‘भक्का छ ? घोँगी नि ?’ यतिबेला टुँडिखेलमा यही प्रश्न दोहोरिँदै सुनिन्छ। पुसको अन्तिम दिन र माघको पहिलो दिन गरी दुई दिनसम्म चल्ने थारु राष्ट्रिय माघी महोत्सव–२०८२ सुरु भएसँगै थारु समुदायका परम्परागत परिकार चाख्नेहरूको भीड लागेको छ।
औपचारिक माघी पर्वलाई स्वागत गर्दै टुँडिखेलमा राखिएका स्टलहरूमा चहलपहल बढेको छ। कतिपय स्टलमा परिकार पकाउने तयारी चलिरहेको देखिन्छ भने कतिपयमा भक्का, घोँगी, फ्राइ माछालगायत परिकार पाकिसकेका छन्। महोत्सव अवलोकन गर्न आएका अधिकांश आगन्तुक भने विशेषगरी घोँगी र भक्काको खोजीमा देखिन्छन्। मोरङकी सरिता खवासको समूहले दिउँसोदेखि माटोको भाँडोमा कपडाले बेरेर चामलको पिठोबाट तातो भक्का पकाएर बिक्री गरिरहेको छ। ‘दिनभरि भक्का नै धेरै बिक्छ, घोँगी त झन् खोज्ने नै हुन्छ,’ उनले भनिन्।
रत्नपार्कतर्फ कामले आएका विष्णु भुजेल टुँडिखेलमा भइरहेको थारु माघी महोत्सव देखेर उत्साहित भए। थारु समुदायका मौलिक स्वादका परिकारप्रति आकर्षित उनी स्टल घुमेपछि घोँगी र भक्का चाख्न पुगे। परिकार खाइसकेपछि उनले घोँगी महँगिएको भन्दै व्यापारीको ध्यानाकर्षण पनि गराए।
उनको प्रतिक्रिया सुनेर स्टलमा परिकार बेचिरहेकी कैलालीकी केशरी चौधरीले घोँगी महँगिनुको कारण बताइन्। उनका अनुसार विगतमा ९ रुपैयाँमा किनेको घोँगी ५० रुपैयाँ प्रतिकिलोमा बिक्री गर्ने अनुभव अहिले सम्झनामा मात्र सीमित भएको छ। अत्यधिक शीतलहरका कारण घोँगी संकलन गर्न कठिन भएपछि बजारमै महँगोमा किनेर महोत्सवमा बेच्नुपरेको उनको भनाइ छ। अहिले घोँगी २०० रुपैयाँ प्रतिकिलोमा किनेर ४०० रुपैयाँमा बिक्री गर्नुपरेको उनले बताइन्। ‘शीतलहरले घोँगी पाउन गाह्रो भयो, त्यसैले महँगोमा किनेर बेच्नुपरेको हो,’ उनले भनिन्।
थारु माघी महोत्सवमा थारु समुदायका परम्परागत परिकारले दर्शकलाई आकर्षित गरेका छन्। माघी आउनु अगावै थारु समुदायले दुनाटपरी बनाउने र खानपानको जोहो गर्दै करिब महिना दिनअघिदेखि नै पर्वको तयारी गर्ने चलन छ। पुस मसान्तका दिन सुँगुर वा बङ्गुर काट्ने, आगोको धुनी बाल्दै डफ–मादल र धुमरुका साथ रातभर जाग्राम बस्ने परम्परा छ।
माघ १ गते बिहानै नजिकका खोल्सा, नदी, ताल वा तलैयामा स्नान गरी ‘माघ लहान’ गर्ने चलन रहेको छ। स्नानपछि पूजा र भाकल गर्दा सन्तान सुख प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास रहेको थारु समुदायका अगुवाहरू बताउँछन्।
प्रकाशित: ३० पुस २०८२ १८:५१ बुधबार





