धन्न पेट भरिँदैमा मान्छेको भोक मेटिँदैन!
‘धन्न' किन भनेको भने, पेट भरिँदैमा भोक नमरेकैले हामी जनावरहरूभन्दा फरक भएका हौं। मानवशास्त्रीहरू भन्छन्, ‘उभिन सक्नु र हातको (खासगरी बूढी औंलाको) प्रभावकारी प्रयोग गर्न सक्नु आदिले मान्छेलाई अरू प्राणीभन्दा विशिष्ट बनाएको हो।मलाई त मान्छेलाई मान्छे बनाएको उसको जिब्रोका स्वादकोषहरूले होला जस्तो लाग्छ। आफ्नो जिब्रोमा भएका मिठासे र असन्तोकी स्वादकोषहरूलाई सन्तुष्ट पार्न पो उसले उभिन र प्रभावकारी ढंगले हात चलाउन थालेको हो कि?
उही ख्याल, उही साँचो। पेट भरिँदैमा पुग्ने भएको भए मानव सभ्यता सा“च्चै नै बोरिङ हुने थियो।
या देवी सर्वभूतेषु क्षुधारूपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः।
विवाद छैन, ‘खानु' हाम्रो सबभन्दा पहिलो आवश्यकता हो। अरू प्राणीजस्तै हामी पनि पहिले त बा“च्नकै लागि खान्छौं। अरूलाई पेटभर खान पाएपछि पुग्छ। छेउमै मृग आइपुग्यो भने पनि अघाएको बाघले केही गर्दैन। मान्छेले कहिल्यै पनि, केही पनि छाड्दैन। उसको साँचो भोक अघाएपछि सुरु हुन्छ। भोकाएकाले चामल भेट्यो भने उसिनेर भात पकाउँछ र कुनै सितनसित निल्छ। अघाएकाले त्यही चामल पिसेर सेलरोटी पकाउ“छ, अनेक परिकार तुल्याउ“छ। भातै खाए पनि निक्कै ढा“चा पारेर खान्छ। चामल रोज्छ, सितन रोज्छ। गिलो साह्रो मिलाउ“छ। उपयुक्त थाल छान्छ। शिष्टाचारपूर्वक पस्किन्छ र शानसित खान्छ।
यति लेखिसक्दा नसक्दा मेरा आँखाअगाडि भोकले ग्रस्त अफ्रिकी बालबालिकाको तस्बिर झुल्कियो। खाने कुरा नपुगेर नै विश्वमा धेरै मान्छे मरिरहेका छन्। तर पेट भरियोस्, ज्यान स्वस्थ होस्, तिनीहरूको पनि भोकको दोस्रो चरणको यात्रा सुरु हुन्छ।
भोकाएर इन्तु न चिन्तु भएका अकबरलाई वीरबलले सोधेका थिए रे, ‘भोक मिठो कि भोजन मिठो महाराज?' धेरै भोक लागेका बेला अहिले पनि हामी उनीहरूलाई सम्झन्छौं, त्यही कथा हाल्छौं। तर तितेआन्द्रो भरिएपछिका आवश्यकता धेरै फरक हुन्छन्।
त्यसपछि भने खानेकुराका अनेक आयामहरू खुल्न थाल्छन्। आ–आफ्नो परम्परा र क्षमताअनुसार हामी संग्रह गर्न थाल्छौं। अनि हामीलाई स्वाद चाहिन्छ, विविधता चाहिन्छ, एउटै खानेकुरालाई विभिन्न परिकारका रूपमा तयार गर्ने र पस्किने कलाको कुरा आउ“छ। अनि स्वाद, रस, सुगन्ध, मिठास अनेक कुरा आउ“छन्। मान्छेका यस्तै आवश्यकता र ती आवश्यकताको पूर्ति गर्ने प्रयत्नहरूले नै संसारलाई यति सुन्दर बनाएको छ।
