विराटनगर- प्रहरीले ६ भारतीय नागरिकलाई अवैध हतियारसहित पक्राउ गरेको छ। हतियारसहितको गाडी नेपाल छिरेको सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा टाटा इन्डिका गाडीमा जोगवनी नाकाबाट विराटनगर छिरेका उनीहरू पाँच थान पेस्तोल र म्यागजिनसहित रोडसेस चोकमा पक्राउ परेका हुन्।जिप्रकाले बुधबार पत्रकारसम्मेलनमा भारत, भागलपुर बरारीथानाका मुरलीधर दास, विकास पासवान, नीतेशकुमार यादव, प्रमोदकुमार ताती, फन्टुस ताती र सुबोध पासवान पक्राउ परेको जानकारी दियो। स्थानीय गजल रेस्टुराँमा रमाइलो गर्न आएको बयान उनीहरूले प्रहरीलाई दिएका छन्। ‘एउटै गाडीमा ठूलै संख्यामा हतियार बोकेर आएका उनीहरूको मनसाय के हो, अनुसन्धान गरिरहेका छौं,' मोरङ प्रहरीप्रमुख एसपी विश्वराज पोखरेलले भने।
पक्राउ परेका प्रमोद र फन्टुस भारतमै अवैध हतियार कारोबारमा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति रहेको प्रहरीले जानकारी दियो। उनीहरूका साथबाट लोड गरिएका चार थान म्यागजिन र पाँच थान पेस्तोलसहित नाइन एमएमका दुईवटा गोली बरामद भएको छ। उनीहरू भारतीय इलाकाबाट नेपालसम्म हतियार ओसारपसार गर्ने गिरोहमा संलग्न रहेको आशंका प्रहरीले गरेको छ। डिएसपी दिपक पोखरेलले उनीहरूलाई थुनाको म्याद थपी हातहतियार मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको जानकारी दिए। साना हतियार कारोबारविरुद्ध सक्रिय बनेको मोरङ प्रहरीले दुई महिनायता मात्रै एक दर्जन बढी कारोबारीलाई पक्राउ गरिसकेको छ।
प्रकाशित: १५ फाल्गुन २०७० ००:५४ बिहीबार