८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

सरल, तर प्रखर

यदुनाथ खनाल तीन क्षेत्रमा प्रखर देखिए– शिक्षा, साहित्य र कूटनीति। खनाललाई नजिकबाट बुझेकाहरू उनको विद्वताबाट जति प्रभावित छन्, सरल जीवशैलीले उत्तिकै चकित। पद र प्रतिष्ठामा घमण्ड नगर्ने व्यक्तिको छविलाई कहिल्यै धमिलो हुन दिएनन् यदुनाथले।



परराष्ट्रविद भेषबहादुर थापाको मूल्यांकनमा खनाल 'सेल्फ मेड म्यान' हुन्, जो कसैका कृपा र उपकारले हैन, आफ्नै मेहनत र सामर्थ्यले अघि बढे। विसं २०१७ सालमा खनालसँगै सचिव हुँदा प्रोफेसरका रूपमा उनको चुलिएको ख्यातिका साक्षी थिए थापा।
प्रोफेसर यदुनाथ कति मेहनत गरेर पढ्छन् भन्ने चर्चा भेषबहादुरले धेरै सुने। त्यतिबेला काठमाडौंका सर्वसाधारणलाई बिजुली–बत्ती सहज थिएन। तनहुँबाट पढ्न आएका यदुनाथका लागि त झनै असहज हुने भयो। 'उहाँले भने अध्ययनको सवालमा कठिनाइसँग सम्झौता गर्नुभएन। सडकबत्तीको प्रकाशमा उहाँले धेरै किताब छिचोल्नुभयो,' अध्ययनको भोक मार्न पृष्ठभूमिलाई दोष दिएर उनी पछि नहटेको थापा बताउँछन्। 
जुन किसिमको आर्थिक पृष्ठभूमिबाट खनाल माथि उठे, भेषबहादुरको भाषामा त्यो दुनियालाई चकित तुल्याउने खालको थियो। 'उहाँ उच्च तहको बौद्धिक एवं व्यवहार र आचरणमा सरलता भएको मानिस हुनुहुन्थ्यो,' थापा खनालको व्यक्तित्वलाई थप प्रकाश पार्छन्।
...
'यदुनाथ खनाल : जीवनी र विचार' पुस्तकमा लेखक जयराज आचार्यले उल्लेख गरेअनुसार उनी ११ वर्षको उमेरमा तनहुँको मानुङबाट सात दिन हिँडेर शिक्षा आर्जन गर्न काठमाडौं पसे। सुरुमा संस्कृत पढे। चार कक्षा पास गरेर सरकारी कारिन्दा हुने बाटोमा लागेका थिए, त्यो छाडी अंग्रेजीको पढाइ सुरु गरेर देशको इतिहासमा महŒवपूर्ण भूमिका खेल्ने बाटोमा लागे। 
विसं १९८८ मा दरबार हाईस्कुलमा आठ कक्षामा भर्ना भएका यदुनाथ १९९१ सालको एसएलसीका बोर्ड फस्ट हुन्। त्यसबेला पटना विश्वविद्यालयले लिने आइएस्सी परीक्षा उनले दोस्रो श्रेणीमा पास गरे। उनी डाक्टर बन्न चाहन्थे। तर, मृगेन्द्रशमशेरले तृतीय श्रेणीमा पास भएका महेन्द्रप्रसादलाई त्यो अवसर दिए, जो नेपालको पहिलो बाल विशेषज्ञ डाक्टर भए। यदुनाथलाई मृगेन्द्रले सिफरिसपत्रसमेत लेखिदिएनन्। 
त्यसपछि उनी विज्ञानको बाटोमा लम्किए। कलकत्ताबाट बिएस्सी र अंग्रेजीमा एमए गरे। 
पहिला संस्कृत, त्यसपछि अंग्रेजी, डाक्टर बन्ने अवसर नपाएपछि विज्ञान र सजिलो गुजाराका लागि फेरि अंग्रेजीमा एमए गरे। डाक्टर पढ्न नपाएको तोडले उनलाई निबन्धकारसमेत बनायो। उनले 'शारदा' पत्रिकामा निबन्ध लेखे – 'बाटो बिलायो'।
त्यतिबेला बाटो बिलाएको अनुभूतिलाई खनालले पछि सच्याएका छन्। बाटो बिलाएको हैन फराकिलो भएको रहेछ भन्ने अनुभूति गरेका छन्। 'डाक्टर बन्न पाएको भए सेवाको क्षेत्र सानो हुन्थ्यो। कूटनीति र प्रशासनजस्तो ठूलो क्षेत्रमा काम गर्नु रहेछ, त्यही भएर डाक्टर बन्ने मेसो नमिलेको रहेछ,' बेलाबखत बाबुले आफ्नो 'करिअर' चर्चा गर्दा यसो भन्ने गरेको छोरा उदयराज खनाल सम्झन्छन्।
