उच्च तहका नेतामध्ये सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय भेटिन्छन् उनी। यसमा उनलाई जनताको साथ पनि धेरै छ। शुक्रबारसम्म उनको फेसबुक पेजलाई ४ लाख २८ हजारभन्दा बढीले लाइक गरेका छन्। टि्वटरमा उनका फलोअर ५३ हजार छन्। उनका हरेक ‘स्टाटस' सेकेन्डभरमा सयौंले ‘लाइक' गर्छन्। ‘सेयर' गर्छन्। ‘कमेन्ट' ठोक्छन्।
आफ्नो विचार पढ्ने र प्रतिक्रिया जनाउनेको संख्या उल्लेखनीय रूपमा बढ्न थालेपछि सोसल मिडियाप्रति उनी अझै आकर्षित छन्।
अर्का पात्र छन् जैसन कुँवर। नाइट ब्यान्डका सदस्य।
युट्युबमा नाइट ब्यान्डको दुईवटा गीत लोकप्रिय बन्दैछ — ‘तुइनको छ है भर' र ‘कठोर'। ब्यान्डका सदस्य एवं भिडियो परिकल्पनाकार कुँवरले यी गीत रेडियो र टेलिभिजनमा प्रसारण भएको कहिल्यै थाहा पाएनन्। कसैले कुनै स्टेसनमा सुनेको प्रतिक्रिया दिएका पनि छैनन्। तर, युट्युबमा सुन्ने र सेयर गर्नेको संख्या ५० हजार नाघेको छ।
‘रेडियो/टेलिभिजनले स्थान नदिएको गीतबाट जस्तो प्रतिक्रिया पायौं, त्यो छक्कै तुल्याउने खालको छ,' पेसाले चार्टर्ड एकाउन्टेन्ट भए पनि सांगीतिक ब्यान्डमा सक्रिय कुँवर सामाजिक सञ्जालबाटै सफलता पाउने क्रममा छन्।
यी दुई पात्रमध्ये नेता भट्टराई मूलधारका मिडियामा छाइरहेका छन्, खोजिइरहेका छन्। उनलाई आफ्नो अभिव्यक्तिका लागि सोसल मिडियामै भर पर्नुपर्ने अवस्था छैन। नाइट ब्यान्ड आफ्नो सिर्जनालाई मूलधारका मिडियाले उपेक्षा गरेको ठान्छ। र, यही उपेक्षाको विरोधस्वरुप वैकल्पिक मिडियाबाट प्रकट हुन्छ।
अति खोजिने (भट्टराई) र सजिलै स्थान नपाउने (कुँवर) दुवैथरीका निम्ति ‘आफ्नो माध्यम' बन्दैछ सोसल मिडिया।
जसरी पचास दशकको प्रारम्भमा एफएम स्टेसनहरू सर्वसाधारणको आवाज बन्यो, आज त्यस्तै खालको वा त्योभन्दा सशक्त भूमिकामा छन् सोसल मिडियाहरू। त्योभन्दा सशक्त यसकारण कि एफएममा विचार प्रवाहभन्दा मनोरञ्जन प्राथमिक थियो। गीत सुन्ने र सुनाउने बहानामा थोरबहुत समसामयिक विषयमा पनि चर्चा हुन्थे। ब्लग, फेसबुक, टि्वटरजस्ता सोसल मिडिया भने मूलतः विचारप्रधान छन्। सोसल मिडियामा हुने यही वैचारिक बहसले आन्दोलनको रूप लिएको उदाहरण पनि छ। महिला हिंसाविरुद्ध सय दिन नाघेको ‘अकुपाई बालुवाटार' अभियानलाई जोड्ने कडी सामाजिक सञ्जाल नै थियो। टि्वटर र फेसबुकमा भएको विचार आदानप्रदानले नै यो आन्दोलनमा ऊर्जा भर्ने काम गरेको हो।
आज स्थिति कस्तो भइसक्यो भने समसामयिक राजनीतिदेखि देश–दुनियाँका कुनै पनि हालचालमा झटपट आफ्नो विचार प्रवाह गर्ने बलियो माध्यम बनेको सोसल मिडियालाई मूलधारको सञ्चारमाध्यमले पनि नजरअन्दाज गर्न सक्दैन। त्यही भएर प्रत्येक अखबार, पत्रिका वा सञ्चारमाध्यमका आफ्ना फेसबुक पेज छन्, टि्वटर अकाउन्ट छन्, जसमार्फत उनीहरू एकखालको सामाजिक अन्तर्क्रिया गरिरहेका हुन्छन्।
र, त्योभन्दा महत्वपूर्ण, विचारको माध्यमबाट जोडिन चाहने प्रत्येकले सोसल मिडियामा एकअर्कालाई पछ्याइरहेका छन्, अर्काको कुरा सुन्न, आफ्नो सुनाउन।
अहिले त विषयगत रूपमा टि्वट गर्नेको संख्या पनि बढेको छ। समीरमणि दीक्षितलाई फलो गर्नेले मौसमसम्बन्धी जानकारी पाउँछन्। चन्दन सापकोटाले आर्थिक विषयमा गहन टिप्पणी लेखेका हुन्छन्। उनले सेयर गर्ने लेखहरू पनि त्यस्तै हुन्छ। सेमन्त दाहाल कानुनी तथा संवैधानिक विषयमा टि्वट गर्छन्। आकार अनिल प्रविधिबारे जानकारी दिन्छन्। दमाकान्त जैसी राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्नुका साथै अन्तर्राष्ट्रिय विषयवस्तुका सामग्री सेयर गर्छन्। समाजप्रति व्यंग्य तथा भाषाको विषयमा केदार शर्माको विचार पठनीय हुन्छ।
