नयाँ वर्ष मनाइयो?
मनाएँ भन्नुपर्यो । पोखरामा कार्यक्रम थियो। त्यहीँ गएँ। गाएँ। गाएरै बित्यो नयाँ वर्षको पहिलो दिन। यसपालि रिलिज हुने 'हँसिया' फिल्ममा पनि गाएकी छु मैले। त्यो गीत चल्यो भने ०७१ साल मेरा लागि गज्जब हुनेछ।
के–के गर्दै हुनुहुन्छ हिजोआज?
प्रोग्राममै व्यस्त छु। महोत्सव चलिरा'छ। नयाँ वर्षले गर्दा धेरै कार्यक्रम गर्न पाइयो। पढाइ पनि भर्खरै सकियो। एमबीए सकाएँ। त्यसैले 'फुलटाइम' संगीतलाई दिइरहेकी छु अहिले।
होटलहरूमा पनि गाउनुहुन्छ, हैन?
हो। पाँच/छ महिना भयो होटलतिर गाउन थालेको। दिनैपिच्छे गाउँदिनँ। इभेन्टमा मात्रै गाउँछु। साँझ ८ देखि १० बजेसम्म गाउनुपर्छ। म प्रायः सफ्ट अकस्टिक नम्बर सुनाउँछु। आफ्नो र अरूका गीत गाउँछु।
सफ्ट नम्बर पच्ला र होटलका 'स्रोता'लाई? नाच्ने मुडमा आएका हुँदा हुन् सबैजना।
नाच्न त हामीपछि आउने डिजेले नचाइहाल्छन् नि। म चाहिँ मेलोडियस गीत नै सुनाउँछु। कहिलेकाहीँ पुराना–पुराना हिन्दी/नेपाली गीत पनि गाइदिन्छु। साँझपख गीत सुन्दै खाना खान आउनेले मेरो प्रस्तुति मन पराउँछन्।
तपाईसँगै काम गरेका/गर्ने ब्यान्डसँग पनि हामीले कुराकानी गरेका छौँ। उनीहरूका अनुसार होटलमा आउने कतिपय ग्राहक मातेर लट्ठ पर्छन्। तिनले नानाथरी हर्कत पनि गर्छन् रे। गीत गाइरहेका गायक/गायिकालाई हैरान पार्छन् रे। तपाईलाई कत्तिको अप्ठ्यारो पर्छ?
भाग्यवश मैले त्यस्तो अप्ठ्यारो अवस्था झेल्नुपरेको छैन। तर, होटलमा गाउन गाह्रो चाहिँ हुन्छ। केटी मान्छेलाई झन् गाह्रो हुन्छ। एकदमै बुझेर गाउन जानुपर्छ। होटल कस्तो हो? कस्ता ग्राहक आउँछन् ? यी कुरामा ध्यान दिइएन भने समस्या हुन्छ। मेरो केसमा चाहिँ आजसम्म भलादमी ग्राहक–स्रोता नै पर्नुभएको छ।
कतिञ्जेल गाउनुहुन्छ होटलमा?
यो मेरो 'लङ टर्म' योजनाभित्र पर्दैन। मम–ड्याडले पनि होटलमा नगाऊ नै भनिराख्नुभएको छ। हुन त यो नराम्रो काम होइन तर हाम्रो समाजमा अलि अपाच्यजस्तै छ। त्यसैले, धेरै गाउँदिनँ म।
बा–आमाले रोक्दासमेत होटलमा चाहिँ किन गाइरहनुभएको?
संगीतसँग सम्बन्धित केही व्यवसाय गर्ने सोच छ मेरो। त्यसका लागि बजेट जुटाउँदै छु। जति छिटो पैसा जोडिन्छ, त्यति छिटो होटलमा गाउन छोड्छु। अर्को कुरा, यसले मेरो नेटवर्किङ पनि बढाइरहेको छ। के थाहा, होटलमार्फत भेटिएका मान्छे मेरो व्यावसायिक करिअरमा काम पो लाग्छन् कि? फेरि, अहिले टे्रन्ड पनि यस्तै आएको छ। एड्रियन प्रधान, निमा रुम्बा, सविन राई जो पनि होटलमा गाउँछन्। स्टेज (इन्डोर र आउटडोर दुवै) नै अहिले सबैथोक हुन् हाम्रा लागि।
व्यवसाय गर्ने योजना चाहिँ शीतल–सुवानी दुवैको हो?
