चालीस वर्षअघि ललितपुर युलाखेलका प्रेमलाल रजक झम्सीखेल हुँदै पाटन निस्कन डराउँथे। मकैबारीबीचको सुनसान बाटो पार गर्नु उनका लागि तरबारको धारमा टेकेर हिँड्नुजत्तिकै हुन्थ्यो।साठी वर्षीय रजक अहिले पनि त्यो बाटो भएर पाटन निस्कन डराउँछन्।
सुन्यताले होइन, सडकका दुवैतिर बग्रेल्ती खुलेका रेस्टुरेन्ट, कोलाहल र अस्तव्यस्त पार्किङले।‘उहिले सुनसानले तर्साउँथ्यो,' झम्सीखेलमा पछिल्लो समय बढेको चहलपहलतर्फ इंगित गर्दै उनले भने, ‘अहिले भीडभाडले।'
डेढ दशकअघि खुलेको पहिलो जापानी तामुरा रेस्टुरेन्टको आगमनसँगै यहाँको चहलपहल बढेको हो। त्यसैको सिको गर्दै अरू पसल खुल्न थाले। रजक भन्छन्, ‘बिस्तारै यहाँ त हरेक घर रेस्टुरेन्टजस्तो भइसक्यो।'
रेस्टुरेन्ट एन्ड बार एसोसिएनका अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठका अनुसार झम्सीखेल क्षेत्रमा साना–ठूला गरी सय हाराहारी रेस्टुरेन्ट छन्। सात/आठ वर्षयता व्यवसायले विस्तार पायो। ‘तर यी सबै दिगो बन्न सकेनन्,' उनले भने, ‘यस लाइनमा ज्ञान भएर आएका टिकेका छन्, अन्य पलायन भइरहेका छन्।' लहलहैमा रेस्टुरेन्ट खोल्ने प्रवृत्तिका कारण सबैको व्यापारले सफलता पाएको भन्न सकिँदैन।'
झम्सीखेल क्षेत्रमा जापानी, चिनियाँ, थाई, कोरियन, भियतनामी र कन्टिनेन्टल भनेर चिनिने युरोप–अमेरिकाका इटालियन, फ्रेन्च, स्पेनिस, मेक्सिकन परिकार पाइन्छन्। पहिला–पहिला देशअनुसार फरक रेस्टुरेन्ट हुन्थे, अहिले एउटै रेस्टुरेन्टमा विभिन्न देशका परिकारको स्वाद लिन पाइन्छ।
रेस्टुरेन्टको लहर
झम्सीखेलको तीव्र विस्तारमा राष्ट्रसंघीय मिसन (अनमिन) को प्रवेशलाई मुख्य कारक मान्छन्, रेस्टुरेन्ट व्यवसायी सुदेश श्रेष्ठ। सन् २००७ मा अनमिन भित्रिएपछि त्यसका कर्मचारी बस्ने ठाउँ नै झम्सीखेल बन्यो। ‘नेपालमा सशस्त्र द्वन्द्वसँगै यहाँ खानाको प्रतिस्पर्धा चल्यो,' उनी भन्छन्। यसबाहेक यहाँ विदेशीका सन्तान पढ्ने चर्चित स्कुल रहेकाले पनि विदेशी स्वादका रेस्टुरेन्ट खुल्ने क्रम बढेको हो।
पछिल्लो समय विदेशी परिकारप्रति नेपालीको रुचि र चासो बढ्दै गएको बताउँछिन्, झम्सीखेलकै पुरानो मानिएको न्यु ओर्लिन्स क्याफेकी मेरिना श्रेष्ठ। ‘सुरुवाती दिनमा अधिकांश विदेशी हुन्थे,' उनी भन्छिन्, ‘अहिले त नेपाली सपरिवार आउन थालेका छन्।' नेपालीको विदेश आउजाउ बढेसँगै स्वाद फेरिन थालेको उनको भनाइ छ। न्यु ओर्लिन्सका अतिरिक्त रोड हाउस, डाउन टाउन, सिग्मालगायत नाम चलेका रेस्टुरेन्टमा यतिबेला विदेशीसँगै नेपालीकै भिड देखिन्छ।