अंग्रेजीमा एमए गरेपछि १९९९ सालमा उनी त्रिचन्द्र कलेजमा प्रोफेसर भए। यो उपलब्धिलाई आश्चर्य र गौरवको विषय मानेका छन् जयराजले। 'खनाललाई पढेको फाप्दैन' भन्ने अन्धविश्वास उनको पिता नरनाथले तोडे। यदुनाथले बाबु र दाजु हरिनाथले जस्तो संस्कृतमात्र पढेनन्, अंग्रेजी समेत पढे र प्राफेसर भए। 
'निरक्षरहरूको पहाडी गाउँ मानुङदेखि एक हप्ताको पैदल बाटो हिँडेर काठमाडौं आउनु र संस्कृत पढ्नु, संस्कृत पढ्न छाडेर अंग्रेजी पढ्नु, अझ कलकत्ता पुगेर विज्ञान र अंग्रेजी साहित्य पढी फर्कनु र प्रोफेसर हुनु – यी यदुनाथले आफ्नो जीवनमा मारेका धेरै लामालामा छलाङ हुन्,' जयराजले लेखेका छन्।
त्रिचन्द्रमै पढाउँदा उनले 'समालोचनाको सिद्धान्त' लेखे। यही पुस्तकले खनालको साहित्यिक व्यक्तित्व प्रकाशमा ल्यायो। 
'कविलाई नबुझिने हुनु कति हक छ?' 
उतिबेलै उनले उक्त पुस्तकमार्फत प्रश्न उठाए। 
'आफ्नो अनुभव आफैंले मात्र बुझ्ने गरी कविता रचेर क्लिष्ट हुन कविको हक छैन। आफ्नो अनुभव पाठकमा सञ्चार नगरी कवि भइँदैन' भन्दै उनले कविताका पाठकको स्तरमाथि पनि टिप्पणी गरेका छन्। 'कविता बु‰ने कोसिसै नगरी दैनिक अखबारको जस्तो एकपल्ट सर्र पढ्दा बुझिएन भनी कोलाहल गर्ने जत्तिको पाठकलाई हक छैन र उचित चेष्टा गरी बुझ्न खोज्ने पाठकहरूले समेत नबुझ्नेगरी कविता लेख्ने कविको हक छैन।'
त्रिचन्द्र कलेजमा पढाउँदा–पढाउँदै यदुनाथलाई बेलायत गई स्नातकोत्तर डिप्लोमा पढ्ने अवसर प्राप्त भयो। २००९ सालमा एक वर्षका लागि बेलायत गई उनले लन्डन विश्वविद्यालयमा 'बेलायती शैक्षिक चिन्तन र व्यवहार' विषयमा स्नातकोत्तर गरे। 
प्रधानमन्त्री टंकप्रसाद आचार्यले गृहसचिव बनाएपछि उनी शिक्षाबाट प्रशासन क्षेत्रमा मोडिए। संयुक्त राष्ट्र संघको सभामा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालासँग सहभागी हुन गए। त्यहाँ बिपीले बोल्ने भाषण तयार पार्ने दायित्व उठाए। राजा महेन्द्रले शासन आफ्नो हातमा लिएपछि खनाल परराष्ट्र सचिव भए। 
वीरेन्द्र राजा भएपछि यदुनाथलाई परराष्ट्र मन्त्री बनाउन खोजे। तर, खनाललाई फकाउन राजाका दूतहरूले सकेनन्। यो जिम्मा आइलाग्यो एकताक सँगै सचिव भएका भेषबहादुरको काँधमा। उनी खनालको घर कालधारा गए। बुइगलको भान्छामा खाना खान बसेका खनालले अड्कल लगाइहाले। 
'तपाईं किन आएको भन्ने कुरा मैले थाहा पाइसकेँ। यो राजासँग मेरो कुरा मिल्दैन,' यदुनाथले यसो भनेर परराष्ट्रमन्त्री पद अस्वीकार गरेको भेषबहादुरले भुलेका छैनन्। मन्त्रीलाई चलाउने खास मान्छे दरबारमा अरू नै भएको प्रस्ट भेउ थियो यदुनाथलाई। मन्त्री हुन नमानेका खनाल लोकसेवा आयोगको अध्यक्ष हुन भने सजिलै तयार भए भन्छन् थापा। 'मन्त्रीलाई दबाब आउँछ, मबाट त्यो हुन सक्दैन' भन्दै खनाल टक्टकिने गरेको थापालाई थाहा छ। 
...
