३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

चम्किलो अनुहार मलिन मोडलिङ

ग्ल्यामर र मनोरञ्जनको दुनियाँ जति चम्किलो र सुन्दर देखिन्छ, त्यति नै अँध्यारो र कुरूप छ यसको यथार्थ। अखबारका पाना र टीभीका स्त्रि्कनमा अनुहार देखाउन लालायित युवतीहरूको संख्या ठूलो छ। कसैले 'राम्री छस्' भनिदिएकै भरमा सुझ न बुझ मोडलिङमा हाम्फाल्नेहरू भड्खालोमा पर्न अभिशप्त छन्। रातारात 'हिट' हुन जस्तोसुकै 'हट' अवतारमा फोटो खिचाउन तयार छन् एकथरी मोडलहरू। अर्काथरी भने शोषणमा परिरहेका छन्।पेसा बन्न नसकेको मोडलिङमा पैसा छैन, अवसर छैन, सुरक्षा छैन। तैपनि, किन हत्ते गर्छन् युवतीहरू मोडल बन्न? धनबहादुर खड्काले नेपाली मोडलिङ जगतलाई नजिकबाट नियाल्न खोजेका छन्। 
......
केही दिनअघिमात्रै ग्ल्यामर फोटोग्राफर राजभाइ सुवालसँग फोटोसेसन गर्न दुई जना युवती आए । २९ वर्ष फोटोग्राफी गरेका राजभाइले 'सरी, म तपाईंहरूको तस्बिर खिच्न सक्दिनँ' भन्नुपर्यो । कारण– उनीहरूले खिचाउन खोजेको स्याम्पल तस्बिर हेर्दै राजभाइलाई अप्ठ्यारो लाग्यो। ....
म्युजिक भिडियो निर्देशक शंकर बीसीकोे मोबाइलमा मोडल बन्न चाहने युवतीको घण्टी एक दिनमा कम्तीमा १० पटक बज्छ। उनले 'डान्स, अभिनय सिक्नुहोस्, अनि सम्पर्क गर्नुहोस्' भनेर सुझाउँछन्। तीमध्ये केही युवतीलाई बेलुका शंकरसँग सामान्य दोस्ती भएको कुनै केटाले सिफारिस गर्छ, 'ती बहिनी राम्री छिन् शंकरजी, मेरा लागि यत्ति गर्नुपर्योल।' शंकरलाई धर्मसंकट पर्छ। हुँदैन भनौँ, साथी रिसाउँछ। हुन्छ, भनौँ एउटी युवती 'शोषण'मा पर्ने भई। 
...
केही दिनअघि एक युवतीले बागबजारस्थित तस्बिर स्टुडियोमा टुपिसमा तस्बिर खिचाइन्। फोटोग्राफर शिवलाल श्रेष्ठले टुपिसमा खिचिएको तस्बिर देखाएपछि ती मोडलले चित्त बुझाइनन्, 'दाइ, यत्तिको एक्सपोजले त बजारमा हल्ला नहोला जस्तो छ, अझै बबाल खिच्नुपर्योे।' शिवलालले 'बबाल' खिच्न नमानेपछि ती युवती मन अमिलो पार्दै फर्किइन्।
...