संसारमा खानेकुरासित सम्बन्धित अनेक शैली, शिष्टाचार र परम्पराहरू जन्मे–हुर्केका छन्। तिनको एक अर्कासित मिसिने र नयाँ परम्पराहरू जन्मिने क्रम जारी छ। खानेकुरा मान्छेको सभ्यता, सम्पन्नता र प्रतिष्ठाको परिचायक पनि भएको छ।
रामदेव ‘छ इन्चको जिब्रोले मान्छेको छ फिटको शरीरमा शासन गरेको छ' भन्दै खाने कुरामा संयमित हुने उपदेश दिन्छन्। सुशासन र कुशासन सबैतिर हुन्छ। मानव देहमा पनि छ। संयम खाने कुरामा मात्र होइन, सबै मानवीय व्यवहारमा आवश्यक छ। उनलाई जवाफ दिन मन लाग्छ, ‘दोष जिब्रोकै हो। मेरो जिब्रो खाने कुराको स्वादमा लोभिन्छ, तपाईंको जिब्रो गाली गर्नमा। रोग लाग्ने र नलाग्ने वा मर्ने र बाँच्ने कुरा खानेकुरामा मात्र निर्भर हु“दैन भन्ने तपाईंलाई पनि थाहा छ, मलाई पनि थाहा छ। कृपया अरूले मिठो मानेर खाइरहेका खानेकुरालाई अपमान नगर्नुहोस्।'
किशोर नेपालको एउटा पुरानो निबन्ध छ, ‘भातको कुनै स्वाद हुँदैन'। खानेकुरा आफैंमा मिठो र नमिठो हुँदैन। त्यससित जोडिएका कथा विचार धारणा आदिले खानेकुराको स्वाद थप्ने वा घटाउने हुन्। हामी केटाकेटी हु“दा रातो चिया काम गर्नेले र दूध चिनी हालेर पकाएको चिया काम लगाउनेले खाने चलन थियो। अहिले ठ्याक्कै उल्टिएको छ। पहाडमा पहिले मालिकका लागि साना भा“डामा धानको भात पाक्थ्यो र खरखेताला मकैको भात खान्थे, अहिले त्यो पनि साटिएको छ। खस्रो–मसिनो, मिठो–नमिठोका परिभाषाहरू फेरिन थालेका छन्। मान्छेका स्वाद र अभिरुचिहरूलाई बजारले रिंगाउन थालेको छ। खानेकुरासित सम्बन्धित गर्नैपर्ने र गर्न नहुने कुराहरू (डुज एन्ड डन्टस्) मा गएका दशकहरूमा आमूल परिवर्तन आएको छ। ‘जातभात' भन्ने शब्दको प्रयोग कम भएको छ। ‘जातले पा'को हातले खा'को' भन्ने टुक्का पनि कम सुनिन थालेको छ। सामान्यतया ‘जसले पकाए–बनाएको जे पनि' चल्ने मान्छेहरूको संख्या दिनहु“ बढिरहेको छ।
तर, जेजे फेरिए पनि भातको जात फेरिएको छैन, ऊ सबैभन्दा माथि नै छ। उखानले ‘सिता खाने भित्ता लागे' भने पनि मधुमेहबाहेक कुनै पनि कुराले चामललाई तल झार्न सकेको छैन। त्यसैले धान नउब्जिए पनि चामल खानैपर्छ। कवि भानुभक्त पोखरेलले ‘उर्वरा नामकी मेरी आमा अरूसित चामल पैंचो लिन्छिन्' लेखेका थिए, पैंचोमात्र होइन, हामी भिक्षा नै मागिरहेका छौं। फलानो र चिलानो देशले चामल र गहुँ अनुदान दिएको सुनिन्छ। धान चामल निकासी गर्न सरकारले कम्पनी नै चलाएको मुलुकमा गत वर्ष भारतबाट १३ अरबको भनेजस्तो लाग्छ, चामल आयात भयो रे। अरू कुनै भाषा वा समाजमा मान्छेलाई खानेकुराको नामबाट नै गाली गरिन्छ कि गरि“दैन थाहा छैन, हामीकहा“ ‘भाते' र ‘भातमारा'को चल्ती कम भएको छैन।
