धापासी डोजाङकी निस्माले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्दा खुसी लागेको बताइन्। उनले भनिन्, ‘प्रशिक्षकले मलाई सुरुदेखि नै प्रतियोगितामा राम्रो गर्न सक्छौं भनेर हौसला दिनुभएको थियो। स्वर्ण जित्छु भन्ने लागेको थिएन। म्याटमा उत्रिएपछि राम्रो खेल्ने कोशिस गरें। त्यसकै नतिजामा स्वर्ण हात लाग्यो।'
प्रशिक्षक अञ्जु रावतले निस्माले जितेको स्वर्ण नेपाली आइटिएफका लागि ठूलो उपलब्धि भएको बताइन्। ‘एसियाली स्तरको प्रतियोगितामा नेपालले पदक जित्नु नै उपलब्धि हो। प्रतियोगितामा १७ राष्ट्रले भाग लिएका छन्। पदक जित्ने धेरै कठिन छ। निस्माले जितेको स्वर्ण हाम्रा लागि ठूलो उपलब्धि हो। हामीलाई होम ग्राउन्डको पनि फाइदा भयो।'
यो उपलब्धिले अन्य खेलाडीलाई राम्रो प्रदर्शन गर्न हौसला मिलेको रावतले बताइन्।
राखेप कभर्ड हलमा सोमबार ताजकिस्तानले १९ स्वर्ण जित्यो। काजकिस्तानले ३ र तुर्कमेनिस्तानले १ स्वर्ण जितेका थिए। नेपालका लागि रीना धिमाल, सिर्जना राई र वसन्ती बुढाले स्पाइरिङमा रजत जिते।
रिनाले १६–१७ वर्षको ५३–५८ केजी, सिर्जनाले ५९–६४ केजी र वसन्तीले ६५–७० केजीमा रजत जितेका हुन्। नेपालका गोपाल चन्द र विराज बुढामगरले स्पाइरिङमा कांस्य जिते। गोपालले ४६ केजी तथा विराजले ४९–५१ केजीमा पदक जितेका थिए।
स्पाइरिङ १६ वर्षमुनि महिला ५३–५८ केजीमा सीमा थापा सारु र ४० केजीमुनि प्रशंसा रेग्मीले नेपाललाई कांस्य दिलाए। सोही उमेरको पुरुष ५८–६३ केजीमा नेपालका सचिन्द्र तामाङ कांस्य जित्यो। जुनियर टिम स्पाइरिङमा पनि नेपाली खेलाडीले कांस्य जिते।
प्रकाशित: ८ वैशाख २०७१ २३:५८ सोमबार