सोसल मिडियामा चर्चित नामहरूको सूची लामो छ। उनीहरूले सोसल मिडियालाई वास्तविक अर्थमा विचार विमर्शको थलो बनाएका छन्।
लोकतन्त्रको आधारभूत दर्शन भनेकै जनता सर्वेसर्वा हुनु हो। लोकतन्त्रमा जनताले बोल्न पाउँछन्, उनीहरूको कुरा सुनिन्छ। सोसल मिडियाले पनि राजनीतिदेखि सामाजिक र जनचासोका प्रत्येक विषयमा प्रत्येक नागरिकलाई सही अर्थमा अभिव्यक्ति स्वतन्त्रता दिएको छ। उनीहरूले आफ्नो कुरा मूलधारको कुन सञ्चारमाध्यममा आउला भनेर कुरेर बस्नुपर्दैन। आफ्नो व्यथा र वेदना कुन सञ्चारमाध्यममा गएर पोखुँ भनेर टोलाउनुपर्दैन। विचार फुर्यो कि त्यसलाई अभिव्यक्त गर्ने असीमित मञ्च खुला छ, जहाँ हरेक दिन सयकडौं विचारले विमर्शको रूप लिइरहेको हुन्छ। जहाँ हरेक सरकारी निर्णय र राजनीतिक दलका क्रियाकलापमाथि टीकाटिप्पणी हुन्छ। मूलधारका सञ्चारमाध्यम भनिनेहरूले छापेका विषयवस्तुको समीक्षा गर्ने थलो पनि यही बनेको छ।
‘सोसल मिडियामा हुने विचार आदानप्रदान नै लोकतान्त्रिक पद्धतिको आकर्षक नमुना हो,' पत्रकार युवराज घिमिरेले हालै सोसल मिडियाको प्रयोगसम्बन्धी एक तालिममा भनेका थिए, ‘यसले सरकारी निर्णय र राजनीतिक घटनाक्रम मात्र होइन, कसैको विचारमाथि तुरुन्तै समर्थन वा विरोध जनाउने अवसर पनि दिन्छ। असली लोकतन्त्र भनेकै यही हो।'
सक्रिय ब्लगर तथा समाजशास्त्री सञ्जीव पोखरेल यसलाई अभिव्यक्ति स्वतन्त्रतासँगै ‘जवाफदेहीताको हस्तान्तरण' का रूपमा लिन्छन्।
‘पहिले राज्यका निकायहरूप्रति जवाफदेही हुनुपर्थ्यो, अहिले सोसल मिडियाको प्रभावले त्यसप्रति पनि जवाफदेही हुनुपर्ने अवस्था सिर्जना गराएको छ,' उनी भन्छन्, ‘जो मान्छे सोसल मिडियामा छ, उसले विभिन्न मुद्दामा बहस गर्छ, जो छैन उसले पनि आफ्नो कामका बारेमा कस्तो टीकाटिप्पणी भइरहेको छ भनेर चासो लिनुपर्ने भएको छ।'
यसले हरेक व्यक्तिलाई राजनीतिक तथा सामाजिक गतिविधिका साथै मूलधारका भनिने सञ्चारमाध्यममा आउने समाचार र विचारमा आफैं संलग्न हुने अनौठोखाले अवसर दिएको उनको विश्लेषण छ।
‘कहिलेकाहीँ मिडियाले दबाउन खोजेका समाचारसमेत सोसल मिडियाले खोतलेका उदाहरण छन्,' उनी भन्छन्, ‘नेपालमा समेत यस्ता उदाहरण देखिन थालेका छन्। डिजिटल माध्यमले निश्चित वर्गमा रहेको चेतना विस्तार गरेर आममानिसमा छरिदिएको छ।'
मानवशास्त्री सुरेश ढकाल पनि सहमत छन्। ‘निश्चित समुदायको कब्जामा रहेको स्रोतसाधनलाई आममानिसको पहुँचमा पुर्याइदियो डिजिटल माध्यमले,' उनी भन्छन्, ‘यसले समाजलाई पहिलेभन्दा बढी लोकतन्त्रीकरण गर्यो।'
अर्का सक्रिय टि्वटर तथा पत्रकार लेनिन बञ्जाडे सोसल मिडियाले सामाजिक अन्तर्क्रियामा पहुँचको दायरा फराकिलो पारेको टिप्पणी गर्छन्। ‘डिजिटल मिडिया नहुँदो हो त अभिव्यक्ति र छलफलको माध्यम परम्परागत नै भइरहन्थ्यो, अन्तर्क्रियामा सबैको पहुँच हुँदैनथ्यो,' उनी भन्छन्।
पक्कै पनि।
त्यही भएर सबैले सुन्न चाहने एकीकृत माओवादी नेता भट्टराई हुन् वा मूलधारका सञ्चारमाध्यमबाट उपेक्षित भएको ठान्ने गायक कुँवर, दुवैका लागि समाजसम्म प्रस्तुत हुने सजिलो माध्यम सोसल मिडिया नै बनेको छ।
...
