहले हालसम्म ४४ लाख भन्दा बढी रुपैयाँ बराबरको चोरी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले उनीहरुलाई लिएर चोरी भएका स्थान लैजादा १७ वटा स्थान पहिचान भएको कार्कीले जानकारी दिए।


महाशाखाका प्रमुख पुष्कर कार्कीका अनुसार उनीहरु २ महिनादेखि पुरानो बसपार्कको स्वगतम गेष्ट हाउसमा बसेर चोरीको योजना बनाउने गरेका थिए। उनीहरु विहान ९ वजे गेष्ट हाउसबाट निस्किएर ट्याक्सी लिएर उपत्यकाका विभिन्न स्थानमा गएर चोरी गर्ने गरेका थिए।


उनीहरुले चोरी गरेर ल्याएको सामान सशस्त्र प्रहरीको सिद्धकाली गणमा दरबन्दी रहेका सशस्त्र प्रहरी जवान पुरीलाई एकमुष्ठ रुपमा बेच्ने गरेका थिए। चोरीको सामान बिक्रीबाट आएको पैसा रात्रीकालीन गतिविधिमा खर्च गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।


उनीहरुको साथबाट प्रहरीले ७ तोला सुन, ८ तोला चाँदी, विभिन्न कम्पनिका ४ वटा ल्यापटप, ४ वटा क्यामरा, १३ वटा मोवाइल फेला परेको महाशाखाले जानकारी दिएको छ।

प्रकाशित: २५ मंसिर २०७१ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App