नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको आधारभूमि र सहयोद्धाहरूलाई भुल्न नसकेर रुकुमपूर्व आएको बताएका छन्।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवार मनोनयन दर्ता गराउन रुकुमपूर्व पुगेका प्रचण्डले जनयुद्धको सहयोद्धा र जनयुद्धको आधारभूमिलाई सम्झेर यहीँ आएको प्रतिक्रिया दिएका हुन्।
उनले भने, ‘जनयुद्धको आधारभूमि र सहयोद्धालाई भुल्न नसकेर म यहाँ आएको हुँ। म एक्लै आएको होइन, यहाँका विपक्षी दलहरूले समेत विकासका लागि मलाई रुकुमपूर्व आउन अनुरोध गर्नुभयो।’
रुकुम ओर्लिएलगत्तै प्रचण्डले आफू बसेको ऐतिहासिक घर र २०६२ सालको चर्चित ‘चुन्वाङ बैठक’लाई सम्झिए। उनले शान्ति प्रक्रियाको महत्वपूर्ण निर्णय भएको सोही केन्द्रबाट चुनाव जितेर रुकुमपूर्वको समग्र विकास निर्माणलाई गति दिने दाबी पनि गरे।
उनले जिल्लाका शीर्ष नेता तथा कार्यकर्तासँग राजनीतिक छलफल र परामर्श तीव्र पारेका छन्।
प्रकाशित: ५ माघ २०८२ १८:२१ सोमबार





