नागरिक उन्मुक्ति पार्टीकी पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी नेतृत्व सम्हाल्ने क्रममा निरन्तर षड्यन्त्र र अवरोधको सामना गर्नुपरेको बताएकी छन्। उनका अनुसार महिला नेतृत्वप्रति देखिने असहिष्णुता, अविश्वास र योजनाबद्ध अवरोधकै कारण अन्ततः आफूले समायोजनको कठिन निर्णय लिनुपरेको हो।
सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले अध्यक्षको जिम्मेवारीमा रहँदा आफूलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने उद्देश्यसहित अवैधानिक राष्ट्रिय भेला आयोजना गर्ने प्रयास गरिएको उल्लेख गरेकी छन्। यस्ता प्रयासलाई निर्वाचन आयोगले समयमै अस्वीकार गरेको र विधानविपरीत गरिएका गतिविधि दीर्घकालीन रूपमा सफल नहुने तथ्य यसबाट पुष्टि भइसकेको उनको भनाइ छ।
उनका अनुसार अध्यक्ष हुँदाहुँदै पनि कहिले सीमित केन्द्रीय सदस्यको हस्ताक्षरको आधारमा त कहिले अवैधानिक भेलामार्फत नेतृत्वबाट हटाउने प्रयासहरू पटक–पटक गरिए। यस्ता परिस्थितिमा पनि आफू लोकतान्त्रिक मूल्य–मान्यता र विधिसम्मत अभ्यासबाट कहिल्यै विचलित नभएको उनले दाबी गरेकी छन्।
उनले संसदभित्र आफूलाई एक्लो पार्ने प्रयास, पार्टी संरचना जोगाउने जिम्मेवारी बोकेकाहरूबाटै पार्टीलाई क्षति पुग्ने गतिविधि, तथा नेतृत्व कमजोर बनाउने योजनाहरू क्रमिक रूपमा अघि बढाइएको बताइन्। पार्टी फुटको पीडा र त्यससँग जोडिएका षड्यन्त्रको असर आफूले नजिकबाट भोगेको उनको भनाइ छ।
स्वार्थका लागि गरिने गतिविधिलाई विद्रोह भन्न नमिल्ने उल्लेख गर्दै उनले त्यसलाई संगठन र प्रणालीमाथिको घातका रूपमा व्याख्या गरेकी छन्। अराजक, स्वार्थी र विघटनकारी राजनीतिक अभ्यासलाई कुनै पनि जिम्मेवार नेतृत्वले स्वीकार गर्न नसक्ने उनको धारणा छ।
महिला नेतृत्वप्रति निरन्तर देखिएको असहिष्णुता र षड्यन्त्रकै कारण आफू नेपाली कम्युनिस्ट पार्टीसँग समायोजन भएको स्पष्ट पार्दै उनले यो निर्णय आवेगमा नभई दीर्घ अनुभव, संघर्ष र सिद्धान्तबाट निस्किएको निष्कर्ष भएको बताएकी छन्।
प्रकाशित: ३० पुस २०८२ १८:४५ बुधबार