भट्टराईलाई सुरुमा त सामाजिक सञ्जाल प्रयोग गर्दा आलोचना खेप्नुपर्छ भन्दै शुभचिन्तकहरूले टाढा रहन सुझाएका थिए। तर, उनले मानेनन्। ‘उच्च तहको राजनीतिक नेतृत्व सार्वजनिक निगरानीबाट टाढा रहने प्रवृत्तिले नै आजका धेरै राजनीतिक विकृति पैदा भएका हुन्। पार्टी र राज्यको नेतृत्वलाई निरन्तर आमजनताको निगरानीमा राखेर नेतृत्वलाई बिग्रनबाट जोगाउन सकिन्छ भने जनतालाई पनि निरन्तर प्रशिक्षित गर्न सकिन्छ,' यही सोचका साथ यो माध्यममा झुम्मिएको उनी बताउँछन्।
उनी सामाजिक रूपमा जवाफदेही हुनुपर्ने सबै क्षेत्रका व्यक्तिले समाजिक सञ्जालबाट नभागी यसलाई सामना गर्ने साहस जुटाउन आग्रह गर्छन्। हजारौंसँग सम्पर्कमा आउनु, तुरुन्तै प्रतिक्रिया सुन्ने अवसर मिल्नुलाई उनी यो माध्यमको लाभका रूपमा व्याख्या गर्छन्।
युवासामु आफ्नो सोच बाँड्ने, अनुभव बताउने, टिप्स दिनेबाहेक विकास निर्माण र आर्थिक विकासका विषयमाथि चिन्तनमनन गर्न उनी यो माध्यमलाई अझ सशक्त बनाउने पक्षमा छन्। यसलाई आमसभाकै विकल्प मान्न भने उनी तयार छैनन्। ‘गाउँका विकट बस्तीमा जानुपर्ने, सभा गर्नुपर्ने अवस्था छँदैछ। तर, संसारमा छरिएका नेपाली, गैरनेपाली र सहरी समुदायमा बहस चलाउन सजिलो भएको छ,' आर्थिक/सामाजिक परिवर्तन र नयाँ शक्ति निर्माणको बहस प्रस्तुत गर्न उनी यी माध्यमलाई समय दिन अझै लागिपर्ने योजनामा छन्।
यो त भयो, सामाजिक बहसको कुरा। आफूलाई मूलधारको घेराबाट बचाउँदै आफ्ना प्रमुख सूचना समाजिक सञ्जालबाट सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय ‘सेलिब्रिटी'हरूको सिको नेपालमा पनि गर्न थालिएको छ। आफ्नो आवाज नदबियोस् र सूचना तोडमरोड नहोस् भन्नेका बीच सोसल मिडिया लोकप्रिय बन्दैछ।
आफ्नो सिर्जना र विचारलाई मिडियाले उचित स्थान नदिएको गुनासो कैयौंको सुनिन्छ। आफूले तयार पारेको गीत रेडियो र टेलिभिजनमा बजाउने चाहना नै नराखेर ‘नाइट' ब्यान्डले युट्युब रोजेको होइन। ‘केहीले हुन्छ भने तर बजाइदिएनन्, केहीले सर्त राखे। हामीले पनि त्यसमा जोड गरेनौं, खुरुक्क गीत युट्युबमा राख्यौं,' कुँवर भन्छन्, ‘गीत निर्माणमा हाम्रो चासो हो। बजाइदेऊ भन्दै हिँड्नु हाम्रो काम होइन।'
केहीले कार्यक्रममा गीत बजाएबापत पैसा तिर्नुपर्ने बताएपछि उनीहरू अझै तर्किए। धेरैजसो कार्यक्रम सञ्चालक आफैं भिडियो निर्देशन गर्छन्। कुँवरकहाँ पनि ‘भिडियो बनाएर बजाइदिन्छौं' भन्नेहरू धेरैपटक आए। तर, उनी गीतलाई ‘भिजुअल पोइम'जस्तो बनाउन चाहन्थे। एकदिनमै सुटिङ सक्ने निर्माणकर्मीबाट सोचेजस्तो काम नहुने बुझेपछि उनको टोली क्यामरा बोकेर गाउँ/सहर पस्यो। करिब एक महिना लगाएर भिडियो निर्माण गर्यो।