भियतनामी स्वाद
झम्सीखेलमा युरोपियन, अस्ट्रेलियन, इन्डियन, चाइनिज, फ्रेन्चलगायत खानाबीच तीव्र प्रतिस्पर्धा चल्छ। यहीबीच एक महिनाअघि खुल्यो– भियतनामी खानाको ‘फो ९९ रेस्टुरेन्ट'। नवीन सारुले सुरु गरेको यसका अधिकांश ग्राहक अमेरिकी छन्। कोरियन, जापानीसँगै नेपाली पनि भियतनामी खानातर्फ आकर्षित भएको सारुले बताए।
नयाँ स्वादका पारखीका लागि नयाँ ठाउँमा व्यवसाय थाल्नु जोखिम भए पनि सफलता पाउँदै गएको उनी बताउँछन्। मसला कम हालिएको खानामा सससहित खान सकिने फरक स्वादका परिकारदेखि पेस भेजिटेबल र जडिबुटी मिसाएर राइसपेपरले र्याप गरिएको समर रोल ग्राहकले रुचाउने गरेको उनले सुनाए। पोर्क, चिकेन वा भेजिटेबल स्वादमा पाइने ‘बुन थिट'ले सबैको ध्यान तानेको उनी बताउँछन्।
सुरुका दिनमा थाइल्यान्डबाट सी फुड तथा पोर्क ल्याउने गरे पनि अहिले भियतनामबाटै यी परिकार आइरहेका छन्। ‘भियतनामी ग्रिल फिस विथ लेमन ग्ा्रास' पारखीले निकै मन पराउन थालेको उनी दाबी गर्छन्। भियतनामी नुडल्स पनि प्रख्यात छ। भियतनामी आइस टी र हट कफीसँगै भारतबाट मगाइने नरिवल जुसको स्वाद पनि यहाँ पाइन्छ।
सन् २००२ मा कामको सिलसिलामा कम्बोडिया पुगेका सरुले त्यहीँ भियतनामी मूलकी महिलासँग बिहे गरे। केही समय अमेरिकाको हवाई सहरमा गएर काम गरे। त्यहाँको भियतानामी खानाको प्रभावले उनी लोभिए। ‘उता त ममः, चाउमिन पसलजस्तो जता पनि भियतनामी खाना देखिन्थ्यो,' उनले भने, ‘त्यसको सिको गर्दै केही गर्ने सोच बनाएँ।' उनको त्यही सोचले नै सन् २०११ मा काठमाडौंको महाराजगन्जमा भियतानामी खाना पसल खुल्यो।
आफ्नो पसलले उति व्यापार नगरे पनि एक वर्षपछि लाजिम्पाटमा खोलिएको भियतङोङ साइगन फोले राम्रो व्यापार गरेको उनी बताउँछन्। त्यसैबाट उत्साहित भएका सारुले झम्सीखेलमा अर्को पसल खोलेका हुन्। ‘मेरो काममा भियतनामी श्रीमतीले साथ दिएकी छन्,' उनले भने।
सहरमा शीतल
राजधानीवासीलाई हरियाली जंगलको महसुस गराउन दुई वर्षअघि खुल्यो– जिजी मचान रेस्टुरेन्ट। कंक्रिटको जंगलमा विस्तार हुँदै गएको सहरमा जंगलको झलक दिने रूखबिरुवासहितको रेस्टुरेन्ट खुलेको क्याप्टेन विकेश बस्नेत बताउँछन्। ‘यहाँका रूखलाई उपयोग गरेर डिजाइन गरेका हाै,' उनी भन्छन्, ‘चितवनका जंगलमा रहेका मचानको अनुभूति दिने प्रसाय गरेका छाैं।'
पे ह्वाट यु फिल
