नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताद्वय झलनाथ खनाल र वामदेव गौतमले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्।
खनालले इलाममा आफूले लड्दै आएको निर्वाचन क्षेत्र युवाहरूलाई छाडेको बताएका छन्। आफूले विगतमा लड्दै आएको क्षेत्रमा नयाँ र युवालाई ठाउँ दिन चुनाव नलड्ने उनले बताए ।
खनाल इलाम–१ बाट लामो समयदेखि चुनाव लड्दै आएका थिए। २०४८ सालदेखि उनी निरन्तर उम्मेदवार बन्दै आएका थिए। २०५६ र २०७९ सालमा पराजित भएपनि त्यसयता निरन्तर चुनाव जितिरहेका थिए।
नेकपाले इलाम–१ मा रणबहादुर राई र इलाम–२ मा ओमबहादुर गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
नेकपाका अर्का नेता वामदेव गौतम पनि यसपटक उम्मेदवार नबन्ने भएका छन्। गौतम बर्दिया र प्यूठानबाट समेत उम्मेदवार बन्ने तयारीमा थिए। नेकपाले बर्दिया–१ मा विष्णुप्रसाद थारू र बर्दिया–२ मा सुरेश पन्तलाई उम्मेदवार बनाएको छ। प्यूठानमा भने कृष्णध्वज खड्कालाई उम्मेदवार बनाउने तयारी गरिएको छ।
नेकपाका नेताहरूका अनुसार गौतम प्यूठानमा उम्मेदवारको नाम चित्त बुझाएको छैन। यही असन्तुष्टिका कारण पनि उनी यसपटक उम्मेदवार नलड्ने मनस्थितिमा पुगेका हुन्।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नकै लागि उनले राष्ट्रिय सभाबाट राजीनामा दिएका थिए। यद्यपि उनको कार्यकाल आगामी फागुन २० गतेदेखि सकिँदै थियो।
प्रकाशित: ५ माघ २०८२ १८:३८ सोमबार