‘हामीले संगीतलाई जीविका चलाउने माध्यम बनाएका छैनौं। त्यसैले सोचेजस्तो काम गर्न सक्छौं। आफ्नै खर्चमा जस्तो काम गरेका छौं, त्यसले आत्मसन्तुष्टि दिएको छ,' सोसल मिडियामार्फत सिर्जना सार्वजनिक गर्नेबाहेक अन्य उपलब्धिको मोह राखे मुर्ख्याइँ हुने उनको भनाइ छ। किनभने नेपालमा अझै सोसल मिडियालाई व्यावसायिक सफलताको माध्यम मान्ने बेला भएको छैन भन्छन्, उनी।
संगीत बजारमा अपरिचितजस्तो लाग्ने यो ब्यान्डले दुइटा महत्वपूर्ण काम गर्छ– गाउँघरमा लोप भएका र लोप हुन लागेका बाजा बजाउन र बनाउन सिक्ने।
‘आफूभित्रको उकुसमुकुस शब्द, संगीत र स्वरबाट व्यक्त गरेपछि मुक्ति मिलेजस्तो हुन्छ। त्यही भावना दुनियाँलाई देखाउन युट्युब छँदैछ,' सिएबाट पूर्णकालीन संगीतकार बन्न खोजेका कुँवर आम्दानीका लागि फिल्म संगीतमा आबद्ध भएको बताउँछन्।
‘छड्के', ‘बधशाला' र ‘झोला' फिल्ममा उनको संगीत छ।
...
प्रयोग थरीथरी
रहर, आवश्यकता र आदतले जन्मिन्छ अभिव्यक्ति।
अभिनेता राजबल्लभ कोइरालाको आदत छ अभिव्यक्तिलाई लिपिबद्ध गर्ने। १२ वर्षअघि उनी पोखराको एफएममा उद्घोषक थिए। आफ्ना भावना उनी रेडियोबाट पोख्थे। फिल्म खेल्न थालेपछि अभिव्यक्तिको माध्यम फेरियो तर कुण्ठित भएन।
अहिले उनी अमेरिकामा छन्। ‘सोसल मिडिया नभएको भए आफूलाई एक्लो महसुस गर्नुपर्थ्यो। भावना डायरीमा सीमित हुन्थे। दुनियाँलाई देखाउन सकिने थिएन। आफ्ना स्रोता र दर्शकलाई म हराएको छैन भन्ने सन्देश दिन सकिएको छ,' परदेश पसेपछि आफू थप ‘एक्सप्रेसिभ' भएको बताउने कोइराला सोसल नेटवर्कलाई अभिव्यक्ति पेस गर्ने सुन्दर ‘प्लेटफर्म' मान्छन्।
उनलाई यी माध्यम पोखराका चौतारीजस्तै लाग्छ।
आकाशमा मेघ गर्जिन्छ। उनलाई त्यो आवाजले पोखराको सम्झना गराउँछ। उनी नोस्टाल्जिक बन्छन् र पोस्ट गर्छन्। कहिलेकाहीँ कविता फुर्छ। उनी आफ्ना पंक्ति बासी राख्दैनन्, फेसबुकमा सेयर गरिहाल्छन्।
पूर्णकालीन सञ्चारकर्मी भएर मिडियाको मूलधारमा धेरै वर्ष सक्रिय रहे प्रकाश सायमी। रेडियो, टेलिभिजन र फिल्ममा काम गर्दा उनलाई लाग्थ्यो सञ्चारकर्म आफ्नो नशा हो। केही वर्षदेखि उनी मूलधारबाट साइड लागेका छन्। ‘तर आफ्नो आवाज रोकिएको अनुभव गर्नुपरेको छैन,' फेसबुकमा सक्रिय सायमी भन्छन्, ‘एफएममा काम गर्दा कसै न कसैको आज्ञामा चल्नुपर्थ्यो। त्यतिबेला ठान्थेँ, अफिस जान नपरोस्, घरमै बसेर मन लागेको बेला बोलेर सबैलाई सुनाउन पाइयोस्।'
फेसबुकमा रत्तिन थालेपछि उनलाई त्यतिबेलाको चाहना पूरा भएझैं लाग्छ।
उनी समाजिक सञ्जाललाई जीवन सफल बनाउने माध्यम पनि ठान्छन्।
कलेजका शौचालयको भित्ताजस्तो फेसबुकको ‘वाल' फोहोर बन्न थालेको छ। प्रेममा धोका पाएकाहरू चरित्र हत्या गर्न यही माध्यम प्रयोग गर्छन्। बहुदल आएलगत्तै काठमाडौंका भित्तामा ‘डाँका सांसद' लेख्दै हिँड्ने अज्ञात व्यक्तिको जस्तो हर्कत फेसबुकमा छद्मनामधारीले गरेको देख्दा उनी यसको भविष्यबारे चिन्तित हुन्छन्।