यदुनाथका छोरा उदयराज त्रिभुवन विश्वविद्यालयमा भौतिकशास्त्रका प्राध्यापक हुन्। बाबुछोराले अपनाएको पेसामा ठूलो अन्तर छ। तर, दुवैको भविष्य उज्ज्वल बनाउने एउटै तत्व छ, बिजुलीबत्ती। 
यदुनाथले विद्यार्थी छँदा सडकबत्तीको प्रकाशमा पढे। उदयराजको पढ्ने उमेर सुरु हुँदा–नहुँदै घरमा बिजुलीबत्ती जडान भयो। स्विच थिच्दा झलल्ल बल्ने बत्ती देखेर उदय अचम्ममा परे। 'कसरी यस्तो हुन्छ?' उनले बाबुलाई प्रश्न गरिरहे। अलिक बु‰ने भएपछि उनले फेरि सोधे, 'बिजुली बत्तीसम्बन्धी शिक्षा कुन विषयमा मिल्छ?'
'भौतिकशास्त्र।'
यो जानकारी पाएपछि यो कस्तो शास्त्र हो भन्ने नबुझ्दै उदयले संकल्प गरे, 'त्यसो भए भौतिकशास्त्र पढ्छु।' 
'वास्तवमा अक्षर नचिन्दै मेरो सम्बन्ध विज्ञानसँग गाँसियो,' भौतिकशास्त्रका नामी प्रोफेसर उदय भन्छन्।
बाबुको जागिरजस्तै उदयको पढाइ पनि विभिन्न देशमा भयो। दुई कक्षासम्म काठमाडौंको सेन्ट जेभियर्स, आठसम्म दिल्ली, सेन्ट जेभियर्सबाटै सिनियर क्याम्ब्रिज, अमेरिकामा बिएस्सी, दिल्लीमै एमएस्सी र पिएचडी। 
उदयलाई यही पढ भनेर यदुनाथले कहिल्यै दबाब दिएनन्। अरू धेरै कुरामा उनी छोरालाई बन्धन लगाउँदैनथे। 
अमेरिकामा राजदूत भएर आएका बेला भने सुट लगाउन र कपाल काट्न अह्राएकोसम्म उदयलाई थाहा छ। 'राष्ट्रपति रिचर्ड निक्सनकहाँ जाने कार्यक्रम थियो। अमेरिकामा चार वर्ष एक्लै बस्दा कपाल पाल्न सिकेँ, सुट त लाउनै मन नलाग्ने। बुवाको अनुरोध नमान्न पनि मिलेन, मैले पनि एउटा सर्त राखेँ– कि सुट लगाउँछु कि कपाल काट्छु,' उदय भन्छन्, 'बल्ल कपाल नकाटे पनि हुन्छ सुट लगा भन्नुभयो।'
अमेरिकामा राष्ट्रपति निक्सनको राम्रो प्रभाव थिएन। युवाहरू त झन् उनीदेखि रुष्ट थिए। 'मैले निक्सनसँग हात मिलाएर आएको थाहा पाएपछि कति साथीले मसँग हात मिलाउन छाडे,' उनी अमेरिकामा बिताएको विद्यार्थी जीवनको चर्चा गर्छन्।
यदुनाथको एउटै अम्मल पुस्तकमा थियो भन्छन् उदय। जीवनको अन्तिम घडीसम्म उनले बाबुलाई पुस्तकसँग देखे। अन्तर्राष्ट्रिय स्तमा चर्चित किताब प्रकाशन भएको थाहा मात्र हुनुपर्थ्यो उनी अमेरिका बस्ने भतिजालाई पठाउन लगाइहाल्थे।
आँखाको ज्योति घट्दै गयो, तर उनको पढ्ने लत घटेन। चस्माको पावर थपे, त्यसले पनि पुगेन। अनि उनी 'म्याग्निफाइङ' ग्लासको सहायतामा पुस्तकमा घोरिन थाले। 
