ग्याल्जेन मारिएको एक सातापछि उनका एक आफन्तलाई फोनमार्फत २० लाख रुपैयाँ मागिएको थियो। पैसा नदिए हत्या गर्ने धम्की आएपछि ती आफन्त प्रहरीको सम्पर्कमा पुगेका थिए। त्यसपछि ग्याल्जेनको हत्या प्रकरण अनुसन्धान गर्न सोलुखुम्बु पुगेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको संयुक्त टोली धम्क्याउने व्यक्तिको खोजी गरेको थियो।
फोनकर्ता र हत्या घटनामा संलग्नबीच सम्बन्ध हुनसक्ने आँकलन गर्दै खोजीमा खटिएको प्रहरी टोलीले ट्रेकिङ गाइड निमाडेन्डी शेर्पालाई पक्राउ गर्योन। उनको साथबाट धम्क्याउँदै २० लाख माग्न प्रयोग भएको सिमसमेत फेला परेपछि पक्राउ गरेर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार धम्क्याएको विषयसँगै ग्याल्जेनको हत्या घटनालाई समेत जोडेर अनुसन्धान अगाडि बढाउँदा निमा नै हत्याको योजनाकार रहेको खुलेको हो। त्यसपछि प्रहरीले हत्यामा उनलाई सघाउने शरणकुमार राईलाई नाम्चेबाट र अनिल राईलाई काठमाडौंको चाबहिलबाट पक्राउ गरेको छ। प्रहरीले हत्यामा प्रयोग भएको अमेरिकी पेस्तोल र कटुवा पेस्तोलसमेत फेला पारेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसएसपी पीताम्बर अधिकारीका अनुसार ट्रेकिङमा भरियाको काम गर्ने शरण र गाइड अनिललाई सहयोगीको रूपमा परिचालन गरेर निमाले ग्याल्जेनको हत्या गरेका थिए।
ब्युरोले सोमबार सार्वजनिक गरेको ग्याल्जेन हत्या अनुसन्धानको प्रारम्भिक विवरणअनुसार निमाले नै गोली हानेर ग्याल्जेनको हत्या गरेका थिए। निमा माघ १९ गते बेलुकी चौरीखर्कको फाक्दिनस्थित होटलमा सहयोगी शरणकुमार र अनिलसँग पैसा लुट्न पुगेका थिए।
लुटपाटकै क्रममा ग्याल्जेनले उनलाई चिनेपछि पोल खुल्ने डरले गोली हानेर हत्या गरेको अनुसन्धानमा खुलेको अधिकारीले जानकारी दिए।
अनुसन्धान अधिकारीका अनुसार निमा हत्या योजनासहित सोलुखुम्बु पुगेका थिएनन्। स्थानीय एक व्यक्तिसँग झगडा भएकाले बदलाका लागि अमेरिकी पेस्तोल लिएर उनी सहयोगीका साथ फाक्दिन पुगेका हुन्। तह लगाउन खोजिएको व्यक्ति नभेटिएपछि भने योजना बदलेर उनीहरूले स्थानीय होटल सञ्चालकलाई धम्क्याएर रकम असुल्ने योजना बनाए।
'उनीहरूले हतियार किनेकाले पैसा लगानी भइसकेको थियो,' एसपी अधिकारीले भने, 'हतियारमा लगानी भएको पैसा उठाउन लुटपाटको योजना बनाएको देखिन्छ।'
एसपी अधिकारीका अनुसार लुटपाटका लागि प्रारम्भमा उनीहरू सनराइज होटल पुगेका थिए। होटलको पैसा सञ्चालकले बोक्ने गरेको जानकारी पाएका उनीहरू सञ्चालक नभेटेपछि नजिकैको स्टार होटल गएका थिए। त्यहाँ सञ्चालक ग्याल्जेन शेर्पा भेटिएपछि लुट्ने योजना अनुरूप उनीहरूले अन्धाधुन्ध गोली चलाएका थिए।
प्रहरीका अनुसार सुरुमा अनिलले पेस्तोल निकालेर एक राउन्ड गोली चलाउँदा ग्याल्जेन नडराएपछि शरणले पुनः एक राउन्ड गोली चलाएका थिए। त्यही क्रममा विवाद हुँदा ग्याल्जेनले निमालाई चिने। त्यसपछि निमाले पेस्तोल निकालेर ग्याल्जेनमाथि ताकेर गोली प्रहार गरेका थिए।
ग्याल्जेनको हत्यापछि उनीहरू दुई दिनसम्म चौरीखर्कस्थित गुनेला भन्ने जंगलमा लुकेर बसेका थिए। दुई दिन जंगलमा बस्दासमेत प्रहरीले सुइँको नपाएपछि उनीहरू आ–आफ्नो ठाउँतिर हिँडेका थिए। 'निमाले अनिललाई लुकेर बस्नू भन्दै ४ हजार ५ सय दिएका थिए, त्यसपछि उनी धादिङमा गएर दिदीको घरमा बसे,' ब्युरोको विवरणमा उल्लेख छ, 'निमा पेस्तोल चौरीखर्कको केङमा जंगलस्थित झाडीमा छाडी लुक्ला फर्किएर ट्रेकिङ गाइडमा सक्रिय भए।' प्रहरीका अनुसार शरण नाम्चे फर्किएका थिए। निमाले घटनाको छैठौं दिनबाटै ग्याल्जेनका आफन्तलाई फोन गरेर पैसा माग्न थालेका थिए।
प्रकाशित: १२ फाल्गुन २०७० २२:३५ सोमबार





