६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

सेतो छडीको कथानक

सामाजिक कथानक पछ्याउने आख्यानकार मनिषा गौचन पहिलो उपन्यास ‘वल्लीको डायरी' पछि ‘ह्वाइट केन' लिएर आएकी छन्। पहिलो उपन्यासमा पुरुष वेश्यावृत्तिको कथा कहेकी उनीसँग यसपटक ह्वाइट केन अर्थात् सेतो छडी समाउने दृष्टिविहीन पात्र छन्। नलेखिएका/कम लेखिएका या ‘जिरो ग्राउन्ड'मा आफ्नो आख्यान स्पेस बनाउने लेखन–रणनीतिमा उनी छिन् भन्ने यी दुई उपन्यास पढ्दा स्पष्ट हुन्छ।
साहित्यमा दृष्टिविहीनलाई चित्रण गर्ने परम्परामा तुष छ। ‘अन्धाले हात्ती छामेको' कथा होस् या ग्रिक मिथमा इडिपसले आँखा फुटाएको विम्ब। आफूले मात्र के के न देखें हुँ ठान्ने समाजले आफूभित्रै रहेका दृष्टिगुमलाई सही नदेख्नु पनि दृष्टिगुम नै हो। दृष्टिगुमलाई नायक बनाउने क्रममा लेखकहरु स्वयं ‘अन्धाले हात्ती छामेको' कथाकै सारमा पुगे। दृष्टिविहीनता के हो? दृष्टि के हो? दृष्टिविहीन हुनु भनेको मानवीय जुनीबाट अर्कैमा रुपान्तरण हुनु हो? दृष्टिविहीनतालाई हेर्ने परम्परागत मान्यता हुन् पूर्वजन्मको फल, सौभाग्यको कुरा, महान् ट्य्राजेडी, हँसिमजाकका पात्र। आँखालाई फगत् यौनविम्ब या यस्तै विम्बका रुपमा मात्र लिने चलन पनि छ। दृष्टिविहीनता मानवजत्तिकै पुरानो छ दृष्टिविहीनतालाई बुझ्ने धारणामा व्यापक फेरबदल आइरहेको छ। चेतना, चरित्र र व्यक्तित्वको दृष्टिले आम मानिससरह दृष्टिविहीनको सामाजिक दायित्व, आत्मसम्मान, स्थान र महत्व हुन्छ। मनिषाको ‘ह्वाइट केन' दृष्टिविहीनलाई हेर्ने नेपाली समाजको पछिल्लो आँखा हो। 
उपन्यासको नायक जन्मजात दृष्टिगुम। उसको पूर्व कथा हो, नाजायज सम्बन्ध राखेकी आमाले जन्माएर सिस्नुको झ्याङमा फाली। सिस्नु अर्थात् विसंगत विम्ब। महासिस्नुको झ्याङ हो काठमाडौं। उपन्यास बढी त काठमाडौंमै गुज्रन्छ। उसको बाल्यकाल कालीगण्डकी सेरोफेरोमा एक परिवारमा अपहेलनापूर्वक बित्छ। उसले काली गण्डकीको सुसाई र शिवेश्वर मन्दिरमा बज्ने घण्टाहरुलाई सुन्छ। सात–आठ वर्षको हुँदा मार्जरी नामकी एक परोपकारी गोरेनीले उद्दार गरेर पोखरा पुर्याईउँछ। उसले मार्जरीबाटै मानवीय प्रेमको पहिलो स्पर्श अनुभूत गर्छ र सुमिता मिसबाट नाम समेत पाउँछ– भास्वत् अर्थात् उज्यालो तर एक विपर्यास। उही दृष्टिविहीन भास्वत्को कथा छ उपन्यासमा। उसो हो भन्ने प्रश्न जन्मन सक्छ कसरी दृष्टिविहीनले घटनाहरू देख्यो? उपन्यासको प्रमुख कथावाचक पनि भास्वत् नै हो। 
भास्वत् उच्चशिक्षाको क्रममा काठमाडौं आएपछिको कथा हो ह्वाइट केन। के दृष्टिविहीनले प्रेम गर्न सक्छ? यो एउटा दुष्ट प्रश्न पनि छ। प्रेम अनुभूतिसँग गाँसिन्छ। भास्वत् सहपाठी सुलभासँग गहिरो प्रेममा पर्छ। सुलभाको आवाज, स्पर्श, उसको बारे अरु साथीले गर्ने वर्णन र स्वयं सुलभाको व्यवहार मात्र होइन जैविक रुपमा पनि भास्वत् एक प्रेमीको खोजीमा पुग्छ। यही क्रममा उसले विभिन्न सामाजिक, राजनीतिक र प्राकृतिक परिस्थितिहरुसँग रोमान्चाकारी साक्षात्कार गर्छ। उसको जीवनमा थुप्रै साथीहरु ह्वाइट केनका रुपमा आउँछन्। उनीहरु सामाजिक बहिष्करण, व्यवसायिक संकट, विसंगत वर्तमानदेखि माओवादी द्वन्द्वले ग्रसित प्रतिनिधिपात्रहरु छन्।