साधारण जनताका लागि यो असन्तुष्टि पोख्नेदेखि सफलता सुनाउने माध्यम बनेको छ। व्यापारीहरू आफ्नो उत्पादनको निःशुल्क प्रचार/प्रसार गर्छन्। कवि, लेखक आफ्ना सिर्जना र विचार प्रस्तुत गर्छन्। हेर्दा लाग्छ– सामाजिक सञ्जालमा सबै अटेका छन्।
यस्ता मिडियाको प्रयोगकर्ता बढेपछि मूलधारको विकल्प भयो भन्ने तर्कसँग पत्रकारिता तथा आमसञ्चार विषयका प्राध्यापक पी खरेल सहमत छैनन्। ‘यसो भन्नु हावादारी कुरा हो। सहरका एलिटहरूमाझ लोकप्रिय भए पनि यो आमजनताको माध्यम बन्न सकेको छैन,' बरु उनी सामाजिक सञ्जालमा चल्ने तर्क/कुतर्क भट्टीमा सुनिने स्तरको बन्दै जानुमा चिन्ता व्यक्त गर्छन्।
विद्यार्थीले इन्टरनेट प्रयोग गरेर अध्ययनमा धेरै प्रगति गरेको उनले पाएका छैनन्। यसलाई सही सदुपयोग गर्नेभन्दा हल्काफुल्का विषयमा इन्गेज हुने साधन बनाउँदा लाभ लिन नसकेको उनी ठान्छन्। मूलधारका सञ्चारकर्मी उत्तरदायी हुनपरेजस्तै सोसल मिडिया चलाउनेले पनि यसलाई पालन गर्नुपर्ने उनको आग्रह छ।
नयाँ प्रविधि, नयाँ समस्या
सोसल मिडियाप्रति जवाफदेही हुनुपर्ने दबाब जति बढ्दैछ, उत्तिकै दबाब सोसल मिडियामाथि पनि छ। धेरैले यसलाई गम्भीर रूपमा लिन थालेका छन्। यसप्रति चासो राख्न थालेका छन्। तर, के सोसल मिडिया आफैंमा गम्भीर भइसकेको छ त? वा यसले देशभरिको धारणा मुखरित गर्छ त? यो सबभन्दा ठूलो प्रश्न हो।
समाजशास्त्री पोखरेल सोसल मिडियाले सामाजिक बहसको ठूलो जिम्मेवारी बोके पनि र यसप्रति जवाफदेही हुनुपर्ने बाध्यता सिर्जना गरे पनि यो विकासकै क्रममा रहेको बताउँछन्।
‘ब्लग, फेसबुक, टि्वटरमा अभिव्यक्त विचारहरूले सामाजिक सशक्तीकरणमा ठूलो भूमिका खेलेको छ, तर यो अझै परिपक्व हुने अभ्यास गर्दैछ,' उनी भन्छन्, ‘यसले वास्तविक रूपमा सामाजिक गतिविधिहरूलाई गहन विश्लेषण गर्ने दिगो र भरपर्दो माध्यम बन्न अझै केही समय लाग्छ।'
पत्रकार किशोर नेपाल डिजिटल दुनियाँमा प्रयोग हुने शब्दले नेपाली भाषाको हुर्मत लिएको आरोप लगाउँछन्। ‘टि्वटर भनेको आफैंमा विचार होइन, विचारको झिल्को मात्रै हो,' उनी भन्छन्, ‘यहाँ त सबै एकसेएक विचारक छन्। उटपट्याङहरूको समूह एकअर्काको प्रशंसामा दिन बिताउँछ, कोही कसैको आलोचक छ भने त्यसलाई सबैतिरबाट खेदेर सिध्याउँछन्।'
कुनै नेतालाई पितृ वा सन्तानको शोक पर्दा पनि डिजिटल प्रयोगकर्ताले लखेट्न नछाडेकोमा नेपाल दुखेसो गर्छन्। ‘छोरीको निधन हुँदा प्रचण्ड रुनु मानवीय कुरा हो। जतिसुकै महान भनिएकालाई पनि सन्तानको मृत्युले जिन्दगीभर दुखाउँछ,' उनी प्रश्न गर्छन्, ‘शोकाकुल पितालाई १५ हजार किन मारिस् भनेर लखेट्न मिल्छ कि मिल्दैन?'
