हालै हलिउड अभिनेत्री एन्जेलिना जोलीले आफ्नो ३९ औँ जन्मदिन मनाइन्। ४ जुन १९७५ मा जन्मिएकी एन्जेलिना विश्वभरिका मानिसले रुचाएकी अभिनेत्री हुन्। जीवनको चौथो दशकमा टेक्न आँटेकी यी अभिनेत्रीको 'चार्म' आफ्ना फ्यानमाझ अहिले पनि उस्तै छ।
अभिनेत्रीका साथै फिल्म निर्देशक र पटकथा लेखकका रूपमा पनि उनले पहिचान बनाएकी छिन्। १६ वर्षको उमेरदेखि मोडलिङ सुरु गरेकी एन्जेलिना हलिउडका सबैभन्दा महँगा अभिनेत्रीमध्ये हुन्। अहिले उनी ८ सय ६० करोड रुपैयाँकी मालिक्नी छिन्।जोलीले आफ्ना बुवा जोन भोइटसँग सन् १९८२ मा फिल्म 'लुकिङ टू गेट आउट' बाट हलिउडमा प्रवेश गरेकी हुन्। फिल्ममा उनी बालकलाकार थिइन्। त्यसको एक दशकपछि एकदमै कम बजेटको फिल्म 'साइबर्ग–२' बाट उनले अभिनय करिअर सुरु गरिन्। ठूलो बजेटको फिल्म 'ह्याकर'मा उनी पहिलो पटक मुख्य भूमिकामा देखा परिन्। 'जर्ज वालेस' र 'जिया' जस्ता टेलिभिजन फिल्ममा पनि उनले काम गरिन्। र, समीक्षकबाट प्रशस्तै प्रशंसा बटुलिन्। सन् १९९९ मा रिलिज भएको फिल्म 'ड्रामा गर्ल' र 'इनटरप्टेड' मा उनले सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड पाइन्।
जोली 'लारा क्राप्टः टम्ब रेडर' भिडियो गेममा 'लारा क्राप्ट' को भूमिकामा देखिइन्। जसबाट उनले व्यापक प्रसिद्धि प्राप्त गरिन्। गेमको अर्को भाग 'लारा क्राप्ट टम्ब रेडरः द क्य्राडल अफ लाइफ' बाट उनले हलिउडमा सर्वाधिक पारिश्रमिक पाउने अभिनेत्रीबीच आफूलाई स्थापित गरिन्।
एक्सन कमेडी फिल्म 'मिस्टर एन्ड मिसेस स्मिथ' र फिल्म 'वान्टेड' बाट उनको छवि 'एक्सन हिरोइन' को बन्यो। व्यावसायिक रूपमा सफल फिल्ममा यी दुई फिल्म पनि पर्छन्। फिल्म 'अ माइटी हर्ट' र 'च्यालेन्जिङ' बाट उनले आलोचकहरूबाट पनि प्रशंसा बटुलिन्। फिल्म 'च्यालेन्जिङ' का लागि उनी सर्वश्रेष्ठ अभिनेत्री एकेडमी अवार्डको नोमिनेसनमा परिन्।
एन्जेलिनाको व्यक्तिगत जीवन पनि त्यति नै चर्चित छ। कहिले उनका विवादास्पद तस्बिर चर्चाका विषय बन्छन् भने कहिले 'न्युड पिक्स' को निलामीले मिडियामा कब्जा गर्छ। वैवाहिक सम्बन्धका कारण पनि जोलीले धेरै चर्चा कमाएकी छिन्। सन् १९९६ मा उनले फिल्म 'ह्याकर' का सहकलाकार ब्रिटिस अभिनेता जानी ली मलिरसँग बिहे गरिन्। बिहेमा उनले रबरको कालो प्यान्ट र सेतो सर्ट लगाएकी थिइन्। त्यसमा जोलीले आफ्नो रगतबाट दुलाहाको नाम लेखेकी थिइन्। तर, यो सम्बन्ध लामो समय टिक्न सकेन। बिहेको एक वर्षपछि उनीहरू अलग्गिए।