धेरैपटक उदयले बाबुलाई आत्मकथा लेख्न घचघच्याए। तर, यदुनाथले पटक्कै ध्यान दिएनन्। 'त्यसो भए विदेशीसँग कसरी डिल गर्ने भनेर लेख्नुस् न' भन्दा 'मेरो व्यक्तिगत जीवनका बारेमा कसलाई जान्ने इच्छा हुन्छ र' भन्दै टारे। 'कसैलाई आफ्नो विचारधारा पढ्न मन भए केही पुस्तक बजारमा पाइन्छ' भन्दै उनी उम्किरहे। 
व्यवस्थासँगै विचार फेर्नेको भीडमा आफ्नो बाबुलाई अपवाद मान्छन् उदय। 'महेन्द्रको अन्डरमा धेरै काम गरेको मान्छे। धेरैजनाले व्यवस्थासँगै बोली फेरे। उहाँले जहिले पनि आफ्नो विचार त्यही हो भनिरहनुभयो,' उदय भन्छन्। 
अरू मन्त्रालयका सचिव गाडी चढ्थे। तलबसुविधा पनि धेरै पाउँथे। तर, आफ्नो पिताले ती चिजलाई कहिल्यै प्राथमिकता नराखेको उदय तर्क गर्छन्।
'बेलायती महारानी एलिजाबेथ आउने भएपछि परराष्ट्र सचिवको काम धेरै पर्ने ठानेर होला बल्ल गाडी दिए,' सुविधाको गाडी चढ्दा यदुनाथले कस्तो महसुस गरे उदयलाई थाहा छैन। उनी भने औधी खुसी भए। 
'गाडी पाएपछि पनि बाले घुमाउन लैजानुभएन। त्यही भएर उहाँ फर्कने बेला म साथीहरू बटुलेर सञ्चयकोष भवन अगाडि कुरेर बस्थेँ। देखेपछि कराउँदै रोक्थ्यौं र घरसम्म चढेर आउँथ्यौं,' उनी भन्छन्। 
वेद, उपनिषद, मानव इतिहास र दर्शनशास्त्रमा दख्खल राख्थे यदुनाथ। 'खान नपाए पनि मान्छेले स्वतन्त्रता खोज्छ,' बाबुले आफूसँग बारम्बार यसो भनेको उदयलाई हेक्का छ। 
'उहाँको त्यो विचार बुझेकैले होला २०४६ सालको परिवर्तनपछि कृष्णप्रसाद भट्टराईले घरमै आएर सहयोग माग्नुभयो,' उनी भन्छन्, 'सुरुमा त नयाँ युगमा मेरो पुराना कुरा के काम लाग्ला र भन्दै पन्छनुभयो। पछि उहाँहरूले ढिपी नछोडेपछि सल्लाहकार बस्न मान्नुभयो।'
यदुनाथले अवकाश लिइसकेपछि पनि विभिन्न देशका राजदूत उनलाई घरमै भेट्न आउँथे। उनीसँग विभिन्न विषयमा परामर्श लिन्थे। अहिले बानेश्वर हाइटको त्यो घर सुनसान छ। उदयका छोरा अमेरिकामा पिएचडी गर्दैछन्। अधिकांश समय प्रयोगशालामा बिताउने उदयलाई कूटनीतिले तानेन। यत्ति हो, बाबुको कूटनीतिक यात्रा झल्काउने केही वस्तु सुरक्षित राखिदिएका छन्। 
यदुनाथले आफ्ना धेरै 'डकुमेन्ट' जयराज आचार्यलाई दिए। उदय पनि घरमा केही फेला परे उनैलाई बुझाउँछन्। 'जसले जे जानेको छ, जसलाई जेमा रुचि छ त्यो चिज उसैलाई दिए सार्थक हुन्छ,' उदय भन्छन्, 'बुवाको दस्तावेज मकहाँ भएको भए स्याहार हुँदैनथ्यो। जयराजजी कहाँ हुँदा राम्रो भएको छ।'

प्रकाशित: १६ फाल्गुन २०७० २२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App