आफूले संसारभरिका टि्वटको ट्रेन्ड अध्ययन गरेको जिकिर गर्दै नेपाल भन्छन्, ‘हामीकहाँ जस्तो छाडा टि्वट कसैले गर्दैन।'
ब्लगर पोखरेल भने यस्ता टिप्पणीको खण्डन गर्छन्। ‘बाराक ओबामाजस्ता अनेक नेताको फेसबुक पोस्ट र टि्वटमा आएका कमेन्ट पढ्यो भने थाहा हुन्छ, अरूतिरका मानिस कुन हदसम्म छाडा गाली गर्छन्,' उनी भन्छन्, ‘मानिस असाध्यै जटिल किसिमको जाति हो, कहिले सकारात्मक हुनुपर्ने कुरा गर्दै हिँड्छ, कहिले आफैं भद्दा गाली गर्छ।'
सोसल मिडियामा अभिव्यक्त हुने अनेक खालका टीकाटिप्पणी त्यसैको प्रतिविम्ब भएको उनको भनाइ छ।
सबभन्दा ठूलो कुरा, जसले सामाजिक रूपमा जवाफदेही हुनुपर्ने कर्म गर्छ, उसले सबै खालका सामाजिक टीकाटिप्पणी ग्रहण गर्न सक्नुपर्छ। यसले सकारात्मक छलफलको सुरुआत मात्र गराउँदैन, आफ्नो कामको सार्वजनिक मूल्यांकन हुनेछ भन्ने चेतले बाँधिएर सजग पनि गराउँछ।
जहाँसम्म देशभरिको आवाज मुखरित गर्छ कि गर्दैन भन्ने प्रश्न छ, त्यसमा प्रविधिमा निर्भर सोसल मिडियाको निम्ति अहिलेको बाधक पनि प्रविधि नै हो। जुन रफ्तारमा यसको प्रयोग बढेको छ, त्यही रफ्तारमा इन्टरनेट पहुँचले छलाङ मार्न सकेको छैन। अझै पनि वास्तविक अर्थमा सहरी क्षेत्र मात्र इन्टरनेट सञ्जालमा जोडिएको छ। जुन दिन ग्रामीण क्षेत्र इन्टरनेटको पहुँचमा जोडिन्छ र सोसल मिडियामा आबद्ध हुन पुग्छ, यसले अझ बृहत रूपमा लोकतान्त्रिक अभ्यासमा बल पुर्याउनेछ।
लोकतन्त्रको सुन्दरता भनेकै अभिव्यक्ति स्वतन्त्रता र जवाफदेहिता हो जहाँ संस्थागत ‘चेक एन्ड ब्यालेन्स' प्रणाली हुन्छ।
सोसल मिडिया त्यसैको पछिल्लो ‘डिजिटलाइज्ड' संस्करण हो।
सिनेमा र संगीतमा डिजिटल प्रभाव
नेपाली सिनेमा र संगीत त्यस्ता दुई उदाहरण हुन्, जसमा डिजिटल प्रभाव सर्वाधिक पर्यो।
फिल्मकर्मी अशोक शर्मा यो परिवर्तन देख्दा आफैं आश्चर्यचकित हुन्छन्। सिनेमा खिचेका रिल बोकेर बम्बई जाने र धुलाउने परम्पराबाट आएका उनी र उनीजस्तै निर्माता निर्देशकले एक दशक नबित्दै प्रविधिमा छलाङ हाने। २०६१ सालयता अढाई वर्ष रिसर्च गरेर नेपाली सिनेमालाई डिजिटल माध्यममा नलगी विकास गर्न नसकिने निष्कर्षमा पुगेको बताउँछन् उनी। १६ मिलिमिटरमा खिचेको दृश्यलाई ३५ मिलिमिटरमा ब्लोअप गरेर देखाइने प्रविधिले गुणस्तर दिँदैनथ्यो। प्रोजेक्टरमा लेन्स राखेर ब्लोअप गर्दा प्रिन्ट राम्रो आउँदैनथ्यो।
‘सुरुमा सेलुल्वाइड प्रविधिका लागि प्रिन्ट ल्याब चलाउने लगायतले हाम्रो कदमको विरोध गरे,' डिजिटल युगमा प्रवेश गर्दाको अनुभव सुनाउँछन् शर्मा, ‘नेपाली फिल्मका दर्शक घट्दै थिए, डिजिटल प्रविधि समातिसकेको हिन्दीले बजार लिँदै गयो। त्यसैले नेपाली सिनेमाको प्रभाव बढाउन डिजिटल युगमा गयौं।'
