नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह झापाबाट चुनाव लड्ने चर्चामाथि व्यङ्ग्य गरेका छन्।
मेयर शाह आगामी संसदीय निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवार बन्ने चर्चा चलेपछि बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्।
उनले लेखेका छन्- ‘स्याललाई काल आयो भने बजार छिर्छ’ भन्ने उखान झैं, काठमाण्डौंमा असफल मेयरका रूपमा जनमत गुमाइसकेको विदेशीको मतियार लुसिफरको उपमा पाएको व्यक्ति अब झापाबाट चुनाव लड्ने चर्चा सुनिएको छ। यदि यो कुरा सत्य हो भने, निर्वाचनमा लज्जास्पद पराजय हुन्छ।’
आफ्नो जन्मथलो महोत्तरीमा समेत राजनीतिक प्रभाव विस्तार गर्न नसकेको आरोप लगाउँदै बस्नेतले बालेनलाई फेसबुकिया प्रधानमन्त्री र विदेशीको मतियारको आरोप लगाए।
झापाबाट चुनाव लड्ने विषयमा टिप्पणी गर्दै बस्नेतले लेखेका छन्, ‘यदि यो कुरा सत्य हो भने, निर्वाचनमा लज्जास्पद पराजय भोगेर गायकबाट राजनीतिमा प्रवेश गरेका यो पात्र अब राजनीतिक जीवनबाट बिदा लिएर आफ्नो पुरानै पेसातर्फ फर्कनुपर्ने अवस्थामा पुग्नेछ।’
पछिल्लो समय सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा काठमाडौंका मेयर शाहले आगामी चुनावमा एमाले अध्यक्ष ओलीविरुद्ध झापाबाट प्रतिस्पर्धा गर्न सक्ने अड्कलबाजी भइरहेका छन्।
सोही विषयलाई लिएर पूर्वमन्त्री समेत रहेका एमाले नेता बस्नेतले बालेनको राजनीतिक भविष्यमाथि प्रश्न उठाउँदै चेतावनी दिएका हुन्।
प्रकाशित: २९ पुस २०८२ १४:५९ मंगलबार