मोडलिङ क्षेत्रमा जम्ने भूत सवार भएका युवतीहरूले हालसालै देखाएका हर्कत हुन् यी। चल्तीका फोटोग्राफरको ढोका प्रत्येक दिन कम्तीमा तीन जना मोडलले ढकढक्याउँछन्। ग्ल्यामर दुनियाँको प्रवेशद्वार मानिने फोटोसेसनका लागि पुग्ने अधिकांश युवतीको ध्येय एकैपल्ट चर्चित मोडलको सूचीमा नाम दर्ता गराउने हुन्छ। हिट हुनका लागि जतिसुकै हट तस्बिर खिचाउन उनीहरू तयार देखिन्छन्। त्यसैगरी म्युजिक भिडियोमा वा एडमा अुनहार देखिनुलाई ठूलै उपलब्धि ठानेर 'सानो कम्प्रमाइज' गर्न पछि नहट्नेहरू पनि उत्तिकै छन्। 
लहडमा मोडलिङ
मोडलिङ मोहले गाँजेका मध्ये ९९ प्रतिशत युवती मोडलिङका लागि 'अनपढ' हुने गरेका १५ वर्षदेखि ग्ल्यामर फोटोग्राफी गरिरहेका फोटोग्राफर कविन्द्रमान शाक्य बताउँछन्। उनी भन्छन्, 'मोडलिङ भनेको चर्चित हुने सजिलो माध्यम हो भन्ने धेरैको बुझाइ हुन्छ।' साथीहरूले 'तेरो अनुहार र जीउडाल त मोडल बन्ने खालको छ' भन्नेबित्तिकै मोडलिङका लागि तस्बिर स्टुडियो पुग्ने युवतीको संख्या ठूलो छ। बीस वर्षदेखि ग्ल्यामर फोटोग्राफी गरिरहेका कमल श्रेष्ठले मोडलिङमा गन्तव्यविहीन उडान भर्ने युवतीको बाहुल्य रहेको बताए। उनले भने, 'रमाइलो र लहैलहैमा लागेर यो क्षेत्रमा आउने भएकाले कि बदनाम हुन्छन् कि पलायन।' मोडलिङमा १६ देखि २० वर्ष उमेर समूहका धेरै युवती आकर्षित छन्। टेलिभिजनको पर्दा र पत्रपत्रिकामा देखिने गोराचिल्ला युवतीलाई हेरेर उनीहरू आकर्षित हुन्छन्। तर, पर्दामा देखिएको जस्तो गोरो अनुहार वास्तविकतामा टिकाइराख्न कति कठिन छ भन्ने कुरा उनीहरू सुन्न पनि नचाहने फोटोग्राफर राजभाइ सुवालको अनुभव छ। 

करिअर होइन मोडलिङ
एकचोटि पर्दामा अनुहार देखाएपछि अवसर र प्रतिष्ठाको ओइरो नै लाग्छ होला भन्ने धेरैले सोचेका हुन्छन्। बाहिरबाट हेर्दा त्यस्तो देखिन्छ पनि। यहाँ प्रवेश गर्नुमात्रै पर्याप्त छैन। मोडलिङ एउटा प्रतियोगिता हो, जहाँ टपर (उत्कृष्ट) ले मात्रै अवसर प्राप्त गर्ने चर्चित म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङ बताउँछन्। उनी भन्छन्, 'हरेक शुक्रवारले मोडलको भविष्य तय गर्छ, त्यो शुक्रवार कहिले आउँछ र कतिसम्म रहन्छ भन्ने टुंगो हुँदैन।' शुक्रवार मनोरञ्जन उद्योगमा महŒवपूर्ण दिन हो। यही दिन फिल्म, म्युजिक भिडियो आदि रिलिज हुने गरेका छन्।