सस्तो मूल्यमा राम्रो प्रविधि र गुणस्तर पाएको शर्मा सम्झन्छन्। उनका अनुसार नेगेटिभमा कम्तीमा पाँच लाखसम्म खर्च हुन्थ्यो। प्रिन्टमा पाँच–छ लाख जान्थ्यो। पाँच–छ वटा प्रिन्ट बनाउँदा, अनि साउन्डको गुणस्तर दिँदा थप खर्च हुन्थ्यो। मोनो साउन्डमा बन्ने नेपाली फिल्मलाई डिजिटलले हलभरि गुन्जिने ‘सराउन्डिङ साउन्ड' ले विस्थापित गरेको उनी बताउँछन्।
‘पहिले एउटा गाडी ध्वस्त भएको सिन देखाउँदा साँच्चै ध्वस्त भएको देखाउनुपर्थ्यो वा कुनै महँगो उपाय निकाल्नुपर्थ्यो,' शर्मा सम्झन्छन्, ‘पछि त डिजिटल ग्राफिकको माध्यमले सघायो। यस्ता थुप्रै उदाहरण छन्, जसले नेपाली सिनेमामा क्रान्ति ल्यायो।'
उनी जिकिर गर्छन्, ‘सगरमाथा र बुद्धको नामले चिनिने नेपालमा अब नयाँ पहिचान थपिँदैछ। नेपाल संसारको पहिलो देश हो, जो सम्पूर्ण रूपमा डिजिटल माध्यममा फिल्म बनाउँछ।'
शर्माका अनुसार भारत पनि डिजिटाइज्ड सिनेमाको देश दाबी गर्दैछ, तर भइसकेको छैन। हलिउड २०१४ मा प्रिन्ट–फ्री हुने योजनामा छ। युरोपेली उद्योगहरू अर्को वर्ष २०१५ मा प्रिन्ट–फ्री हुने योजनामा रहेको शर्मा सुनाउँछन्।
सिनेमाभन्दा पहिले डिजिटल प्रविधि अँगालेको क्षेत्र हो संगीत। डिजिटलमा गएपछि क्यासेट उत्पादन हुन छाडेको छ, किनकि बिक्रीका लागि कुनै बजार छैन। एउटा चिप्सभित्र हजारौं गीत भण्डार गर्न सकिने भएपछि कसले क्यासेट किनिरहने!
पचासको बीच दशकतिर रामकृष्ण ढकालका एल्बमको कभरमै लेखिएको हुन्थ्यो– मुम्बईमा रेकर्ड गरिएको। गीत रेकर्ड गर्न मुम्बई जानुपर्ने चलन अहिले बन्द भइसकेको छ। डिजिटल प्रविधिले काठमाडौंमा गुणस्तर दिन थालिसकेको छ।
संगीतकार तथा गायक आभासका विचारमा प्रविधिले गुणस्तर बढाए पनि स्वर र बाजाको सक्कली आवाजलाई असर पारेको छ। डिजिटल जमानामा समेत वन–टेक एनालग रेकर्डिङ प्रविधिबाट समूहगत रेकर्ड गराउँदै आएका उनी प्रविधिसँग गुनासो नभए पनि मानवीय भूमिका खुम्चिएकामा असन्तुष्ट छन्।
‘रेकर्डिङमा सहजता आएको सही हो, तर कलाकारलाई आर्थिक हिसाबले नोक्सान भएको देखिन्छ,' उनी भन्छन्, ‘अहिले त सिडी पनि बिक्दैन। पाइरेसी रोक्नेतिर कसैको ध्यान छैन।' हुन पनि मन परेको गीत ब्लुटुथबाट यसै सार्न सकिन्छ, डाउनलोड गर्न सकिन्छ। पैसा तिर्ने कुरै छैन।
विदेशतिर निश्चित संख्यामा हिट्स खाएका गीतलाई युट्युब स्वयंले पैसा दिने गरे पनि नेपाली गीतका लागि त्यो अवसर अझै टाढा रहेको आभास बताउँछन्। ‘हामीकहाँ डिजिटल प्रविधि अझै भरपर्दो भइसकेको छैन, यहाँ त बैंकको कार्डबाटै पैसा ठगिने गरेका उदाहरण छन्,' उनी भन्छन्, ‘प्रविधिको सही उपयोग भएन भने नकारात्मक असर पर्छ।'
डिजिटल अपराध!