दिदी (शीतल)ले त सरकारी जागिर खान थालेकी छ। म उठ्दा ऊ कार्यालय पुगिसकेकी हुन्छे। ममीले मलाई पनि ट्राई गर भनिराख्नुभएको छ। तर, म त्यस्तो १०–५ को जागिर खान सक्दिनँ। छटपटी हुन्छ मलाई। फेरि, अरूको खटनमा चल्न पनि गाह्रो लाग्छ। म त आफैं व्यवसाय गरेर अरूलाई काम लगाउने हो।
कान्छी छोरी भएकाले अलि फुक्काफाल हुनुहुन्छ कि कसो?
हो त्यो पनि। शीतल धेरै 'रेस्पोन्सिबल' छ। म चाहिँ 'चलिहाल्छ नि' भन्ने खालकी छु। उसलाई सबैथोक सफा, चिटिक्क चाहिन्छ। म फोहोरी छु। कोठा पनि लथालिङ्ग पार्छु। ऊ भुतभुताउँदै मिलाइदिन्छे। घरमा त तीनै जना (बा, आमा, दिदी) मिलेर गाली गरिराख्छन् मलाई।
मामाघर कत्तिको गइन्छ?
जान्छौँ, बेलाबेलामा। सबैजना उतै (दार्जिलिङ)मै हुनुहुन्छ। चाडबाडमा जान्छौँ प्रायः। यहाँ बस्यो रमाइलै हुन्न। दसैँ–तिहारमा बढी झ्याऊ हुन्छ यहाँ। जम्मा चार जना हुन्छौँ। दसैँ त एकैछिनमा सकिन्छ। पहिले–पहिले तिहारमा समेत बोर हुन्थ्यो। दाजुभाइ कोही नभएकाले खाली बस्नुपर्थ्यो। एक–दुई चोटि त ममीलाई 'भाइ जन्माइदिनू' भनेर रोएका पनि थियौँ सानोमा। पछि, सानीमा, मामाका छोराछोरी जन्मिए। अनि रमाइलो हुन थाल्यो।
आरजे/भीजे दुवै बनिसक्नुभयो। सानै उमेरदेखि काम गर्नु आवश्यक थियो र तपाईंलाई?
मैले ८/९ कक्षामा हुँदा नै 'लिटिल लेडी ब्युटी पेजेन्ट' जितेकी थिएँ। त्यो जितेपछि मलाई रेडियोमा कार्यक्रम चलाउने अफर आयो। गरेँ। जे काम अगाडि आयो, सबै गरेँ त्यो बेला। रेडियोमा बोलेँ। टीभीमा पनि कार्यक्रम चलाएँ। मोडलिङ गरेँ। भिडियोमा खेलेँ। त्यसपछि अलि ठूलो मान्छे बन्नुपर्योो भनेर समाचार पनि पढेँ। र, यो सबै चिजमा मेरो काम छैन भन्ने पनि थाहा पाएँ। त्यसपछि मैले गीतमात्रै गाउन थालेँ। गायनमा चाहिँ म केही गर्नसक्छु भन्ने विश्वास छ।
तपाई दिदी–बहिनीलाई चर्चित बा–आमाको छायाले सधैँ छेक्दो हो नि?
स्वाभाविक कुरा हो त्यो। शीतल–सुवानी भन्नेबित्तिकै कुन्ती र शीलाबहादुर मोक्तान सम्भि्कहाल्छन् मान्छेले। यसलाई छायाले छेकेको भन्दा पनि हाम्रो 'पार्ट अफ आइडेन्टिटी' अर्थात् परिचयको एउटा अंश ठान्छौँ हामी। तर, सुरुसुरु गीत निकाल्दा चाहिँ मम–ड्याड फेमस भएकाले कतिपयले हामीलाई पत्याएनन्। 'कुन्ती मोक्तानले आफैँ गीत गाएर छोरीहरूको नाम बिकाइरा'छे' समेत भने। हाम्रो स्वर अझ दिदीको स्वर ममीसँग बढी मिल्ने भएकाले त्यस्तो आरोप लगाएका होलान्।
उहाँहरू संगीत क्षेत्रका भुक्तभोगी हुनुहुन्छ। छोरीहरूले पनि यही क्षेत्र अँगालेको देख्दा के भन्नुहुन्छ?
