उत्कृष्ट युवा वर्ष खेलाडीको सम्मान पाउनुलाई विमलले आफ्नो करिअरकै ठूलो उपलब्धि भनेका छन्। 'यसमा टिम, परिवार र प्रशिक्षकको सहयोग महत्वपूर्ण छ,' उनले सोमबार भने, 'मेरो सुरुआतका गुरु राजेश बुढाथोकी दाइ र मेरो टिमलाई धन्यवाद दिन्छु। आगामी दिनमा नेपाललाई अझ राम्रो उपलब्धि दिलाउने कोसिस गर्छु।'
नवलपरासीका विमल २ वर्षअघि एन्फा एकेडेमीबाट छनोट हुँदै काठमाडौं आएका हुन्।
गत वर्ष घरेलु मैदानमा आयोजित साफ यु–१६ च्याम्पियनसिपमा नेपाललाई फाइनलमा पुर्यालउन कप्तान विमलले महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले भुटानविरुद्ध ह्याटि्रक गर्दै प्रतियोगितामा कुल ६ गोल गरे। च्याम्पियनसिपको उक्त प्रदर्शनपछि उनी चर्चामा आए। उनले नेपाल एएफसी यु–१६ च्याम्पियनसिपको फाइनल चरण पुग्दा तुर्कमिनिस्तानविरुद्ध ह्याटि्रक गरेका थिए।
उमेर समूहको फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका विमलले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट १५ वर्षकै उमेरमा राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन्।
नेपाली फुटबलको आशाका किरणका रूपमा हेरिएका विमल बेल्जियम र नेदरल्यान्ड्समा ट्रायल दिने पहिलो नेपाली खेलाडीमा पर्छन्। बेल्जियमबाट प्रशिक्षण तथा ट्रायल दिएर उनी भर्खरै स्वदेश फर्किएका हुन्।
बेल्जियममा विमलले एन्डरलेकले क्लबबाट खेल्ने अवसर पाएका थिए। एन्डरलेकले फेनरवाचलाई २–० ले हराउँदै उमेर समूहमा युरोपकै ठूलो मानिने 'फ्युचर कप' को सेमिफाइनल प्रवेश गर्दा विमलले उत्कृष्ट प्रदर्शन गरेका थिए। उक्त खेलमा विमलले एक गोल गर्नुका साथै अर्को गोलका लागि पास मिलाइदिएका थिए।
बेल्जियमअघि नेदरल्यान्ड्स पुगेका उनले त्यहाँको एफसी ट्वेन्टेमा अभ्यास तथा ट्रायल दिएका थिए। बंगलादेशको यु–१६ टिमका डच प्रशिक्षक रेना कोस्टरको सहयोगमा बेल्जियम गएका विमलले युरोपका तीन प्रतियोगिता खेलेका थिए।
विमलले युरोप यात्रा आफ्नो करिअरकै महत्वपूर्ण बन्नसक्ने बताएका छन्। 'मैले बेल्जिय र नेदरल्यान्ड्समा नेपालमा भन्दा फरक शैलीको फुटबल सिक्ने अवसर पाएँ,' उनले भने, 'युरोपेलीहरू टेक्निकल रणनीतिमा धेरै मेहनत गर्दा रहेछन्। हामी फिजिकलमा बढी जोड दिन्छौं।'
प्रकाशित: १९ जेष्ठ २०७१ १९:४५ सोमबार





