प्रहरीले आइतबार जोशी, ठगुन्ना र मल्ललाई सार्वजनिक गरेको थियो। प्रहरीका अनुसार जोशी र ठगुन्नाले शुक्रबार युवती मल्ललाई ३० हजार रुपैयाँको प्रलोभन देखाई महेन्द्रनगर बजार बोलाएका थिए। त्यसपछि महेन्द्रनगर बजारकै होटलमा बसेका भारतीय नागरिक सुनेजाको कोठामा मल्ललाई चरेश राख्न पठाए। 'उनले योजनाअनुसार सुनेजाको कोठामा २ किलो चरेश राखिन्,' एसपी चौधरीले भने, 'लगत्तै सुनेजाको कोठामा चरेश फेला परेको भन्दै जोशीले खबर गरे।'
जोशी र ठगुन्नाले सुनेजाका आफन्तमार्फत १ लाख ६० हजार रुपैयाँ असुल्ने योजना बनाएको प्रहरी उपरीक्षक चौधरीले बताए। जोशी र प्रहरी जवान ठगुन्नाले चरेश कारोबारको झुठो मुद्दा बनाउन खोजेको अनुसन्धानमा खुलेको उनले बताए।
घरायसी विवादमा अल्झेका सुनेजालाई नेपालमा झुठो मुद्दामा फसाएर सम्पत्ति हडप्ने योजना आफन्तले बनाएको प्रहरीको भनाइ छ। त्यसका लागि आफन्तले प्रहरी जवान ठगुन्नालाई हात लिएको र ठगुन्नाले एक्लै काम गर्न नसक्ने भएपछि जोशीलाई १ लाख तथा युवती मल्ललाई ३० हजार रुपैयाँ दिने सर्तमा प्रयोग गरिएको प्रहरीले अनुसन्धानमा पत्ता लगाएको छ। 'जोशीले माओवादी कार्यकर्ता बोलाई सुनेजालाई होटलभित्रै कुटपिटसमेत गरेको खुलेको छ,' प्रहरी उपरीक्षक चौधरीले भने, 'सुनेजाको कोठामा दुई किलो चरेश राखेलगत्तै युवती मल्ललाई उनीहरूले भगाएका थिए।'
ठगुन्ना, जोशी र मल्ल तीनैजनाले पैसाको प्रलोभनमा सुनेजालाई फसाउन योजना बनाएको स्वीकार गरेका छन्।
यसैबीच, नेकपा–माओवादी कञ्चनपुरले पार्टीको जिल्ला सदस्य जोशीलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ। नेकपा–माओवादीका जिल्ला सचिव वीरबहादुर थापाले आइतबार विज्ञप्ति जारी गरेर जोशीलाई पार्टीबाट निकालेको जनाएका हुन्। घटनाबारे वास्तविकता पत्ता लगाउन सचिव थापाको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोलीसमेत गठन गरिएको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ११ फाल्गुन २०७० २१:०५ आइतबार