मोडलिङ आफैँमा करिअर नभएको ड्रिम अनलिमिटेड नामक मोडलिङ एजेन्सी चलाइरहेका विजय श्रेष्ठ बताउँछन्। उनी भन्छन्, 'धेरैले मोडलिङलाई करिअर ठानेका छन्। तर, यो मिडिया करिअरका लागि आधारभूत माध्यममात्रै हो।' टेलिभिजन, फिल्म र अन्य (समाजसँग नजिक रहेर काम गर्नुपर्ने) क्षेत्रमा काम गर्नका लागि मोडलिङले आत्मविश्वासको तहमात्रै बढाउने उनले बताए। पन्ध्र वर्षदेखि मोडलिङ एजेन्सी चलाइरहेका उनी सुन्दर अनुहारमात्रै यो क्षेत्रमा जम्नका लागि काफी नहुने बताउँछन्। 
मोडलिङका लागि सुन्दर अनुहार र बान्की परेको जीउडाल पहिलो खुड्किलो भए पनि यसले लामो समय काम नगरेका प्रशस्त उदाहरण छन् उनीसँग। आफ्नै एजेन्सीमार्फत मोडलिङ दुनियाँमा छाइरहेका र अन्य युवतीहरूको उदाहरण दिँदै विजय भन्छन्, 'मोडलिङका लागि पनि अध्ययन जरुरी छ।' ऋचा शर्मा, अकेशा विष्ट, केकी अधिकारीहरू मोडलिङमा टिक्नुको कारण अध्ययन पनि रहेको उनको बुझाइ छ। उनीहरूले मोडलिङसँगै भिजेइङ तथा यससँग सम्बन्धित काम पनि गरिरहेकाले टिक्न सजिलो भएको उनी बताउँछन्। 

बिचौलियाका कारण बदनाम
ग्ल्यामर क्षेत्रमा छाउने सपना देखेका धेरैका सपना पूरा हुँदैनन्। भनसुन राम्रै चल्ने नेपाली समाजमा मोडलिङका लागि उपयोगी ज्ञान हासिल गर्नेभन्दा पनि काम दिने व्यक्तिसँग सम्बन्ध बनाउन लागि पर्छन् मोडलहरू। 'चान्स नलिई चान्स नदिने' भनेर बदनाम छ यो क्षेत्र। तर, धेरै मोडललाई चान्स दिएर मोडलिङमा सफल बनाएका म्युजिक भिडियो डाइरेक्टरहरू बिचौलियाको कारण बदनाम भएको बताउँछन्। नेपालको परिप्रेक्ष्यमा मोडललाई मोडलिङमा टिकाउने मेरुदण्डका रूपमा म्युजिक भिडियोलाई लिइन्छ। त्यसैले चल्तीका निर्देशकसँग सम्बन्ध विस्तार गर्न नयाँ मोडलले बिचौलियाको सहारा लिनुपर्छ। आफूलाई चिनेको भन्दै त्यस्ता बिचौलियाले आर्थिक तथा शारीरिक शोषण गर्ने गरेको सुनेको म्युजिक भिडियो निर्देशक आलोक नेम्वाङले बताए। उनले भने, 'दिनदिनैजसो थुप्रै मोडलले म्युजिक भिडियोका लागि इच्छा जाहेर गर्छन्। सबैलाई अवसर दिन सम्भव छैन। अर्काे कुरा– गायक वा भिडियो निर्माणकर्ताको रोजाइ पनि हुन्छ। यही ग्यापमा खेलेर बिचौलियाहरूले गलत फाइदा उठाउँछन्।'
लोकदोहोरी गीतमा सबैभन्दा व्यस्त म्युजिक भिडियो निर्देशक शंकर बीसी आलोकसँग सहमत छन्। उनीसँग दिउँसो धेरै युवतीले मोडलिङको इच्छा प्रकट गर्ने गरेको र प्रत्येक साँझ एउटा बिचौलियाको सिफारिस आउने गरेको अनुभव छ। उनी भन्छन्, 'उसको क्षमता नहेरी नयाँलाई अवसर दिन सकिँदैन। त्यसपछि दोस्रो विकल्प अपनाउँछन्। जसले गर्दा यो क्षेत्रकै बदनाम भइरहेको छ।' उनले उदाहरण प्रस्तुत गर्दै भने, 'मैले भनेपछि शंकरले चान्स दिन्छ भन्दै धेरैले चान्स लिँदा रहेछन्। चिनेकै मान्छेल फोन गरेपछि 'रेस्पेक्ट' गर्नुपर्यो । त्यही कुरालाई भजाउँदै उनीहरू शोषण गर्दा रहेछन्।'
कहाँ छ अवसर?