सुलभा दृश्य फोबियाले ग्रस्त छे। समाजको खोक्रोपनले विद्रोही भएकी छे। ऊ लेखिका हुन्। लेखेर समाजलाई परिवर्तनको दिशामा लैजान खोज्छे। उपन्यास लेख्छिन्, प्रकाशित गर्छिन् र असहाय बालबालिकाको लागि डोनेसन गर्छिन्। तर सुन्तुष्ट छैन। एकदम दुःखी छे। ‘तातो' सम्बन्धको अनुरागी भास्वत् स्पर्श, गन्ध र ध्वनिबाट प्रेम अनुभूत गर्छ। सुलभाबाट प्राप्त गर्न खोजेको प्रेम असम्भव हुन्छ। बरु कामको सिलसिलामा नेपालगन्ज पुग्दा दियाबाट प्रेम र यौनको भौतिक सुख प्राप्त गर्छ। संसारिक दुःखको चरम गहिराइमा भासिएकी सुलभाले भास्वतसँगको प्रेम अन्त्य गर्छे। उपन्यास लेखनको क्रममा कथित व्यापारीबाट मारिन्छे। दियाबाट एक छोरीको जन्म पनि भइसकेको हुन्छ। अन्ततः दियाले भास्वत्लाई अपनाउँछ। भास्वत्को ह्वाइट केन छोरी भाषा बन्न पुग्छे र उपन्यास टुङि्गन्छ। 
उपन्यासका चरित्रहरु स्वभाविक छन्। उनीहरु परम्परित समाज र वर्तमान राजनीतिक व्यवस्थाका उपज हुन्। नायक भास्वत् शारिरीक रुपले तन्दुरुस्त एक शिक्षित पुरुष हो। दृष्टिविहीन हुनुमा उसलाई कुनै हीनताबोध छैन। ऊ पीडित छ त खालि सुलभासँगको प्रेममा। ऊ दृष्टिवालभन्दा कुनै कुरामा कम छैन। जन्मजात दृष्टिविहीनले स्वप्न देख्दैन, देखेपनि ध्वनि र अमूर्त स्पर्शलाई मात्र देख्छ भनिन्छ। तर, भास्वत् स्वप्न देख्न सक्षम छ, रंगीन स्वप्न। अर्थात् कल्पनाशील भास्वत्ले स्वप्न दृष्टिवालहरुको पेवा होइन भनेर चुनौती दिन्छ। उपन्यासको सबैभन्दा शक्तिशाली विषय पनि यही छ। 
बाँकी पात्र सुलभा, सीमा, दिया, बामोली, रुपिम, सौरभ सिजोफ्रेनियाग्रस्त समाज राजनीतिले जन्माएका पात्र हुन्। सुलभा मसानघाटमा कि गरिबको मृत्यु र मलामी गनिरहेकी हुन्छिन् कि आलिसान महलभित्र नारकीय जीवन विताइरहेका महिलाका कथालाई उपन्यास बनाउन कुदिरहेकी छिन्। भास्वत्प्रति सुलभाले प्रेम गरेकी हुन् या उच्चस्तरको सहानुभूति मात्र दर्शाएकी हुन्? भास्वत् प्रेम भनेर दाबी गर्छ। भास्वत्को त्यो दाबी आत्मविश्वासको फलमात्र हो। कि बारबार सुलभा सम्झाउँछे, भास्वत् तिमी सक्षम छौ। नडराऊ। तिमी भित्री आँखाले संसार देख्न सक्छौ। एकातिर भास्वत्को एकतर्फी प्रेम अर्कोतिर दुःखको कोलाहलमा तैरिरहेको समाज। भावुक सुलभाले आफूभित्रको प्रेम शक्ति नै गुमाउँछे।
जुनो अस्तित्वको लागि लडिरहेकी समलिंगी पात्र हुन्। धनाढ्य बुबाआमाबाट विद्रोह गरेर माओवादी द्वन्द्वले विस्थापित सीमासँग जोडी बाँध्छे र स्वतन्त्रताको अनुभूति गर्छे। जुनो र भास्वत्बीचको सम्बन्ध रोचक छ। जुनोको अवचेतन रुपमा सुलभासँगको मनोवैज्ञानिक सम्मोहन भास्वत्उपर प्रकट हुन्छ भने भास्वत्ले पनि सुलभाको स्पर्श र घ्राणको अनुभूति जुनोसँग असफल शारिरीक सम्बन्धको राख्न खोजेबाट स्पष्ट हुन्छ। दोहोरो द्वन्द्वमा बुबा, दाजु र प्रेमी शेखर गुमाएकी सिमा विरामी आमा पाल्न क्याबिन गर्ल बन्न बाध्य छे। सीमाले राज्यद्वारा बेपत्ता प्रेमी शेखरको स्वरुप भास्वत्मा पाउँछे र सम्बन्ध बढाएकी छे। सीमा पुरुषवादी समाजअघि जुनोसँग जोडी बाँध्नुका कारणबारे एकठाउँमा भन्छिन्, ‘पुरुषको स्पर्शले म थाकिसकेको छु।' 
घटना वर्णनमा डायरी, संवाद, कुराकानी, स्पर्श, ध्वनि, स्वाद आदिलाई माध्यम बनाइएको छ। भाषा सरल र मीठो छ। पात्रहरुले बोल्ने संवाद निक्कै औपचारिक छ। ह्वाइट केनलाई सहारा, यौन, स्वतन्त्रता आदि बहुविम्बका रुपमा प्रयोग गरिएको छ। भास्वत्सँग भिन्न भिन्न समयमा भिन्न भिन्न नारी पात्रहरु आइलाग्छन्। एउटा दृष्टिविहीन र ह्वाइटकेन जति परिपुरक हुन्, नारी र पुरुष पनि एकअर्कामा त्यस्तै हुन्। ह्वाइट केनलाई बहुल अर्थमा पढ्न सकिन्छ। 
ह्वाइट केन

प्रकाशित: १ चैत्र २०७० ००:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App