सहरमा चलेका रेस्टुरेन्ट वा क्याफेका आ–आफ्नै मेनु छन्। खानापिच्छे मोल फरक छन्। तोकिएको मोल ग्राहकले तिर्छन्, निस्कन्छन्। यही भीडमा खुलेको फरक पसल हो– मोक्षभित्र रहेको कर्मा कफी शप। जहाँ कफीको मूल्य तोकिएको छैन।
‘कफीको स्वादअनुसार ग्राहकबाट पैसाको अपेक्षा गरेका हौं,' कर्मचारी शशि रेग्मी भन्छन्, ‘यत्ति नै तिर्नुपर्छ भन्ने छैन।' पसलमा रहेका अन्य सामानको मूल्य रहे पनि कफीका लागि फरक शैली अपनाइएको उनी बताउँछन्।
कफी फिउन आइपुगेकी फिनिस डायन कटलरलाई भने अचम्म लागेछ। ‘सुरुमा त छक्कै परेकी थिएँ,' उनले भनिन्, ‘यसले ग्राहकलाई इमानदार बनाउन प्रेरित गर्छ।'
झमेल होइन
पहिले सानो क्षेत्रमा खुम्चिएको झम्सीखेल रेस्टुरेन्ट वृद्धिसँगै फैलँदै गएको छ। ‘अहिले त पुल्चोकको दमकलचोकबाट अघि बढेपछि धोबीघाटसम्म झम्सीखेल भन्न थालेका छन्,' युलाखेलका बलदेव रजक भन्छन्, ‘झम्सीखेलको प्रभावले अन्य टोलको खास नामै हराउन थालिसक्यो।'
पछिल्लो समय कतिपयले यस क्षेत्रलाई झमेल भन्ने गरेको उनलाई मन परेको छैन। ठमेलजस्तै समृद्धितिर लागेकोमा कतिपयले झमेल नाम दिए। ‘तर ठमेल–झमेल होइन यो। झम्सीखेल नै ठिक छ,' उनी भन्छन्। उनले आधुनिकताको नाममा आफ्नो ठाउँको मौलिक नाम फेर्न नहुने सुझाउँछन्।
किन झम्सीखेल?
खुल्ला ठाउँ र स्वच्छ हावापानी भएकाले पनि झम्सीखेल परिवरसहित जाने उपयुक्त गन्तव्य हो। यहाँका अधिकांश रेस्टुरेन्टले हरियाली, शान्त वातावरणसँगै आकर्षक सजावटलाई जोड दिएको देख्न सकिन्छ। कतिपय ठाउँमा त आफंैले खाना पकाएर खाने व्यवस्थासमेत मिलाइएको छ। एकान्त वा परिवारिक वातावरणमा रम्न चाहनेका लागि छुट्टै कोठाको व्यवस्था भएका रेस्टुरेन्ट पनि छन् यहाँ। विभिन्न समयमा हुने लाइभ म्युजिकले यहाँको वातावरणलाई मनोरम बनाइरहन्छ। ‘यहाँ घरकै जस्तो शान्त वातावरण पाइन्छ,' स्थानीय तेजेन्द्रनाथ श्रेष्ठले भने, ‘कोलाहलबाट मुक्त हुन पनि झम्सीखेल उपयुक्त छ।'
समस्या
झम्सीखेलमा फैलिएका रेस्टुरेन्टले समृद्धिको फड्को मारिरहे पनि पार्किङ समस्याका कारण सर्वसाधारण मारमा परेका छन्। कतिपय रेस्टुरेन्टमा आउने ग्राहकले सडकका दुवैतिर गाडी पार्किङ गर्दा बाटो छिचोल्न गाह्रो हुने उनीहरू गुनासो गर्छन्।
‘रेस्टुरेन्टसँग गुनासो छैन तर स्थानीयलाई समस्या नहुने गरी चलाउनुपर्यो,' दमकलचोकका अनिल महर्जनले भने। कतिपय रेस्टुरेन्टले राति अबेरसम्म चर्को स्वरमा गीत घन्काउँदा पनि बाधा पर्ने गरेको उनी बताउँछन्।
प्रकाशित: २६ वैशाख २०७१ २२:१३ शुक्रबार





