५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

पोखरामा बहुउद्देश्यीय कभर्डहल

पोखरा-पोखरा रंगशाला परिसरमा बहुउद्देश्यीय कभर्डहल निर्माण हुने भएको छ। फुटबल, हकी र क्रिकेट बाहेकका ‘इन्डोर' खेलका कभर्डहल बनाउन लागिएको कास्की जिल्ला खेलकुद विकास समितिले जनाएको छ।१५ महिनाभित्र सम्पन्न हुने गरी कभर्ड हल निर्माण थालिएको समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए। निर्माण थालिएको हलको शुक्रबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले शुभारम्भ गरे। 
बरालका अनुसार ३ हजार २ सय ७६ वर्गमिटर क्षेत्रफलभित्र करिब ७८ मिटर लम्बाइ र ५० मिटर चौडाइको हल बन्नेछ। १४ करोड ३२ लाख ६२ हजार रुपैयाँमा निर्माण गर्न लागिएको हलमा थोरै क्षेत्रफलमा खेल्न मिल्ने धेरैजसो खेल खेलाउन सकिने उनले बताए। यो करिब २ हजार १ सय दर्शक क्षमताको हुनेछ।
‘पोखरा रंगशालाको मुहार फेर्ने गरी तीन दशकपछि यति ठूलो भौतिक संरचना बनाउन लागेका हौं,' बरालले भने, ‘यसले पोखराको खेलकुदलाई अझै माथि उकास्नेछ।' पोखरालाई खेलकुद सहर बनाउनयसको महत्वपूर्ण भूमिका हुने उनको दाबी छ। बरालका अनुसार कभर्ड हल नहुँदा पोखरामा इन्डोर खेलको प्रतिस्पर्धा गराउन निकै समस्या हुँदै आएको थियो। 
बास्केटबल, ह्यान्डबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिससहित मार्सल आर्टसका खेलका ठाउँ अभाव हुन्थ्यो। यो कभर्ड हल तीनै इन्डोर खेलकुदका लागि उपयोग हुने बरालले बताए। ‘इन्डोर गेमका लागि निकै नै समस्या थियो। अब सहज हुन्छ। यसले पोखरालाई खेलकुदको सहरको रूपमा प्रबर्द्धन गर्न सघाउनेछ,' उनले भने, ‘पूर्वाधार अभावमा अहिलेसम्म केन्द्रमा मात्रै हुने गरेका कतिपय इन्डोर गेमलाई अब पोखरामा ल्याउन सकिनेछ। यसले यहाँको पर्यटन प्रबर्द्धन पनि हुनेछ। 
राष्ट्रिय खेलकुद परिषद्ले नयाँ कभर्डहल निर्माणका लागि बजेट दिएको थियो। बरालका अनुसार नयाँ बन्ने हल अन्तर्राष्ट्रियस्तरको हुनेछ। ‘अन्तर्राष्ट्रियस्तरका इन्डोर गेमका प्रतिस्पर्धा गर्न अब कुनै समस्या पर्ने छैन। केही वर्षपछि नेपालले आयोजना गर्ने साग खेलकुदका विभिन्न खेल यसै हलभित्र गर्न सम्भव हुन्छ,' उनले भने, ‘नेपालले आयोजना गर्दा साग खेलकुदका केहीखेल अब पोखराले पाउनेछ।' अघिल्लो वर्ष पनि रंगशाला परिसरमा बहुउद्देश्यीय सेमी कभर्ड हल बनाउन थालिएको थियो। राष्ट्रिय खेलकुद परिषद्ले दिएको ८४ लाख रुपियाँले सेमी कभर्ड हल निमार्ण गरिएको हो।
आर्थिक वर्ष २०३९/४० पछि पोखरा रंगशालाले यति धेरै रकम पूर्वाधार निर्माणमा पाएको उनले बताए। २०४० सालमा बृहत दोस्रो राष्ट्रिय खेलकुद महोत्सवको अवसरमा पोखरा रंगशालामा भिआइपीसहितको प्यारापिट निर्माण भएको थियो। त्यसपछि निरन्तर मर्मतसम्भार नहुँदा सर्वसाधारण बस्ने प्यारापिट निकै जीर्ण बन्दै गएको छ। भिआइपी प्यारापिट भने यसअघि मर्मत सम्भार भएको थियो। जीर्ण प्यारापिट बनाउन २५ करोड रुपैयाँ लाग्ने समितिको अनुमान छ। ५–५ करोडको दरले ५ वर्षभित्र प्यारापिट मर्मत सम्भार गर्न सकिने गरी बजेट माग गरेको उनले बताए। 
४ सय १७ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा रंगशालाभित्र ब्याडमिन्टन, मार्सल आर्टस कभर्ड हल, भिआइपी प्यारापिटसहितको फुटबल मैदान र चेन्जिङ रुम, अन्तर्राष्ट्रियस्तरको किकेट मैदान, जिल्ला तथा क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय भवनलगायतका भौतिक संरचना छन्।

प्रकाशित: १२ वैशाख २०७१ २१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App