डिजिटल प्रविधिका ‘बाइप्रोडक्ट' देखा पर्न थालिसकेकै छन्। पछिल्लो समय अरू अपराधको तुलनामा साइबर अपराध बढी देखिनु पनि यही प्रविधि सहज ढंगले उपलब्ध हुनु कारक हो। फेसबुक प्रयोगकर्ता ह्वात्तै बढेसँगै यही माध्यमबाट अपराध गर्नेको संख्याले अरू अपराधी संख्यालाई उछिनेको छ। किनकि, फेसबुक चलाउन केवल दुई चिज भए पुग्छ। एक, कम्प्युटर/मोबाइल। दुई, इन्टरनेट।
गत वर्ष फेसबुकजस्ता सामाजिक सञ्जालको माध्यमबाट हुने साइबर अपराधसम्बन्धी उजुरी ५८ प्रतिशत परेको तथ्यांक हनुमानढोकासँग छ। इमेलबाट धम्की दिने, ब्ल्याकमेलिङ गर्ने आठ प्रतिशत छन्। डिजिटल डाटा एक्सेस गर्ने एक प्रतिशत पुगिसकेका छन्। अश्लील वेबसाइट चलाउने तीन प्रतिशत छन्। तीन प्रतिशत अपराध एसएमएसको माध्यमबाट हुने महानगर प्रहरी अनुसन्धान महाशाखा हनुमानढोकाको रेकर्डमा उल्लेख छ।
हनुमानढोकाले तीन वर्षको तुलनात्मक तालिका सार्वजनिक गरेको छ। त्यहाँ उल्लिखित आँकडाअनुसार डिजिटल अपराधसम्बन्धी उजुरी बर्सेनि दुई गुनाभन्दा बढी पर्न थालेका छन्।
फेसबुकमा फेक आइडी बनाउने, व्यक्तिगत र आपत्तिजनक फोटो पोस्ट गर्ने, गालीगलौज र धम्की दिनेजस्ता अपराधसम्बन्धी उजुरी आर्थिक वर्ष २०६७/६८ मा १२ प्रतिशत परेका थिए। दोस्रो वर्ष उजुरी बढेर ३२ प्रतिशत पुग्यो। गत वर्ष झन्डै दोब्बर अर्थात् ५८ प्रतिशतसम्म पुग्यो।
इमेल धम्की पहिलो वर्ष तीन प्रतिशत थियो। दोस्रो वर्ष पाँच प्रतिशत। गत वर्ष आठ प्रतिशतसम्म पुगेको छ। यसरी इमेलबाट हुने अपराधको अनुपात पनि बढेको बढ्यै छ। गत वर्ष एक प्रतिशत अपराधी एटिएम कार्डमार्फत् समेत देखिन्छन्। तर पहिलो वर्ष र गत वर्ष शून्य छ।
साइबर दुरुपयोगबाट हुने अपराधबारे जनचेतना बढेकाले यस वर्ष स्वात्तै घटेको बताउँछन् महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाका साइबर अपराध हेर्ने विभागका इन्स्पेक्टर पशुपति राय।
‘अहिले पनि दैनिक १० वटाजति उजुरी हामीकहाँ पर्ने गरेका छन्, तीमध्ये केही त गम्भीर प्रकृतिका पनि हुन्छन्,' उनले नागरिकसँग भने, ‘अघिल्ला तीन वर्षको बढ्दो अनुपातमा यसपालि घटेको देखिन्छ।' लगातारको प्रहरी कारबाही र जनचेतनाका कारण अपराध घटेको उनले बताए।
साइबर अपराधको उजुरी पर्ने उमेर समूह सबैभन्दा बढी प्लस टु पुस्ता देखिन्छ। किशोरकिशोरी र भर्खरै प्लस टु सकेर स्नातक पढ्न थालेकाहरूबाट अधिकांश उजुरी आउने गरेको राय बताउँछन्। ‘उजुरी पुरुष र महिला दुवैको अनुपात उस्तै देखिए पनि महिला नै बढी पीडित बनेको पाएका छौं,' उनी भन्छन्, ‘प्रेम सम्बन्ध, प्रेममा पाएको धोका आदि कारणले चरित्रहत्या गर्न सबैभन्दा सजिलो माध्यम फेसबुक भएको छ।'
फेक आइडी बनाएर फेसबुकमा दुःख दिनेहरूको संख्या पनि ठूलो छ। विभिन्न नाममा एउटै व्यक्तिले आइडी बनाउँदै व्यक्तिगत फोटो सेयर गर्ने गरेको पाइन्छ।
सूचना र प्रविधिको प्रयोगसँग देखिएको नयाँ प्रकारको यो अपराध सन् १९७१ बाट सुरु भएको पाइन्छ। अरू अपराधभन्दा यो बढी सुलभ मानिन्छ। चलाख मानिसले प्रविधि दुरुपयोग गरेकै भरमा एकै समयमा धेरै ठाउँमा सञ्चार हुनेगरी कसैको बेइज्जती गर्न सक्छ। अहिले त सामाजिक सञ्जालका कारण यो अपराधीका लागि सहज पनि बनेको छ।
साइबर अपराधका लागि कम्प्युटर, मोबाइलमा केवल इन्टरनेट भए पुग्छ। त्यसैकारण तत्काल कसैले चाहे आवेशको भरमा साइबर अपराध गर्न सक्ने सम्भावना बढी हुन्छ।
एटिएम मेसिनमै स्क्यानर जोडेर साइबर अपराध गर्ने गरेकोसमेत प्रहरी अनुसन्धानबाट देखिएको छ। अर्काको डोमेनभित्र गएर सूचना ह्याक गर्ने, पैसा चोर्ने काम पनि साइबर अपराधीले गर्ने गर्छन्। डिजिटल दुनियाँमा अपराधीको चिन्तन पनि डिजिटाइज्ड भइसकेको देखिन्छ।
प्रकाशित: ६ वैशाख २०७१ ०२:०९ शनिबार





