दीपक कराते सिक्न गाउँकै दाजु मीनकृष्ण महर्जनको सम्पर्कमा पुगे। ललितपुर चापागाउँका दीपक स्कुलदेखि नै खेलकुदमा सक्रिय हुन्थे। स्कुल पढदा उनी फुटबल टिमको कप्तान थिए। तर, फुटबल छाड्नुपर्योै। १२ वर्ष छँदा दैनिक १४ किलोमिटर साइकल कुदाएरै उनी प्रशिक्षण लिन राजदल पुग्थे। धपडीका कारणले उनलाई ‘टाइफाइड' भयो। घरपरिवारले खेलकै कारण बिरामी परेको बुझे। खेल छोड्न उनलाई दबाव दिइयो। दीपकले परिवारको कुरा माने। फुटबल छाडे।
फुटबलबाट टाढिए पनि उनमा खेलकुद छोड्न नसक्ने एडिक्सन विकास भइसकेको थियो। सुरुमा रमाइलोकै लागि करातेमा लागे। यद्यपि अरुको तुलनामा राम्रो खेल्थे। २०४९ सालमा महर्जन गुरुले प्रशिक्षणका लागि रंगशाला पठाएपछि दीपकको खेल करियरले वास्तविक मोड लियो। २०५० सालमा बनेपामा भएको मध्यमाञ्चल क्षेत्रीय प्रतियोगितामा भाग लिए। उनले पहिलो खेल हारे। ‘गेम हारे पनि त्यहाँको माहोल देखेर उत्साहित भएँ,' उनी सम्झन्छन्। लगत्तै पश्चिमाञ्चलस्तरीय तेस्रो च्याम्पियनसिप खेल्न दमौली पुगे। पहिलो पटक स्वर्ण पदक जिते। त्यसपछि राष्ट्रिय प्रतियोगितामा छानिएका उनको कराते यात्रा रफ्तारमा अगाडि बढ्यो।
राष्ट्रिय टिममा परेपछि अकबर शाह र हीरासिंह डंगोलबाट प्रशिक्षण लिन थाले। २०५३ सालमा जनकपुरमा सम्पन्न आठौं अधिराज्यव्यापी करातेबाट स्वर्ण पदक जिते। त्यही सालमा दिल्ली आमन्त्रण दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण पदक जितेका उनले दार्जिलिङमा सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण पदकका साथै उत्कृष्ट खेलाडीको उपाधि हात पारे।
२०५५ सालमा नेपालगन्जमा सम्पन चौथो वृहत राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जिते। ११ वर्षसम्म ६० केजी तौल समुहमा दीपकलाई टक्कर दिने कोही भएन।
सन् १९९८ बैंककमा भएको १३औं एसियाली खेलकुदको छनोटमा सम्मरबहादुर गोलेसँग पराजित हुनुलाई उनी करियरकै दुखःद क्षण मान्छन्। मकाउमा भएको तेस्रो एसियाली कराते च्याम्पियनसिपमा उनी सेमिफाइनलमा पुगेका थिए। तुरुन्तै सन् १९९९ को आठौं दक्षिण एसियाली खेलकुदको छनोटमा सम्मरबहादुरसँगै फाइनलमा परेका उनी एसियाली छनोटको बदला लिँदै छनोट भए। साफको त्यो संस्करणमा दीपकले स्वर्ण पदक जितेका थिए।
अघिल्लो संस्करणमा १४ स्वर्ण जितेको नेपाली कराँते सन् २००४ मा पाकिस्तानमा भएको नवौं साफमा लर्खरायो। इस्लामाबादमा नेपालका लागि करातेबाट स्वर्ण जित्ने उनीमात्र एक खेलाडी थिए। त्यही वर्ष मेक्सिकोमा १७ औं विश्व कराँते च्याम्पियनसिप क्वाटर फाइनल पुगे।
सन् २००५ मा अमेरिकामा ओजावा कप इन्टनरनेशनल कराते प्रतियोगितामा १०७ देशको सहभागिता थियो। उनले स्वर्ण पदक लिएर आए। सन् २००६ मा श्रीलंकामा रेफ्रीको विवादले प्रतियोगिताबाट बाहिरिनु पर्दा उनी सागमा स्वर्णको ह्याटि्रक गर्ने अवसरबाट चुके। श्रेष्ठ भन्छन्, ‘आयोजक देशसँग परेको थिएँ। नियोजित तरिकाले हराइयो।'
त्यसबेला श्रेष्ठलाई एशियन कराँते महासंघले कार्वाही गरेको हल्ला देशभित्रै चलाइयो। बिना आधार कार्वाहीको हल्लाले उनमा निरासा, खेल करियर सकिएजस्तै बनेको क्षण अझै बिर्सेका छैनन्। तुरुन्तै १५ औं एशियाटमा छनोट भए।
दुइ दशक अघिसम्म खेल्न पाए मात्र पुग्थ्यो। अहिले खेल व्यावसाय बन्दै गएकोमा उनी गर्व गर्छन्। थप्छन्, ‘पहिले रमाइलोको लागि खेलियो। खेल्दै जाँदा नाम, दाम कमाइयो।'
करातेमा नेपालको खस्कँदो प्रदर्शनबाट दिक्क भएका उनले चार वर्ष अघि खेल जीवनबाट सन्यास लिएका थिए। दक्षिण एसियाका दोहोरो स्वर्णधारी दीपकको वैठकमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा जीतेका १९ स्वर्ण पदक सजिएका छन्। हाल उनी नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको महासचिव, कराँते महासंघका सदस्य तथा राष्ट्रिय टिमका प्रशिक्षक हुन्। कराँते महासंघभित्रको विवाद मिलाउन सके यो खेल धेरै माथि लैजान सकिने उनको तर्क छ।
प्रकाशित: १४ चैत्र २०७० २३:३७ शुक्रबार