‘कर्णालीमा चामल' वर्षैपिच्छे निकै ठूलो राजनीतिक र आर्थिक विषयका रूपमा सञ्चारमाध्यममा छाउ“छ, संसदमा छलफलको विषय बनाइन्छ। तर वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ कर्णालीमा ‘भोकमरी होइन भातमरी'मात्र भएको मान्छन्। त्यहा“ प्रशस्त र गतिला खानेकुरा पाइन्छन् तर चामल र भातसित जोडिएको प्रतिष्ठाका कारण चामल खान नसक्ने मान्छेलाई ऊ स्वयंलगायत सबैले गरिब ठान्छन्।
स्थानीय खानेकुराको इज्जत बढाउन कसैले पनि र कत्ति पनि प्रयास नगरेकाले यस्तो भएको हो। उदाहरणका लागि मकै मुलुकभर खाइन्छ। ढिँडो, आँटो, च्याँख्ला, मकैको भात यसका नाम र रूप अनेक छन्। तर सामान्यतया त्यो कि त गरिबको, कि त मधुमेहका बिरामीको आहार मानिन्छ। त्यही मकैलाई त्यसरी नै पकाएर तर फरकफरक तरिकाले पस्केर इटालियनहरू पोलेन्ता खान्छन्। ‘आलु खाएर छाक टार्नु' हामीकहा“ गतिलो कुरा मानिँदैन। युरोपका धेरै देशमा आलु मुख्य खानेकुरा हो। उनीहरू उसिनेको आलु नताछिकै कुपुकुपु खान्छन्। आलुको ढिँडोभन्दा गतिलो सुनिँदैन तर ‘म्यास्ड पोटेटो' भन्नेबित्तिकै इज्जतिलो खानेकुरा भन्ने लाग्छ। कोदो हाम्रा लागि कुअन्न हो। कोदे, पाङदुरे पनि गालीका शब्द हुन्। ‘अनिकालको पाङदुर' भन्ने उखानले नै धेरै कुरा भन्छ। तर ‘स्किनलाई राम्रो गर्छ रे' भनेर दक्षिण भारतबाट ‘रागी पाउडर' मगाएर खाने र त्यसैले फेसियल गर्ने मान्छे पनि हाम्रै समाजमा देखिएका छन्। कोदाको रोटी पस्किँदा एकजना युरोपेली पाहुनाले ‘हाम्रामा त यो बेबी फुडमा प्रयोग हुन्छ त्यसैले महँगो हुन्छ' भने। ‘हामीकहा“ चाहि“ कोदाको रस हुर्केकाले र छोक्रा सु“गुरले खान्छन्' भनिदिऊँ जस्तो लागेको थियो भनिनँ। किनभने कुरा कोदोमा मात्र सीमित छैन। ‘जै' नेपाली किसानका लागि गाईलाई खुवाउने घाँस हो र सम्पन्न सहरियाका लागि महँगो र प्रतिष्ठापूर्ण ‘ओटमिल'। जापानीले सोबा भनेर मरिहत्ते गर्ने फापर यहाँ ढिँडो–रोटोकै तहमा सीमित छ। लेखनाथले ‘कौडीमा पनि मिल्कन्छ भिल्लका देशमा मणि' भनेको यस्तै कुरालाई होला।
जति डोरी बाटे पनि गाँठो एउटै हो। राष्ट्रकविले दुई हरफमा नै लेखिदिएका छन्, जीवन धान्ने खानेकुरा प्राकृतिले छानेर खानलायक बनाइदिएको माटाको रस नै हो।
यो अन्न पानीमय जिन्दगानी
यै मृत्तिकाको रस छानिछानी।
त्यसो भए पाककला के हो त? अन्न वनस्पतिका रूपमा प्रकृतिले जम्मा पारिदिएको ‘माटोका रसहरू'लाई मासमिस, पकाइतुल्याई गरेर मिठो, अझ मिठो पार्नुचाहिँ मान्छेको सिप, कला र सोख हो। मिठै छानेर पकाउनु के कला? नमिठोलाई मिठो पार्नु पो कला!
प्रकाशित: २६ वैशाख २०७१ २१:२८ शुक्रबार