यसपछि 'पुसिङ टिन' को सुटिङका क्रममा एन्जेलिनाको भेट अमेरिकी अभिनेता बिली बब थार्नटनसँग भयो। सन् २००० मा उनले बिलीसँग बिहे गरिन्। प्रेममा यी दुईले गर्ने उटपट्याङ 'हर्कत' का कारण उनीहरूको जोडी खुब लोकप्रिय पनि रह्यो। घाँटीमा एकअर्काका रगतको सिसी झुन्ड्याएर हिँडेका थिए उनीहरूले। लोकप्रियताको चुचुरोमा पुगे पनि सन् २००३ मा जोली र थार्नटनको सम्बन्ध–विच्छेद भयो। अकस्मात सम्बन्ध ट्टदा जोलीले भनेकी थिइन्– 'यो कुराले मलाई पनि विस्मित बनाएको छ। रातारात हामीहरू पूर्ण रूपमा बदलिएका छौँ।'
सन् २००५ मा एन्जेलिनालाई अभिनेता ब्राड पिट र अभिनेत्री जेनिफर एनिस्टनबीच पारपाचुकेको कारण बनेको आरोप लाग्यो। यस कुराको खण्डन गरे पनि सुटिङ स्थलमा ब्राड र आफूबीच प्रेम पलाएको कुरा चाहिँ जोलीले स्वीकार गरेकी थिइन्। सन् २००६ मा 'पिपुल म्यागजिन' मा एन्जेलिनाले आफू ब्राडको सन्तानको आमा बन्ने पुष्टि गरेपछि सबै छक्क परे। यसरी पहिलो पटक ब्राड र एन्जेलिनाले सार्वजनिक रूपमा आफ्नो सम्बन्ध स्विकारेका थिए।
यसपछि उनी पिटसँगै बस्न थालिन्। उनीहरूको सम्बन्धले संसारभरिका मानिसको ध्यान आफूतिर तानेको छ। यो जोडीका शिलोह, नक्स र बिबियन तीन सन्तान छन् भने म्याडक्स, प्याक्स र जहारा गरी तीन सन्तानलाई यिनले धर्मपुत्र/पुत्री बनाएका छन्।
एक अन्तरवार्ताका क्रममा एन्जेलिनाले भनेकी थिइन्– 'आफ्ना बच्चाहरूमा यति व्यस्त हुन्छु कि मसँग ढुक्क भएर नुहाउने समयसमेत हुँदैन।'
शरीरमा स्तन क्यान्सरको खतरा उत्पन्न गर्ने बीआरसीए–१ जिन भएको पत्ता लागेपछि उनले म्यास्टेक्टोमी सर्जरीबाट आफ्ना दुवै स्तन हटाएकी हुन्। जोलीका छातीमा पाइएको क्यान्सर जिनबाट उनलाई ८७ प्रतिशत ब्रेस्ट क्यान्सर र ५० प्रतिशत गर्भाशयको क्यान्सर हुने खतरा थियो। सन् २००७ मा गर्भाशयमा क्यान्सरका कारण उनले आफ्नी आमा मार्सलिनलाई गुमाएकी थिइन्। सन्तानको भविष्यलाई ध्यानमा राखी आफूले सर्जरी गराएको अभिव्यक्ति जोलीले दिएकी थिइन्। 'सर्जरीपछि पनि मेरो स्त्रीत्वमा कुनै कमी आएको छैन,' उनले भनेकी थिइन्।
समाजसेवासँग जोडिएकीले उनी संयुक्त राष्ट्रसंघकी विशेष दूत र पूर्व गुडविल एम्बेस्डर पनि हुन्। उनले मानवतावादी पुरस्कार पाएकी छिन्। हलिउडमा लामो समय बिताएकी जोली ट्याटूका कारण पनि चर्चामा रहन्छिन्। पिठयूँ, काँध, हात, घाँटीलगायत शरीरका थुप्रै भागमा उनले ट्याटू खोपेकी छिन्।
आफ्नो सुन्दर र संघर्षमय जीवनलाई जोलीले कागजका पानामा उतार्ने भएकी छिन्। उनले आफ्नो आत्मकथा छाप्ने भएकी छिन्। उनको आत्मकथाका लागि प्रकाशकहरूबीच होडबाजी नै चलेको छ। जुनसुकै पब्लिकेसन पनि उनलाई मागेजतिको रकम दिन तयार छ। डेलीस्टार डट युके वेबसाइटका अनुसार जोलीलाई तीन करोड पाउन्डसम्मको रकम अफर गरिएको छ।
प्रकाशित: ३० जेष्ठ २०७१ ०९:५३ शुक्रबार





