३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

तेक्वान्दोमा चार स्वर्ण थप

काठमाडौं– नेपाली तेक्वान्दो खेलाडीले आइतबार दोस्रो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा चार स्वर्ण जितेका छन् । राखेप कर्भड हलमा जारी प्रतियोगितामा नेपालको स्वर्ण संख्या ६ पुगेको छ । नेपाली खेलाडीले आइतबार थप १ रजत र २ कांस्य पनि जितेका छन् । कुल ६ स्वर्ण, ३ रजत र ५ कांस्यसाथ १० राष्ट्र सहभागी प्रतियोगितामा नेपाल पहिलो स्थानमा छ ।
नेपालले पहिलो संस्करणमा जितेको ६ स्वर्णको बराबरी गरेको छ । यस संस्करणमा सोमबार अझै ६ स्पर्धाको प्रतिस्पर्धा बाँकी छ । पहिलोमा नेपालले ६ स्वर्ण र ८ रजत जित्दै टिम च्याम्पियन बनेको थियो ।
सोमबार नेपाललाई अरुण अधिकारी, ज्ञानी चुनारा, आयशा शाक्य र निशा रावलले आ–आफ्नो तौल समूहबाट स्वर्ण दिलाएका छन् । शनिबार मनिता शाही र सरिता श्रेष्ठले स्वर्ण जितेका थिए ।
पुरुष ५४ केजीमुनि फाइनलमा अरुणले मलेसियाका मोहम्मद अलिफ मोहम्मद रोस्लीलाई पराजित गरे । भुटानका डोटेन दोर्जी र अस्ट्रेलियाका भीम गौतम तेस्रो भए ।
महिला ५७ केजीमुनिको फाइनल भिडन्तमा ज्ञानीले भारतकी सुचित्रा सिंहलाई हराइन् । ज्ञानी पहिलो संस्करणमा भने रजतमा सीमित भएकी थिइन् । भुटानकी सोनाम सोमो र अस्ट्रेलियाकी जेड मिल्ने पारी संयुक्त तेस्रो भए ।
महिला ६७ केजीमुनि आयशाले बंगलादेशकी सहनाज खातुनलाई हराउँदै स्वर्ण जितिन् । आयशाले पहिलो संस्करणमा पनि स्वर्ण जितेकी थिइन् । नेपालकी मीरा काफ्ले र भुटानकी छिरिङ डेमाले कांस्य पदक जितेका छन् ।
महिला ७३ केजी माथि निशाले भारतीय प्रतिद्वन्द्वी प्रियंका सिंहलाई हराएर स्वर्ण जितिन् । भारतकै सैलेङपुल साइलोले तेस्रो स्थानमा चित्त बुझाइन् ।
आइतबार ६ स्वर्णको प्रतिस्पधामध्ये बाँकी दुई स्वर्ण भारतीय खेलाडीले जिते । भारतले प्रतियोगितामा ४ स्वर्ण जितेको छ ।
पुरुष ८७ केजीमुनि पी आनन्दले नेपालका लक्ष्मण महर्जनलाई हराउँदै स्वर्ण जितेका हुन् । भारतका पार्थ विश्वास र नेपालका गोपाल पुटुवार तेस्रो बने । ६८ केजीमा पी श्रवण कुमारले बंगलादेशका मोहम्मद अनवर हुसैनलाई फाइनलमा हराए । पाकिस्तानका मोहम्मद सहवाज र भुटानका तिलकबहादुर गुरुङ तेस्रो भए ।

प्रकाशित: २१ वैशाख २०७१ २१:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App