राम्रो गर, भलादमी बन भन्नुहुन्छ। आजभोलिको लागि गीत नगाओ, पछिसम्म टिक्ने गीत बनाउन खोज भन्नुहुन्छ। अब त हामी आफैँ पनि बुझ्ने भइसकेका छौँ। खासै सिकाइराख्नुहुन्न।
दिदी–बहिनीमध्ये तपाईं अलि बढी 'फेमस' हुनुहुन्छ। दिदीलाई डाँकोले खाएर घरमा थन्काउनुहुन्छ कि क्या हो?
ऊ फेमस, म फेमस भन्ने छैन। हामी दुवै बराबर फेमस छौँ। जागिरले गर्दा उसले अहिले संगीतलाई टाइम दिन सकिरहेकी छैन। म चाहिँ पूर्णतया संगीतमै लागिपरेकाले अलि बढी मिडियामा आइरहेकी छु। नत्र त अहिले पनि शीतु र म सँगसँगै तपाईंलाई अन्तरवार्ता दिइरहेका हुन्थ्यौँ।
तपाईंको व्यक्तिगत कुरा गरौँ एकछिन। साह्रै घमण्डी र 'मै हुँ' भन्ने खालकी हुनुहुन्छ रे। किन हो यस्तो घमण्ड?
त्यसो पो भन्छन्? मलाई घमण्डी नसोच्दा हुन्छ। म त्यस्तो छुइनँ। अहिलेदेखि नै 'मै हुँ' भनेर फुर्किनथालेँ भने कसले काम देला मलाई? भर्खर त केही गर्ने सुरसारमा छु। धेरै सिकेर, धेरै माथि पुग्ने लक्ष्य छ मेरो। थोरै बोल्ने, नयाँ मान्छेसँग कमै मात्र खुल्ने बानी छ। मेरो ड्याड पनि 'रिजर्भ' स्वभावको हुनुहुन्छ। म बाउ गोता गएकी छु। त्यसैले घमण्डी भनेका होलान्।
सानै उमेरदेखि फेमस भएकाले घमण्ड जागेको हो कि?
के फेमस छु र म? शहरबजारका दुई/चार हजार मान्छेले चिन्लान्। त्यसैलाई फेमस भएको ठानेर नाक फुलाउनु मूर्खता हो।
ब्वाईफ्रेन्ड पनि धेरै बनाउनुहुन्छ भन्ने सुनिन्छ।
साथीहरू धेरै छन्। साथीभन्दा माथि कोही पनि छैन। सिंगल छु।
ब्रेकअप भएको कति भयो?
ब्वाईफ्रेन्ड बनाएर उसलाई टाइम दिने फुर्सदै छैन। कत्ति काम हुन्छ आफ्नो! म सधँै करिअर–ओरिएन्टेड भएँ। कलेजमा छँदा साथीहरू ब्वाइफ्रेन्डसँग कताकता घुम्न जान्थे। म चाहिँ कामै गरिराख्थेँ। ब्वाइफ्रेन्डै बनाइनँ मैले त।
प्रपोज गर्नेलाई चाहिँ के भनेर टार्ने गर्नुभएको छ?
त्यस्तो टार्ने समस्या हुन्न। आफू अग्रसर नभए अरूले के नै गर्न सक्छन् र? अझ, हामीलाई त मान्छेले सानैदेखि चिनिराखेको भएर होला, अझै पनि बच्चै ठान्छन्। त्यसैले प्रपोज गर्ने भन्दा सानो ठानेर माया गर्नेहरू धेरै छन्।
अब सीधै बिहेवारी गर्ने सुर हो?
अहिले २५ वर्षकी भएँ। ३० नपुगुञ्जेल बिहे गर्दिनँ। त्यतिञ्जेल थुप्रै काम गर्छु। डबल डिग्री गर्ने विचार पनि छ। अब साइकोलजीमा मास्टर्स गर्छु। गीतसंगीत छँदै छ।
फिल्म पनि खेल्ने विचार हो?
होइन। अफर थुप्रै आउँछन्। म जहिले रिजेक्ट गर्दिन्छु। फिल्म खेलेर हिरोइन बन्ने काम मबाट हुँदैन। हिरोइनसँग मान्छेको एक्स्पेक्टेसन अलि बढी हुन्छ। म त्यो पूरा गर्न सक्दिनँ। फिल्मका गीतमात्रै गाउँछु। हिरोइन बन्दिनँ।
प्रकाशित: ६ वैशाख २०७१ ००:४१ शनिबार





