नेपाल अध्ययन केन्द्रले गरेको ‘नेपाली लेखनमा समय चेतना' विषयक एकदिने विमर्शको पहिलो शृंखला घोषणा गर्दै नगरकोटमा लेखक, समालोचक र सौन्दर्यचिन्तकहरूलाई जमघट गराएको थियो। कवि श्यामलले आधारपत्र प्रस्तुत गर्दै पछिल्लो समयका लेखकमा बाटो र लक्ष्यको बोध हराउन थालेको टिप्पणी गरे। ‘नेपालसँगसँगै स्वतन्त्र भएका देशहरू कला साहित्यमा धेरै अगाडि बढिसके पनि नेपाली कला चेतना अझै पछाडि देखिन्छ,' उनले भने, ‘म केका लागि लेख्दैछु, कुन परिप्रेक्ष्यमा लेख्दैछु भन्ने स्पष्टता नआउन्जेल नेपाली लेखन अझै पछाडि परिरहनेछ।' लेखनले समय र समाजलाई बौद्धिक नेतृत्व प्रदान गर्नुपर्नेमा समाज र समयको चेतनाभन्दा लेखन पछाडि रहेको जस्तो देखिएको श्यामलले विश्लेषण गरे।
मानवशास्त्री सुरेश ढकालले साहित्य सिर्जनाको स्तर बढेकै देखिए पनि संवादको कमि रहेको औल्याए। ‘समाजसँग प्रत्यक्ष संवाद गर्न नसक्ने सिर्जनाको औचित्य छैन,' उनले भने, ‘समयको चेतना छोएर लेख्न सक्नेका कृति अहिले पनि पाठकले ग्रहण गरिरहेका छन्।'
आख्यानकार बुद्धिसागरले पुस्तक बिक्री र प्रचारप्रसार हुने विषयलार्ई समाजले सकारात्मक रुपमा लिए पनि अग्रज र समकालीन लेखकहरूले भने नबुझेको भन्दै व्यंग्य गरे। लेखकको इज्जत र हैसियत पहिलेभन्दा उकासिएको पक्ष बिर्सन नहुने उनको मत थियो।
सौन्दर्यचिन्तक सरोज धितालले परिवर्तनको पक्षमा उभिनुपर्ने लेखक स्वयंमा रुढी र जड्ता देखिने गरेको बताए। ‘प्रगतिशील क्रान्तिकारी विचारलाई समर्थन गर्छु भन्नेहरूमा झन् जड्ता देखिन्छ,' उनले भने, ‘यस्तो जड्ताले लेखनलाई फाइदा गर्दैन।'
कवि स्वप्निल स्मृतिले अघिल्लो दशकमा नेपाली साहित्यकार समाजलाई चित्रण गर्ने मामिलामा अगाडि देखिए पनि स्थापित लेखकहरूले बुझ्न असमर्थता देखाएकामा आक्रोश पोखे। ‘हामीले आफ्नो समुदायका मुद्दा उठायौं, असमानता र बञ्चितीकरणबारे लेख्यौं,' उनले भने, ‘तर वामपन्थी भनिने लेखकहरूले नै हामीलाई अप्रगतिशील भने, वास्तवमा हाम्रा मुद्दा पनि प्रगतिशील नै थिए।' अहिले पनि निश्चित समूहको वर्चस्वभन्दा समाज बाहिर आउन नसकेको उनको भनाइ थियो।
एमाले नेता भुसालले यथार्थलाई संगठित रुपमा नबुझ्ने र टुक्राटुक्रामा चित्रण गर्ने हुँदा वर्तमान समयको सग्लो तस्बिर साहित्यमा प्रतिविम्बित हुन नसकेको टिप्पणी गरे। ‘किन सिंगो यथार्थ साहित्यमा आउन सकिरहेको छैन भन्नेमा लेखकहरूले आत्मसमीक्षा गर्न ढिलो हुँदैछ,' उनले भने, ‘लिंग, क्षेत्र, जाति, भाषा आदि मुद्दा यथार्थ हुन्, तर एकलाई अर्काबाट छुट्याएर हेर्दा समग्रतालाई न्याय गर्न सकिँदैन, लेखकहरूले यो बृहत्तर दृष्टिकोण छाड्नु हुँदैन।'
कवि तथा संगीतकार आभासले कला, साहित्य र प्रज्ञासम्बन्धी संस्थाहरूमा खुला सोच नआउन्जेल लेखकहरूको मात्रै प्रयत्न पर्याप्त नहुने संकेत गरे। ‘राजनीतिक दलहरूले नै लेखकहरूलाई विभाजित गरेका छन्,' उनले भने, ‘उनीहरूले सर्जकको सिर्जनात्मक क्षमता कुण्ठित गरेका छन्।'
भुसालले थपे, ‘वास्तविक लेखक त्यो हो, जो पार्टीका मुख्यालयहरूले जन्माउन नचाहँदा नचाहँदै पनि जन्मिन सकोस्। तपाईंहरू हाम्रो चाहनाविपरीत लेख्न सफल हुनुहोस्।'
आख्यानकार नारायण ढकालले नेपाली लेखन परम्परामा विमर्श हराउँदै गएका बेला केन्द्रले उत्साहजनक सुरु गरेको भन्दै प्रशंसा गरे। ‘हामीकहाँ एकले अर्कालाई फुर्क्याउने, प्रचार र बिक्रीको लहैलहैमा कुद्ने प्रवृत्ति हाबी छ,' उनले भने, ‘वस्तुपरक आलोचनाको संस्कृति विकास नगरी नेपाली लेखनले अन्तर्राष्ट्रिय आयतन पाउँदैन। साझा र संगठित चेतना जरुरी छ।'
विमर्शमा विमल निभा, राजेन्द्र पराजुली, कृष्णमुरारी भण्डारी, शार्दुल भट्टराई, शकुन्तला जोशी, संगीत स्रोता, अभय श्रेष्ठ, गौतम राई, आत्माराम शर्मा, राप्रउ पोखरेल, श्यामसुन्दर शाह, जनक सापकोटा, उषाकिरण तिमल्सेना, गौतम राईलगायत २५ लेखक सहभागी थिए। नेपाल अध्ययन केन्द्रका कोमल भट्टराईले नेपाली साहित्य र बौद्धिक विमर्शमाथि शृंखलाबद्ध छलफल गर्दै जाने नागरिकसँग बताए।
प्रकाशित: ८ वैशाख २०७१ २०:३६ सोमबार





