३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

'महानायक'का नाममा ठगी

नेपाली फिल्मका 'महानायक' राजेश हमाल र धरानकी मधु भट्टराईको बिहे अहिले चर्चामा छ। तर, पूर्वका ताप्लेजुङ र पाँचथरमा यति बेला हमाललाई देखाएर सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका कलाकार मित्र लिङ्देन र सौजन सुब्बाको चर्चा छ।
गत चैत २२ गते हमाललाई 'सांस्कृतिक कार्यक्रममा सहभागी हुन' ताप्लेजुङमा बोलाएर 'पाथीभरा कसम' नामको फिल्मको शुभ मुहूर्त पनि गराइएको थियो। त्यही बेला हमाललाई किशोर सुब्बाले निर्देशन गरेको फिल्म 'पालाम'को अतिथि कलाकार भन्दै अभिनय पनि गराइयो। तर, दुवै फिल्मका कलाकार तथा हर्ताकर्ता मित्र र सौजनले राजेशलाई ताप्लेजुङ ल्याएको आडमा पैसा उठाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्यो । काठमाडौँमा राजेशको विवाहको रमझम भइरहेको बेला मित्र लिङ्देन र सौजन सुब्बा राजेशकै नाम बेचेर स्थानीयलाई ठगी गरेको आरोपमा थुनामा परे।
राजेश हमाललाई ताप्लेजुङ लगेर कार्यक्रम गरी स्थानीयलाई प्रभाव पारेका मित्र र सौजनले फिल्ममा अभिनय गराइदिने भन्दै विभिन्न व्यक्तिबाट पैसा असुलेको र कार्यक्रम आयोजना गर्ने भन्दै १० हजार रुपैयाँसम्मको टिकट जबर्जस्ती कटाएको आरोपमा उनीहरू पक्राउ परे। कलाकार बनाइदिने र कार्यक्रम गर्ने नाममा ठगेको भन्दै उजुरी परेपछि प्रमुख जिल्ला अधिकारीको आदेशमा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेका उनीहरूलाई दुई सातापछि मंगलवार मुक्त गरियो। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका अनुसार प्रहरी निगरानी र पीडितहरूको खबरपछि उनीहरूलाई पक्राउ गरिएको थियो।
महानायकको नाममा मात्र होइन, नेपाली संगीत क्षेत्रका 'महागायक' का रूपमा चिनिने राजेश पायल राई पनि मित्र लिङ्देनको काम गर्ने शैलीले अप्ठ्यारोमा परिसकेका छन्। गत तिहारको बेला पाँचथरको फिदिममा राजेश पायलको सांगीतिक कार्यक्रम आयोजना गरेका थिए, मित्र र उनको समूहले। मित्रको कार्यशैलीदेखि पहिलादेखि नै परिचित प्रहरीले राति १० बजिसक्दा पनि कार्यक्रम नसकिएपछि आयोजकलाई पक्राउ गरी प्रहरी कार्यालय पुर्‍यायो। आयोजक पक्राउ परेपछि राजेश पायल पनि समस्यामा परे। पूर्वमा बनेका दर्जनौँ फिल्ममा अभिनय गरिसकेका मित्र लिङ्देन एक वर्षअघि पनि पाँचथर सदरमुकाम फिदिममा सांस्कृतिक कार्यक्रमका लागि भन्दै चन्दा उठाएको आरोपमा पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सञ्जीवबाबु खड्काका अनुसार त्यसबेला उनलाई चन्दा संकलनसम्बन्धी मुद्दा चलाइएको थियो। निरीक्षक खड्का भन्छन्, 'कहिले लिम्बुवानको राजनीतिको नाममा र कहिले कलाकारका नाममा चन्दा उठाउने कार्यमा मित्र र सौजन दुवै संलग्न रहेको हाम्रो रेकर्डमा छ।'
राजेश हमाल र राजेश पायल राईजस्ता चर्चित कलाकारलाई कार्यक्रममा निम्त्याएर सर्वसाधारणलाई महँगो टिकट भिडाई पैसा असुल्ने र कतिलाई कलाकार बनाइदिने भन्दै पैसा लिएको आरोपमा मित्र र सौजन पक्राउ परेपछि पूर्वमा त्यसरी नै कलाकारलाई ठग्नेहरू धेरै रहेको चर्चा सुरु भएको छ। ठगीमा परेका कलाकारहरू त्यस्ताको खोजी हुनुपर्ने आवाज उठाइरहेका छन्।
केही वर्षअघि धरानका सागर सिंगललाई त्यसरी नै ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। उनलाई फिल्म बनाउने, कलाकार बनाइदिने जस्ता नाममा पैसा उठाउने, अर्काको फिल्म कपी गरेर बेच्ने आदि आरोप लागेका थिए। आफूले बनाएको फिल्मलाई सीडीमा राखेर बेच्दै हिँड्ने उनलाई पोखरामा प्रहरीले पक्राउ गरी धरान पठाइदिएको थियो। सागरबाट पीडित एक युवा भन्छन्, 'सुरुमा त फिल्म बनाउने भनेर आफन्तहरूसँग पैसा उठाउन लगायो। मैले चिनेजानेकालाई कलाकार बनाउने भनेर पैसा उठाएर बुझाएपछि त मासु किनेर ल्यायो। अनि, यो पैसा खाने–पिउने हो, फिल्म बनाउने अर्कै पैसा छ भन्यो। मलाई समस्या पर्‍यो।'
पूर्वका कलाकार तथा निर्माता किशोर सम्बाहाङ्फे कलाकारिताका नाममा ठग्नेहरूको बिगबिगी भएकाले असली फिल्मकर्मीलाई समस्या परेको बताउँछन्। 'कलाकार बनाइदिने भनेर पैसा उठाउने, विभिन्न सपना देखाएर लगानीकर्ता बनाउने धेरै छन्,' उनी भन्छन्, 'कुनै समय म आफैँ त्यसरी फसेँ र मैले जग्गा बेच्नुपर्‍यो। फिल्म क्षेत्रमा फटाहाहरूको जगजगी भएकाले राम्ररी नबुझीकन हात हाल्नु भनेको डुब्नु हो।'
ताप्लेजुङका डीएसपी मेघराज कँडेल फिल्मका निर्माता, निर्देशक कस्ता हुन् र आयोजक कस्तो हो भन्ने बुझेर मात्र व्यवहार गर्नसके गलत मनसाय राख्नेहरू पाखा लाग्ने बताउँछन्। भन्छन्, 'मित्र र सौजनमात्र होइनन्, यसो गर्ने धेरै हुन सक्छन्। उनीहरूको खोजी गरिरहेका छौँ।'

प्रकाशित: २२ जेष्ठ २०७१ ०९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App