काठमाडौँ, महाराजगञ्जस्थित टिचिङ हस्पिटल छिरेका लगभग सबैलाई याद भइरहने एउटा अनुहार छ। चौकीदारको निलो पोशाक लगाएका, घाँटीमा सिटी भिरेका, अग्लो कदका, ठूलो स्वरमा कराइरहने, सहयोगी स्वभावका ती व्यक्ति हुन्, शेरबहादुर प्याकुरेल। धेरैलाई लाग्न सक्छ, उनी ६० देखि ६५ वर्षका होलान्।'केको ६०–६५ नि बाबु, चौरासी पूजा गर्ने बेला हुन लाइसक्यो,' ८१ वर्षीय उनले भने।नुवाकोट, बागेश्वरीका उनले नेपाली सेनाको २८ वर्षे जागिर सकेर टिचिङको चौकीदार जागिर सुरु गरे। अहिले टिचिङकै जागिर गर्न लागेको ३२ वर्ष भइसकेछ। धेरैको सपना हुन्छ, जीवनमा एकपटक भए पनि जागिर पाए हुन्थ्यो। तर, शेरबहादुरले भने अहिले चौथो पटकको जागिरे जीवन बिताइरहेका छन्। सेनाको हवल्दार मेजर पदबाट अवकाश पाएपछि उनले लगत्तै टिचिङमा जागिर पाइहाले। टिचिङबाट पनि अवकाश पाए। तर, दोहोरो पेन्सन नहुने भएकाले उपदानमै जागिर सक्न चाहे। कर्मचारी तथा बोर्डकै करबलमा फेरि चौकीदारकै पदमा जागिर गर्नुपर्ने बाध्यता आइपर्योा। 'यस्तो हट्टाकट्टा छौ। किन छोड्छौ? हामी तिम्लाई छोड्नै दिन्नौँ,' उनले जागिर छोड्छु भन्दा टिचिङका कर्मचारी तथा डाक्टरहरूले भनेको कुरा सम्झे। 'ठीकै छ त। दुःखीगरिब बिरामीको सेवा गर्न पाए अरू के चाहियो र?' उनले यसै भनेर तेस्रो पटक जागिर सुरु गरे। केही वर्षको सेवापछि उनले जागिर छोड्न चाहे। केही दिन अफिसमै नआएर घरै बसे। 'भगवान् (कोइराला) डाक्टर साबले डाकेको डाक्यै गर्न थाल्नुभो,' उनले भने, 'अर्को कोही मान्छे व्यवस्था गरिदिन्छु पनि भनेँ। 'तर, काँ मान्नुहुन्थ्यो र।' उनी फेरि जागिरमै फर्के। उनको स्वर सामान्य मान्छेको भन्दा चर्को छ। औषधोपचारका लागि देशभरिबाट टिचिङमा जम्मा भएका बिरामी र कुरुवाको भीडलाई व्यवस्थित गर्न खोज्दा उनले टाढैबाट बोल्दा पनि चारैतिर सुन्न सकिन्छ। उनको त्यो ठूलो स्वरको सदुपयोग पनि निकै हुन्छ टिचिङमा। 'पहिला स्वर ठूलो थिएन,' उनले भने, 'चिप्लेकिरा खान थालेदेखि स्वर फुट्यो।' हाडजोर्नीको बिरामी सञ्चो हुने भनेर उनले पहाडबाट चिप्लेकिरा मगाएर सेवन गर्न थाले। केही दिनअघिमात्र उनलाई एक जना चिनेको मान्छेले चरीकोटबाट तीन किलो चिप्लेकिरा ल्याइदिएका थिए। २०४० सालमा अम्बाको रुखबाट लडेर उनको करङ भाँच्चिएको थियो। अस्पतालमा काम गर्ने मान्छे, औषधिको सट्टा किन चिप्लेकिरा? उनको उत्तर छ, 'औषधि चाँडै लाग्दैन। चिप्लेकिराले त एकैछिनमा दुखाइ कम गरिदिन्छ। मैले अहिलेसम्म ४५ सय जति चिप्लेकिरा खाइसकेँ। चिप्लेकिरा त के हो र? सर्प, मुसो, भ्यागुतो सबै खाइदिन्छु।' उनी आफू साहसी भएको प्रमाणित गर्न खोज्छन्। सानैदेखि चञ्चल स्वभावका थिए, शेरबहादुर। जतिसुकै चञ्चले भए पनि अरूको सेवा गर्न भने कहिल्यै पछि परेनन् उनी। ६ कक्षा पढ्दै गर्दा १४ वर्षको उमेरमा आर्मीको जागिरे बने उनी। 'उमेर बढाएर १८ पुर्याेएर जागिर खाइयो,' उनले सम्झे, 'हेर्दा पत्याउने पनि थिएँ नि।' सबै डाक्टर, कर्मचारीलाई उनी नजिकबाट चिन्छन्। सबैभन्दा मन पर्ने डाक्टर हुन्, भगवान् कोइराला। उनलाई कार्यकारी निर्देशकबाट हटाइएपछि उनले पनि जागिर छोड्न खोजेका थिए। तर, फेरि अन्य कर्मचारीको करबलमा फर्के उनी। बिरामीलाई सहयोग गर्न उनी पछि पर्दैनन्। 'गाउँबाट आएका विचराहरूसँग कोही हुँदैनन्। सबै कुरा सोध्छन्। सकेसम्म खोजेकै कोठामा पुर्यािइदिन्छु,' उनले भने। कोही एक्कासि तात्ने बिरामी, कुरुवा पनि हुन्छन्। 'उनीहरू आगो भए म पानी बनिदिन्छु,' उनले भने। कसैको झगडा परिहाल्यो भने पनि उनी मध्यस्तकर्ता बनिदिन्छन्। 'दुःखी, गरिब, बिरामीलाई सान्त्वनाको खाँचो हुन्छ,' उनले भने। बिरामीको सेवा गर्दागर्दै आफ्नो जुनी बितेको पत्तो नपाएको उनी बताउँछन्। कहिलेसम्म जागिर गर्ने भन्ने उनलाई थाहा छैन्। भन्छन्, 'नसामा रगत बग्ने बेलासम्म सेवा गर्छु भन्ने आँटेको छु। खै पत्तो छैन, कहिलेसम्म जागिर गरिन्छ?' उनी अहिले १२ हजार पेन्सन र आठ हजार तलब बुझ्छन्। आफूले जति जीवनका तीतामिठा क्षण अरूले नचाखेको बताउने शेरबहादुरलाई लाग्छ, 'जीवन तीतो ओखती हो।'
प्रकाशित: ९ जेष्ठ २०७१ ०९:५३ शुक्रबार