सौन्दर्य र कलाको संयोजन मोडलिङ हो। विश्वबजारमा मोडलिङको निरन्तर विस्तार हुँदै छ। सुन्दरता र कलामा फेशन थपिएपछि यसको रङ झन् चम्किएको हो। विश्वव्यापीकरणको प्रभावले नेपालमा मोडलिङप्रतिको क्रेज बढे पनि यसको व्यावसायिकता त्यो अनुरूप विस्तार हुन सकेको छैन। विज्ञापन क्षेत्रले मोडल जन्माउने र टिकाउने विश्वव्यापी चलन छ। तर, नेपाली टेलिभिजनमा देखिने झन्डै ९० प्रतिशत विज्ञापन मल्टिनेसनल कम्पनीले उत्पादन गरेको विदेशी भाषाबाट नेपालीकरण गरिएको छ। भारतीय कलाकारका दृश्यमा नेपाली आवाज दिएर प्रसार गरिने विज्ञापनको बोलवाला रहेसम्म नेपाली मोडलले गरिखान नसक्ने बताउँछन्, नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष राजकुमार भट्टराई । 
पहिलोपटक करिब साढे दुई दशकअघि बनेको नेपाली विज्ञापनमा काम गरेबापत मोडल डली गुरुङले १२ सय रुपैयाँ पाएकी थिइन्। हिजोआज पनि मोडलले पाउने औसत पारिश्रमिक त्योभन्दा फरक छैन। नयाँ मोडलले अहिले पनि एउटा विज्ञापनबाट तीन हजारदेखि १५ हजारमात्रै पाउने ड्रिम अनलिमिटेडका सञ्चालक विजय श्रेष्ठ बताउँछन्। विज्ञापन फोटोग्राफी पनि गरिरहेका श्रीधर पौडेल नेपालमा ठूला कम्पनी नभएका कारण मोडललाई विज्ञापनले नजोगाउने बताउँछन्। 
फेसन शो मोडलका लागि अर्काे आकर्षक क्षेत्र हो। नेपालमा अहिले पनि फेसन शो बामे सरिरहेको छ। फेसन शोमा पहिरन प्रदर्शन गर्न र्यााम्पमा क्याटवाक गरेबापत मोडलले राम्रै पारिश्रमिक पनि पाउँछन्। मोडलले एक दिन र्या म्पमा उत्रिएबापत कम्तीमा १० हजारदेखि बढीमा २५ हजार रुपैयाँसम्म लिने गरेका छन्। नेपालमा एकदमै थोरै फेसन शो हुने भएकाले यसले मात्र मोडललाई बचाउन सक्दैन। नेपालीको आफ्नै ब्रान्ड नभएकाले पनि फेसन शो कम हुने गरेको फेसन डिजाइनर उत्तम बनेपाली बताउँछन्। उनी भन्छन्, 'नेपालमा ब्रान्ड र फेसनप्रेमीको संख्या कम भएकाले शोको खर्च नै उठ्दैन।' 
म्युजिक भिडियोमा पनि त्यही हालत छ। टेलिभिजनमा बजाउनुपर्ने भएकाले नयाँभन्दा स्थापित मोडल वा हिरोइनले म्युजिक भिडियोमा चान्स पाउने सम्भावना बढी हुन्छ। धेरै म्युजिक भिडियो निर्माण हुने लोकदोहोरीमा पनि बढीमा पाँच जनालाई मात्रै धान्न सक्ने क्षमता रहेको म्युजिक भिडियो निर्देशक शंकर बीसी बताउँछन्। 
नशाले नछाडेपछि
मोडलिङको सुरुवात धेरैले रहर वा लहडले गर्छन्। अहिलेका चल्तीका फोटोग्राफरहरू राजभाइ, कमल, कविन्द्रमान, शिवलालका अनुसार ९० प्रतिशतले रहरले मोडलिङ सुरु गर्छन्। शिवलाल भन्छन्, 'प्लस टू पढ्दै गरेका वा परीक्षा दिएर बसेकाहरू मोडलिङ क्षेत्रमा आउँछन्।' फुर्सदलाई उपयोग गर्न वा अल्लारेपनले आएकाहरूलाई बिस्तारै मोडलिङको नशाले छुँदै जान्छ। 'उनीहरूको पढाइमा ब्रेक लाग्छ, मोडलिङको इन्जिन पनि तात्दैन। त्यसपछि धेरैको भविष्य गोलमाल हुन्छ,' राजभाइ आफ्नो अनुभवका आधारमा भन्छन्। 
