'लाग्यो भने जिन्दगीमा अलि कति बोर
जान्छु म त कवि बन्न उतै ज्ञानेश्वर।'
सिसौका रुखहरुले ढाकेको जानेश्वर वन र आडैको नारायणी नदी देखेपछि कवि धनराज गिरीले यस्तो हरफ लेखे। कविले कविता पनि त्यहीँ नै सुनाउनुपर्ने थियो। त्यसैले वन कार्यालय परिसरमा भेला भएका कविहरु रचना रसिलो र ओजिलो बनाउन नारायणीको बगर र वन वरपर फैलिएर बसेका थिए।
'के मिलेन रुखहरु त्यसै सुकेका छन्,
ऋाफ्नो वैंश हराएर त्यसै झुकेका छन्'
पतझड मौसमका कारण उजाड भएका रुखहरुलाई कविताका हरफमा यसरी उतारे गीतकार प्रेमविनोद नन्दनले। लामो समयदेखि संरक्षण कविता आन्दोलनमा संलग्न युवा कवि भूपिनदेखि नव सर्जक र पाका कविहरु गोविन्दराज विनोदी, नारायणप्रसाद खनाल, खनाल रेवती रवणसम्मले स्थलगत रचना पाठ गरेर साहित्यका स्रोतालाई नोलौ स्वाद चखाए।
'नदी र प्रकृतिलाई कवि तथा साहित्यकारहरुले आफ्नो रचनामा समावेश गर्न छुटाउँदैनन् तर तिनैका अगाडि बसेर रचना कोर्ने चलन भने त्यत्ति छैन। आफ्नो माटो र परिवेशका आड लागेर लेख्दा मैले छुट्टै अनुभूत गरँे,' गीतकार प्रेमविनोद नन्दनले अनुभूति सुनाए।
वन, वन्यजन्तु र पर्यावरणको संरक्षणमा लागेको सामुदायिक वनले साहित्यलाई पनि सक्दो सहयोग गर्ने योजना स्वरुप कार्यक्रमको सहआयोजक भएको ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष वसन्तकुमार थापाले बताए। स्थलगत रचना अभियानलाई आउँदा दिनमा पनि जारी राख्ने प्रतिष्ठानका अध्यक्ष सिर्जन अविरलले बताए।
प्रकाशित: १६ चैत्र २०७० २१:५४ आइतबार




-600x400.jpg)
