सभासद् भइसकेपछि उनले पछाडि फर्कनु परेन। ‘शून्यबाट सुरु भएको मेरो यात्रा सभासदसम्म पुग्यो,' उनी भन्छिन्, ‘सभासद भइसकेपछि पनि कमलरी मुक्ति अभियानलाई अगाडि बढाइरहेँ।' आफ्नै पहलबाट पहिलोपटक कमलरीका लागि १२ करोड बजेट छुट्याउन सफल भएको उनी सुनाउँछिन्।
व्यवस्थापिका संसदमा प्राकृतिक स्रोत साधन समितिको सभापतिसमेत भएकी उनी प्राकृतिक स्रोतमाथि भूमिहीनको अधिकार स्थापित गराउन दिनरात खटिइन्। सांसद र सभासद्को अर्थसमेत नबुझेकी निरक्षर चौधरीलाई ‘शान्ता' लेख्नमात्र पनि पाँच मिनेट लाग्थ्यो रे! ‘हिम्मत नहारी अगाडि बढेँ,' उनी खुसी हुँदै भन्छिन्, ‘नपढे पनि जीवनमा आइलागेका कष्ट र पीडाले धेरै शिक्षा दियो।'
दोस्रो संविधानसभा निर्वाचनमा पराजित भए पनि हरेस नखाएको उनी बताउँछिन्। ‘मेरो अभियान पराजित भएको छैन,' उनले भनिन्, ‘कमलरी मुक्तिका लागि सधैं लडिरहने छु।'
प्रकाशित: २४ फाल्गुन २०७० ०३:०४ शनिबार