म्युजिक भिडियो निर्देशनमा १५ वर्ष बिताएका आलोक नेम्वाङ भन्छन्, 'मोडलिङको नशा पनि डरलाग्दो नशा हो। यसको दलदलमा फसेपछि उम्किन मुस्किल पार्छ।' मोडलिङको नशाबाट मुक्त हुन पनि नसक्ने र अरू विकल्प पनि खोज्न नसक्नेले बाँच्नका लागि स्वाभाविक रूपमा 'अन्य' विकल्प अपनाउँछन्। यसले गर्दा पनि मोडलिङ क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण वक्र भएको फोटोग्राफर कमल बताउँछन्। 
स्थापित र प्रोफेसनल फोटोग्राफरहरूले उनीहरूको चाहनाअनुसार तस्बिर खिचेर पठाउँछन्। तर, ग्ल्यामर फोटोग्राफीलाई सोख बनाएकाहरूले म्युजिक भिडियो र विज्ञापनमा चान्स दिने भन्दै फकाउँछन्। उनीहरूले सपना देखाउने भएकाले पनि मोडल 'मिसगाइडेड' हुने फोटोग्राफर श्रीधर पौडेल बताउँछन्। उनी भन्छन्, 'फोटोग्राफर नयाँ मोडलका लागि काउन्सलर पनि हो। उसले मोडलिङ क्षेत्रको वास्तविकता बताइदिनुपर्छ। मोडल बन्न चाहने युवतीलाई उसले अति महŒवाकांक्षी हुनबाट रोकेर सही बाटोमा हिँडाउनुपर्छ।'

मोडलिङको आयु 
मनोरञ्जन उद्योगमा सबैभन्दा कम आयु भएको क्षेत्र हो, मोडलिङ। ग्ल्यामर र विज्ञापन फोटोग्राफी सँगै अगाडि बढाइरहेका राजभाइ सुवाल भन्छन्, 'कुनै मोडल बढीमा पाँच वर्ष टिकेको रेकर्ड छ।' किनभने, नेपाली विज्ञापन बजारले दुइटा मापदण्डअनुसार मोडल खोज्छ। एउटा अपचरित राम्रो अनुहार, अर्काे विभिन्न क्षेत्रमा लागेर नाम कमाइसकेका सेलिब्रिटी। नेपालको परिप्रेक्ष्यमा आर्थिक, सामाजिक रूपले लामो समय आफूलाई मोडलिङमा टिकाइराख्न मुस्किल पर्ने निर्देशक नेम्वाङ बताउँछन्। उनले झरना वज्राचार्यबाहेक अर्काे कुनै मोडल मोडलिङ क्षेत्रमा लामो समय टिक्न नसकेको बताए। 
यसकारण अंग प्रदर्शनलाई भर्यानङ बनाएर मोडलिङ गर्ने र मोडलिङलाई पुल बनाएर विदेशमा अलप हुने युवतीको संख्या बढेको छ। नेपाली साइट र पत्रपत्रिकामा फोटो छपाएर मोडलको नाममा दुबई, कतार, सिंगापुर, मलेसियालगायत देशको भिसा लगाउने युवतीको संख्या बाक्लै छ। यो सूचीमा अहिले दक्षिण अफ्रिका पनि थपिएको छ। 
नेपालमा मोडलको कुनै मापदण्ड नभएका कारण पनि यो क्षेत्र बदनाम भएको हो। अन्तर्राष्ट्रिय मापदण्डअनुसार मोडल हुन कम्तीमा ५ फिट ८ इन्च उचाइका साथै आकर्षक अनुहार र जीउडाल आवश्यक पर्छ। नेपालमा मोडलिङको मूलधार म्युजिक भिडियो भएकाले गायकको आफन्त, पैसा हाल्ने र अन्य सम्बन्धले मोडल बनाइन्छन्। जसले गर्दा मोडलिङमा जति धेरैको सहज पहुँच पुगेको छ, त्यति धेरै यो क्षेत्र पनि बदनाम भइरहेको छ।

प्रकाशित: ६ वैशाख २०७१ ००:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App